मेस्सीभन्दा उत्कृष्ट? लमिन यमालका लागि अबको बाटो

लमिन यमाल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, लमिन यमालले सन् २०२४ को युरो उपाधि स्पेनलाई जिताएका थिए
    • Author, गिजिअम बलागे
    • Role, बीबीसी स्पोर्ट स्तम्भकार
  • Published
  • पढ्ने समय: ५ मिनेट

लिओनेल मेस्सीलाई कुनै द्विविधा छैन्। विश्वकपसम्बन्धी एउटा विज्ञापन घोषणा कार्यक्रममा नयाँ पुस्ताका उत्कृष्ट खेलाडीबारे सोधिएको प्रश्नमा मेस्सीले भने, "त्यो लमिन हुन्। त्यसमा कुनै शङ्का छैन : मेरा लागि उनी सर्वोत्कृष्ट हुन्।"

त्यही साता अमेरिकी टेलिभिजन नेटवर्क सीबीएसले यमाल लमिनलाई स्पेनले विश्वकप जित्न सक्ने सम्भावनाबारे प्रश्न गरेको थियो। उनी मुस्कुराए र 'जित्छ' भने।

स्पेनका 'वन्डरकिड' यमान लमिनको प्रशंसा मात्रै भइरहेको छैन, उनको 'कम्पोजर' र 'स्पष्टता'का कारण यी युवा फुटबलरले आफ्नो अलग्गै पहिचान निर्माण गरिरहेका छन्।

उनी १८ वर्षका छन्। उनले च्याम्पिअन्स लीगको सेमिफाइनलमा खेलिसकेका छन् र युरोपिअन च्याम्पिअनशिप खेलिसकेका छन्। पन्ध्र वर्षसम्म निरन्तर बार्सिलोनामा मेस्सीले लगाएको १० नम्बरको जर्सी उनलाई दिइएको छ। उनको प्रतिभाभन्दा पनि शान्त स्वभाव लमिनको सबैभन्दा उल्लेखनीय पक्ष हो।

मेस्सीसँग तुलना हुनु स्वाभाविक

मेस्सीको अनुहार देखिने तस्बिर

तस्बिर स्रोत, Getty Images

लमिन यमालले चाहे पनि वा नचाहे पनि उनको मेस्सीसँग तुलना हुने गर्छ।

उनीहरू दुवै बायाँ खुट्टा राम्रोसँग चलाउँछन्। यी युवा खेलाडीको 'ड्रिब्लिङ' कौशल र छलाउने कला मेस्सीको जस्तै छ, जसले अप्ठेरोलाई पनि स्वाभाविक देखाइदिन्छ।

त्यो उमेरमा मेस्सीको जुन प्रभाव थियो, लमिनको प्रभाव त्यहाँभन्दा निक्कै धेरै छ तर उनले मेस्सीसरह आफूलाई कायम राख्न सक्छन् भन्ने ठान्नु अपरिपक्व हुनेछ।

तुलना गर्नु निरर्थक देखिए पनि एउटा तथ्याङ्कले लमिन यमाल मेस्सीकै जति मूल्य भएका उनका उत्तराधिकारी बन्ने दिशामा रहेको देखाएको छ।

जम्मा १८ वर्षको उमेरमा उनले बार्सिलोनाका लागि १५१ पटक खेलेका छन्। सन् २००६ को जुन २४ मा आफ्नो १९ औँ जन्मदिन मनाइरहँदा जम्मा ४१ वटा महत्त्वपूर्ण खेलहरू खेलेका थिए।

बर्सिलोनाको स्वर्णकाल सुरु हुँदा रोनाल्डिन्होले मेस्सीसँगै उक्त क्लबबाट खेलेका थिए र च्याम्पिअन्स लीगको उपाधि जितेका थिए।

"मेस्सी र मैले इतिहास निर्माण गर्‍यौँ र अहिले लमिन यमालको पालो हो। यति कम उमेरमा उनले जे देखाएका छन्, त्यो अभूतपूर्व छ," ब्रजिलका पूर्वफुटबलर रोनाल्डिन्होले मार्चमा फिफाको वेवसाइटलाई भनेका छन्।

'के उस्तै उमेरको हुँदा मेस्सी र क्रिस्टिआनो रोनाल्डोभन्दा यमाल उत्कृष्ट हुन्' भनेर म्यान्चेस्टर यूनाइटेडका रक्षापङ्क्तिका खेलाडी रिओ फर्डिनान्डलाई पनि प्रश्न गरिएको थियो।

"हुन्,"ईएसपीएनलाई उत्तर दिँदै फर्डिनान्डले भने, "उनको सम्भावना वा उपल्लो स्तर उनीहरूको भन्दा पनि राम्रो हुन सक्छ।सत्र वर्षको उमेरमा उनले जस्ता काम गरेका छन्, कसैले पनि यस्तो गरेका छैनन्। पेलेले गरेका हुन सक्छन् तर मैले पेलेलाई देख्न पाइनँ।"

स्पेनका प्रशिक्षक लुइस डे ला फोन्टे विभिन्न उमेर समूह र राष्ट्रिय टोलीमा लमिन यमालको क्षमता विकास हुँदै गएको आफूले देखेको भन्दै आफूले देखिरहेको कुरा खेलकौशल मात्र नभएको बताउँछन्।

उनले भने, "उनी ईश्वरको आशीर्वाद पाएका खेलाडी हुन्। अति क्षमतावान् फुटबलरहरूसँग केही विशेष हुन्छ र उनीसँग त्यो छ," डे ला फोन्टेले बीबीसीसँग भने। "तपाईँले 'तपाईँ विशेष बन्नुहुने छ' भन्ने खालको जादुले प्रभाव पारेका त्यस्ता प्रकारका फुटबल खेलाडीलाई तत्कालै चिन्न सक्नुहुन्छ।"

प्रत्येक दिन उनीसँगै तालिममा र ठूला म्याचको समयमा उनले खेलेका खेलहरू नजिकबाट पछ्याउने हान्सी फ्लिक पनि त्यस्तै धारणा राख्छन्।

बार्सिलोनाका पूर्व मुख्य प्रशिक्षक फ्लिकले भने, "उनी विशेष छन् र उनी प्रतिभाशाली छन्। ठूला म्याचहरूमा उनी उपस्थित हुन्छन्; २४ वा २५ वर्षको नहुँदासम्म खेलाडीहरूले यो तहको परिपक्वता देखाउने गर्दैनन्। यदि प्रत्येक आधा शताब्दीमा यस्तो प्रतिभा आउने गर्छ भने म खुसी छु कि बार्सिलोनामा यस्तो भइरहेको छ।"

लमिन यमाल अरू उदयीमान खेलाडीभन्दा कुन अर्थमा फरक छन् भने उनी मेस्सी बन्ने प्रयास गरिरहेका छैनन्। उनले मेस्सीको प्रशंसा गर्छन् तर आफ्नो महत्त्वाकाङ्क्षालाई प्रस्तुत गर्ने शैलीलाई लिएर उनी केही जिद्दी पनि छन्।

"मेरा लागि मेस्सी इतिहासकै महान् खेलाडी हुन्," उनले भने। "उनी महान् छन् र म उनीसँग तुलना हुन लायक रहेको ठान्दिनँ।"

"म मेस्सी बन्न चाहँदिनँ र यो उनलाई पनि थाहा छ। म आफ्नो बाटो आफैँ तय गर्न चाहान्छु।"

क्रिस्टिआनो रोनाल्डोको प्रसङ्ग आउँदा पनि यहिँ कुरा लागु हुन्छ। लमिन यमाल उक्त तुलना वा विरासतलाई खारेज गर्दैनन् तर उनी आफ्नो महत्त्वाकाङ्क्षालाई त्यसवरपर राख्न अस्वीकार गर्ने गर्छन्।

"तपाईँले आफूलाई कसैसँग तुलना गर्नु त्यत्ति उत्कृष्ट होइन," उनले एउटा पुरस्कार कार्यक्रममा भनेका थिए।

"क्रिस्टिआनो रोनाल्डोजस्ता खेलाडीहरूले आफूले चाहेजस्तो गरे किनभने उनीहरू आफूजस्तो हुन चाहन्थे। म आफू हुन प्रयास गर्छु, मेरो खेल खेल्न चाहन्छु र मानिसहरूले मलाई लमिन भनेर चिनून् भन्ने चाहन्छु।

'दबाव हुँदैन, यो बहाना मात्रै हो'

फुटबलमा मेस्सीको सिंहासनको दाबेदारहरूको ठूलो सूची छ र उनीहरूमध्ये सबैले विभिन्न तहका सफलता र विफलता महसुस गरेका छन्।

जिओभानी दस सान्टोस, जेरार्ड देउलोफेउ, अङ्सु फाती, मुनिर अल हदादी र बोयान कर्किच केही यस्ता खेलाडी हुन् जसको भावी दिनमा सम्भावना रहेको भन्ने गरिएको थियो।

सञ्चारमाध्यमले विभिन्न थरी टिप्पणी गरिरहँदा लमिन यमाल बोल्नेभन्दा परिणाममा ध्यान दिन्छन्। उनी १६ वर्षको हुँदादेखि निरन्तर 'बालोन डोर'सँग जोडेर उनको नाम चर्चामा रहँदै आएको छ।

उनी मानिसहरूले मनरोञ्जन पाऊन् भन्नका लागि फुटबल खेल्ने गर्छन्। उनी बालबालिकाहरू मेस्सी वा रोनाल्डो नभई आफूजस्तो भएको हेर्न चाहान्छन्।

"मैले बालोन डोरबारे सोचिरहेको छैन। म आफैँ रमाउन चाहान्छु र बार्सा तथा राष्ट्रिय टोलीका लागि जित्न चाहान्छु।"

"दबाव रहने गर्दैन, त्यो एउटा बहाना हो। यदि तपाईँले आफू रमाउने र मनोरञ्जन गर्ने सोच्नुभयो भने कुनै दबाव हुँदैन।"

उनी बार्सिलोना अक्याडमी हुँदै अघि बढ्दा उनलाई नजिकबाट पछ्याएका प्रशिक्षक इनोसेन्ते डायजले केही पहिले लमिन यमाल मेस्सीभन्दा उत्कृष्ट रहेको बताएका थिए।

स्पेनको पत्रिका 'स्पोर्ट'लाई उनले सन् २०२५ मा भनेका थिए, "उनी मेस्सीभन्दा उत्कृष्ट छन्। दुवै मेस्सी र क्रिस्टिआनो रोनाल्डोलाई सम्झाउने शारीरिक विशेषताहरूको विशिष्ट मिश्रण उनीमा छन्। छ वर्षमा उनले बालोन डोर जित्ने छन्।"

लमिन यमाल आफ्नोतर्फबाट भने विश्वकपमा नै केन्द्रित छन्।

उनले विश्वकपमा स्पेनको सम्भावनाबारे आफ्नो धारणा राखिसकेका छन्, अङ्ग्रेजीको एक शब्दमा। तर उनको मुस्कानका पछाडि एउटा यस्तो खेलाडी छ, जसले यो प्रतियोगिताका लागि जीवनभर प्रतीक्षा गरिरहेको छ।

"मैले दर्शकदीर्घामा उभिरहेकी आमालाई देखेर सधैँ विश्वकपमा खेल्ने कल्पना गरेको छु। म आशा गर्छु, कि म यो जित्न सक्छु।"

विश्वकप एकदुई दिनमा नै सुरु हुँदै छ। जुलाई १४ मा हुने पहिलो सेमिफाइनल खेलकोभन्दा अघि लमिन यमाल १९ वर्षका पुग्ने छैनन्।

विश्वकपमा स्पेन यमालको वरिपरि निर्माण भएको एउटा शक्तिशाली टोली हुने छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।