विश्वकपको उपाधि यात्राबारे इतिहासका केही 'अपत्यारिला' तथ्यहरू

तस्बिर स्रोत, AFP via Getty Images
- Author, फर्नान्डो डुआर्टे
- Role, बीबीसी विश्व सेवा
- Published
- पढ्ने समय: ७ मिनेट
पुरुष फिफा विश्वकपका विजेताबारे भविष्यवाणी गर्ने प्रयासले विभिन्न घुम्तीहरू पार गरेको छ। हिजोआज सुपरकम्प्युटरहरू, फुटबलबारे तीक्ष्ण ज्ञान भएका खेल समर्थक र तथाकथित दिव्यद्रष्टाहरूबीच यसबारे प्रतिष्पर्धा चल्ने गर्छ।
पछिल्लो तीन प्रतियोगिताका विजेताबारे गरेका भविष्यवाणी सही भएपछि चर्चित बनेका जर्मन वित्तीय विश्लेषक होखिम क्लिमेन्टले प्रमुख टोलीहरूमध्ये प्रमुख टोलीहरूबीच धेरै विषय संयोगमा भर पर्ने बताएका छन्।
त्यो दिनको टोलीको 'फर्म', रेफ्रीको निर्णय वा बल गोल पोस्टभित्र जाने वा बारमा ठोक्किनेजस्ता परिस्थिति 'पूर्णतया भविष्यवाणी गर्न नसकिने' उनले बीबीसी स्पोर्टलाई बताए।
तर यदि इतिहासलाई हेर्ने हो भने ट्रफी हात पार्ने दाउमा रहेका टोलीहरूले केही कुरा विचार पुर्याउनुपर्ने देखिन्छ। त्यसमध्ये कतिपय छक्क पार्ने खालका पनि छन्।
विजेताहरूको सानो सङ्ख्या
फुटबलको महाकुम्भमा हालसम्म सहभागी भएका ८४ टोलीहरूमध्ये जम्मा ८ वटा देशले मात्रै उपाधि जितेका छन्। आर्जेन्टिना, ब्रजिल, इङ्ग्ल्यान्ड, फ्रान्स, जर्मनी, इटली, स्पेन र युरग्वे हालसम्मका विजेता हुन्।
अहिलेसम्म जम्मा १३ वटा देशले विश्वकपको फाइनल खेलेका छन्, जसमा केही टोलीहरू पटकपटक फाइनलमा पुगेका छन्। जर्मनी आठ पटक विश्वकप फाइनलमा पुगेको छ। ब्रजिल सात पटक अनि आर्जेन्टिना र इटली छ-छ पटक फाइनलमा पुगेका छन्।
नयाँ विश्व विजेता बनेर आउनु कठिन देखिएको छ। पछिल्लो पटक सन् २०१० मा स्पेन नयाँ विजेता बनेको थियो।
नेदरल्यान्डसले तीन पटक विश्वकपको फाइनल खेलेको छ तर कहिल्यै पनि उपाधि जितेको छैन। सन् २०२६ को विश्वकप नेदरल्यान्डसले जित्ने क्लिमेन्टले भविष्यवाणी गरेका छन्।
सन् २००२ मा एशियाबाट दक्षिण कोरिया र सन् २०२२ मा अफ्रिकाबाट मोरक्को विश्वकपको सेमिफाइनलमा पुगेका थिए।
भूगोलको महत्त्व

तस्बिर स्रोत, AFP via Getty Images
सन् २०१४ मा ल्याटिन अमेरिकी भूमिमा विश्वकप उपाधि उचाल्ने पहिलो युरोपेली टोली जर्मनी बनेको थियो।
सन् १९३० मा युरग्वेमा भएको पहिलो फिफा विश्वकपदेखि कतारमा सन् २०२२ मा सम्पन्न पछिल्लो विश्वकपसम्म आइपुग्दा आफ्नो महादेशबाहिर विश्वकप उपाधि जित्नु दुर्लभजस्तै देखिएको छ।
जम्मा २२ वटा प्रतियोगितामध्ये छ पटक यो सम्भव भएको छ। ब्रजिलले सन् १९५८, सन् १९९४ र सन् २००२, स्पेनले सन् २०१०, जर्मनीले सन् २०१४ र आर्जेन्टिनाले सन् २०२२ मा आफ्नो महादेशबाहिर उपाधि जितेका छन्।
दक्षिण अमेरिका वा युरोपको भूमिमा आयोजित विश्वकपसँग यो कीर्तिमानलाई दाँज्दा १९ वटा विश्वकपमा जम्मा दुईपटक मात्र यस्तो सम्भव भएको छ।
टोलीहरूले आफ्नै महादेशमा राम्रो खेल्नुका कारण त्यहाँको मौसमसँग उनीहरू घुलमिल हुनु, यात्राका कारण हुने थकान कम हुनु र समर्थकहरूको विशाल उपस्थिति पनि हुन सक्छ। वास्तवमा आयोजक देशहरूले छ वटा विश्वकप जितेका छन्।
भूगोलले प्रतियोगिताको प्रारम्भिक चरणमा पनि यस्तै प्रकृतिको प्रभाव पारेको देख्न सकिन्छ।
उदाहरणका लागि, सन् २०१४ मा ब्रजिलमा भएको विश्वकपको नकआउट चरणमा पुगेका १६ मध्ये सात वटा टोली ल्याटिन अमेरिकाका र छ वटा टोली युरोपका थिए। त्यो बेला अरू बेला जस्तै अन्य महादेशबाट भन्दा बढी टोलीहरू युरोपबाट विश्वकपका लागि छनौट भएका थिए।
त्यसको चार वर्षपछि रुसमा १० वटा युरोपेली टोली दोस्रो चरणमा पुगेका थिए भने ल्याटिन अमेरिकाबाट अन्तिम १६ मा जम्मा पाँच टोलीले स्थान पक्का गरेका थिए। त्यो बेला विश्वकपको सेमिफाइनमा पुग्ने चारवटै टोली युरोपकै थिए।
तर सन् २०२६ को विश्वकपमा विगतमा कहिल्यै नभएको दृश्य देखिन लाग्दै छ। पहिलो पटक विश्वकप फुटबल अमेरिका, क्यानडा र मेक्सिको तीनवटा देशले आयोजना गर्दै छन् र यसमा ४८ वटा टोलीहरू सहभागी हुन लागिरहेका छन्।
चारवटा देशहरू क्युरसाउ, केप भर्ड, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकपमा सहभागीता जनाइरहेका छन्। सम्भवतः यो प्रतियोगिताले पहिलाको प्रवृत्तिलाई तोड्ने छ।
फिफा वरीयताको 'जिङ्क्स' तोडिएला
हालैको समयमा उत्कृष्ट लयमा रहेको टोलीले विश्वकपमा पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा राख्नु औचित्यपूर्ण हुन्छ तर त्यो नै सफलताको भविष्यवाणी गर्ने पूर्ण आधार बन्न सकेको छैन्।
सन् १९९२ यता फिफा विश्व वरीयताक्रम निर्धारण गर्न थालिएको हो र प्रतियोगिताका प्रबल दाबेदारहरूलाई सुरुमा नै भिड्नबाट रोक्नेसहितका उद्देश्यसहित समूह विभाजन गर्ने गरिएको छ।
वरीयताक्रम फिफाको मान्यता प्राप्त खेल र मैत्रीपूर्ण फुटबल खेलको परिणामसहितलाई ध्यान दिएर देशको प्रदर्शनका आधारमा निर्धारण गर्ने गरिन्छ।
लगभग सधैँजसो विश्वकप विजेता वरीयतामा माथि रहेका १०-१५ वटा टोलीबाट आउने गरेका छन्। तर विश्वकपको समयमा फिफा वरीयतामा एक नम्बरमा रहेको टोलीले कहिल्यै पनि उपाधि जित्न सकेको छैन।
यसपालि ९ जुनसम्मको वरीयतामा पहिलो स्थानमा आर्जेन्टिना छ र अन्तिम वरीयताक्रम विश्वकप सुरु हुने ११ जुनमा सार्वजनिक गरिँदै छ। त्यति बेलासम्म धेरै टोलीले शृङ्खलाबद्ध रूपमा मैत्रीपूर्ण खेलहरू खेलिसकेका हुने छन्।
अघिल्लो पटकको विजेताका चुनौती

तस्बिर स्रोत, Bettmann Archive/Getty Images
कैयौँ देशहरूले एकभन्दा बढी पटक विश्वकप उपाधि जितेका छन्। ब्रजिल, जर्मनी, इटली र आर्जेन्टिनाले एकआपसमा गरेर १६ पटक उपाधि जितेका छन्। तर लगातार उपाधि जित्नु कठिन देखिएको छ।
तर विश्वकपको इतिहासमा दुईवटा टोलीले मात्रै लगातार दुईपटक उपाधि उचालेका छन्। सन् १९३४ र सन् १९३८ मा इटली अनि सन् १९५८ र सन् १९६२ मा ब्रजिलले विश्वकप जितेका थिए।
विजयपछिको नमिठो हार

तस्बिर स्रोत, AFP via Getty Images
वास्तवमा हालैका वर्षहरूमा विश्वकप फुटबल साबिकका विजेता वा 'डिफेन्डिङ च्याम्पिअन'को हकमा एक किसिमले निर्दयीजस्तो नै देखिएको छ।
सन् २००२ यता छ उपाधि विजेतामध्ये चार अर्को विश्वकपको समूह चरण पार गर्न विफल भएका थिए। त्यसको अपवाद ब्रजिल (सन् २००२ को विजेता र सन् २००६ को क्वार्टरफाइनल) अनि फ्रान्स (सन् २०१८ को विजेता र सन् २०२२ को उपविजेता) थिए।
उपाधि दिलाउन नसकेका विदेशी प्रशिक्षक

तस्बिर स्रोत, AFP via Getty Images
विश्वकपका लागि विदेशी प्रशिक्षकहरूलाई टोलीमा भित्र्याउनु नौलो अभ्यास होइन तर पछिल्लो तीन दशकमा त्यसरी बाहिरबाट ल्याइएका विज्ञहरूमा निर्भर रहने क्रम बढेको छ। सन् २०२६ को विश्वकपमा अहिलेसम्मकै सबैभन्दा धेरै विदेशी प्रशिक्षकहरू सहभागी टोलीहरूसँग जोडिएका छन्। सहभागी ४८ मध्ये २७ टोलीका प्रशिक्षक विदेशी छन्।
विश्वकपका विगतका विजेता ब्रजिल र इङ्ग्ल्यान्डका प्रशिक्षक पनि विदेशी छन्। इटलीका कार्लो एन्चेलोटीले ब्रजिलको व्यवस्थापन गरिरहेका छन् भने जर्मन कोच टमस टुचेलले इङ्ग्ल्यान्डको जिम्मा लिएका छन्।
समस्या के छ भने अहिलेसम्म विदेशी प्रशिक्षकसहितको कुनै पनि टोलीले विश्वकप जितेको छैन।
बायर्न म्यूनिख र इन्टर मिलान संयोगको रहस्य

तस्बिर स्रोत, AFP via Getty Images
यो कुरा विश्वकपको सम्भवतः अर्को अचम्म पार्ने तथ्य हो। पछिल्ला ११ वटा विश्वकपमा फाइनलमा पुग्ने कम्तीमा एउटा टोलीमा जर्मनीको बायर्न म्यूनिख वा इटलीको इन्टर मिलान वा दुवै क्लबका खेलाडीहरू छन्।
सन् १९८२ यता जम्मा दुई पटक (सन् १९८६ र सन् २०१०) मा यी दुई क्लबका कुनै पनि सदस्य नभएको टोलीले विश्वकप उपाधि जितेका छन्।
फिफाले सार्वजनिक गरेको खेलाडीको आधिकारिक सूचीअनुसार सन् २०२६ को प्रतियोगिता खेलिरहेका ४८ मध्ये १५ वटा टोलीमा बायर्न म्यूनिख वा इन्टर मिलान वा दुवै क्लबका सदस्य छन्।
यसमा प्रबल दाबेदार मानिएका जर्मनी, फ्रान्स, इङ्ग्ल्यान्ड र पछिल्लो पटकको विजेता आर्जेन्टिना पर्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















