नेपालद्वारा अफगानिस्तान पराजित

सन् २००४ यता नेपालले अफगानिस्तानलाई हराएको यो पहिलो पटक हो

तस्बिर स्रोत, bbc

तस्बिरको क्याप्शन, सन् २००४ यता नेपालले अफगानिस्तानलाई हराएको यो पहिलो पटक हो
Published

अफगानिस्तान विरुद्ध ९ रनको दुर्लभ जित हात पार्दे नेपालले पहिलो विश्वकप सहभागितालाई स्मरणीय बनाएको छ ।

बंगलादेशको चिटगोंगमा भइरहेको खेलमा समूह चरणबाट अगाडी बढ्न नसकेपनि नेपालले समूहको उपविजेता बन्दै विश्वकपमा राम्रो प्रभाव समेत छोडेको छ ।

चिटगोंग पुगेका हाम्रा खेल संवाददाताका अनुसार अन्तिम १२ बलमा अफगानिस्तानले ३० रन जोड्नु पर्ने भएपछि मैदानको दृष्य निकै तनावपूर्ण बनेको थियो ।

सफल

नेपाली टोलीका कप्तान पारस खड्का तेज बलरहरुको लागि सुहाउदो भनिएको पिचमा जितेन्द्र मुखिया र आफैले बलिंगको अभिभारा लिंदै विपक्षी ब्याट्सम्यानलाई रोक्न आएका थिए र उनीहरु यसमा सफल पनि भए ।

यति नै बेला अफगानिस्तानको ब्याट्सम्यान जितेन्द्रको बलमा पारस द्धारा क्याच आउट भए ।

खेल यतिखेर नेपालको पोल्टामा गइसकेको थियो ।

अन्तिम ओभरमा अफगानिस्तानलाई २४ रन चाहिएको थियो ।

ज्ञानेन्द्र मल्लले दुई चौका रोक्न नसकेपनि सोमपाल कामी उत्कृष्ट बल फ्याँक्दै नेपाललाई जित दिलाउन सफल भए ।

बीबीसीसँग कुरा गर्दै कप्तान पारस खड्काले बिहीबारको जित ऐतिहासिक भएको बताए।

सन् २००४ पछि नेपालले अफगानिस्तानलाई कुनै पनि शैलीको क्रिकेटमा हराउन सकेको थिएन ।

हावी

पूर्ण रुपमा अफगानिस्तान नै हावी हुंदै आएको थियो ।

दश वर्षपछि कथा बदलियो , त्यो पनि विश्वकपमा ।

अफगानिस्तानका खेलाडीहरु नेपालको तेज बलिंगको शिकार बन्न पुगेका थिए ।

चिटगोंगको जोहर अहमद चौधरी रंगशालामा तेज बलरहरु सोमपाल कामी र जितेन्द्र मुखिया तथा शक्ति गौचनले एसोसियट राष्ट्रको सबैभन्दा बलियो प्रतिद्वन्दीलाई रन लिनबाट रोकेका थिए ।

चोट बोकेका पारस आफै तेज बल फयाँक्न आएका थिए ।

१४२ रनको स्कोरलाई निकै सहज ढंगले लिएका अफगान ब्याट्सम्यानहरु शुरुमा एक रन लिन अल्छि गरिरहेका थिए ।

प्रभाव

तर त्यसपछि नै तेज बलरहरुले प्रभाव देखाउन थालेका थिए, विशेष गरी म्यान अफ द म्याच जितेन्द्र मुखियाले ।

खेल पछि अफगानिस्तानका ब्याट्सम्यान सफिक उल्लाहले हारको कारण ब्याट्सम्यानहरुको कमजोर प्रदर्शनलाई दिए ।

उनले नेपाली टोलीको प्रशंसा पनि गरे ।

यसअघि टस हारेर पहिलो ब्याटिंग पाएपछि नेपाली ब्याट्सम्यानहरु २० ओभरको खेलमा झन्डै १० ओभरमा रन बटुल्न असफल भएका थिए ।

यद्यपि प्रारम्भिक ब्याट्सम्यान सुभाष खकुरेलको अर्धशतकीय इनिंग, शरद भेषावकरको ३७ रन र उपकप्तान ज्ञानेन्द्र मल्लको २२ रनको मदतले नेपालले १४१ रनको प्रतिस्पर्धात्मक स्कोर जोडेको थियो ।

पहिलो विश्वकप सहभागितामा प्रभावकारी ढंगबाट दुई खेल जित्दै समूह उपविजेता बन्नुलाई नेपालको ठूलो उपलब्धि मानिएको छ ।

बिहिबार हुने खेलमा बंगलादेश हंगकंगसँग हारेमा नेपाल दोस्रो चरणमा पुग्न सक्छ।

रणनीति

यसअघि नेपाली प्रशिक्षक पुबुदु दसानायकले चाँही विगतको भन्दा उत्कृष्ट खेल देखाउनु नै आफ्नो टीमको लक्ष्य भएको बताएका थिए ।

हंगकंग र बंगलादेशसँगको प्रदर्शनपछि त्यो सम्भव भएको उनको भनाइ थियो ।

“हामी राम्रो खेल्नेबारे मात्र सोचिरहेका छौं, चार अंक लिएर खेल टुंग्याउने हाम्रो चाहना हो,” दसानायकले भने।

यसअघि नेपाल बाँगलादेशसंग पराजित भएको थियो।