असहज छिमेकी: विश्वकप आयोजक तीन देशले के आपसी मतभेदलाई एक महिना थाँती राख्न सक्छन्?

तस्बिर स्रोत, Getty Images
- Author, एन्थोनी जर्कर
- Role, वासिङटन डीसी
- Author, जेसिका मर्फी
- Role, टोरन्टो
- Author, विल ग्रान्ट
- Role, मेक्सिको सिटी
- Published
- पढ्ने समय: ६ मिनेट
यसलाई एउटा यस्तो रात्रीभोज जस्तो ठान्नुहोस् जहाँ तपाईँ पुग्दा आयोजकहरू नै एक आपसमा चर्को विवाद गरिरहेका छन्।
उत्तर अमेरिकामा पहिलो पटक संयुक्त रूपमा आयोजना हुन लागेको फुटबल विश्वकप प्रतियोगिता हेर्न यात्रा गरिरहेका फुटबल समर्थकले लामो समयदेखि तनावपूर्ण अवस्था झेलेका तीन देशहरूको सामना गर्नेछन्।
अमेरिका, क्यानडा र मेक्सिकोका विभिन्न १६ वटा सहरहरूमा उक्त प्रतियोगिता आयोजना हुँदैछ।
डिसेम्बरमा तीन देशका नेताहरू ड्रका लागि वासिङ्टन डिसीमा भेटेर फिफाका प्रमुख जियानी इन्फेन्टिनोसँग 'सेल्फी लिदाँ' थाँती रहेका विवादित विषय टाढै रहेको जस्तो देखिएको थियो।
तर ३९ दिनसम्म चल्ने प्रतियोगिताका लागि सहकार्य गरिरहनु फरक प्रकारको चुनौती हुनसक्ने देखिन्छ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर अमेरिकामा आफ्नो मुलुकको प्रभुत्व रहेको बताउने गरेका छन्।
यसको अर्थ ट्रम्प पुनः सत्तामा फर्किएपछि देखिएका व्यापार, आप्रवासन र लागु औषध तस्करीजस्ता वास्तविक तनावका सवालहरू पुनः सतहमा आउन सक्छन्।
अर्कोतर्फ, ठिक ढङ्गले घटनाक्रम अघि बढ्दा तीन देशबीच निकट सम्बन्ध कायम हुन पनि सक्छ।
व्यापार, पर्यटनमा तनाव र ट्रम्प
मेक्सिको र क्यानडा अमेरिकाका प्रमुख व्यापारिक साझेदारहरू हुन् र ट्रम्पले थप भन्सार शुल्कबाट निशाना बनाएका पहिलो देशहरूमध्येमा आफूहरू रहेको उनीहरूले भुलिसकेको छैनन्।
ट्रम्पले बारम्बार अमेरिकाको '५१ औँ राज्य बनाइदिने' टिप्पणी गरेपछि आक्रोशित भएको क्यानडाले आफ्नै प्रतीकात्मक कदमहरू चालेको थियो।
क्यानडाका प्रान्तहरूले अमेरिकी मदिराको विक्री बन्द गरेका थिए र क्यानडेली नागरिकहरूले उल्लेख्य रूपमा दक्षिणतर्फको यात्रा घटाएका थिए जसले अमेरिकालाई असन्तुष्ट बनाइदिएको थियो।
युनिभर्सिटी अफ क्याल्गरीका अन्तर्राष्ट्रिय नीतिका निर्देशक कार्लो डेडेले क्यानडा र मेक्सिको दुवैको अमेरिकासँग रहेका समस्याले आपसी सम्बन्धमा प्रभाव पारेको बताए।

तस्बिर स्रोत, Bloomberg via Getty Images
ट्रम्पको दोस्रो कार्यकाल सुरु हुनुअघि क्यानडा र अमेरिकाका अधिकारीहरूले मेक्सिकोले उत्तर अमेरिकामा चिनियाँ लगानीको प्रवेशका लागि पर्दा पछाडिबाट भूमिका खेलेको आरोप लगाएका थिए। त्यसबेला आफ्नो स्वार्थलाई ध्यान दिएर क्यानडाले मेक्सिकोलाई बेवास्ता गरेको थियो।
"त्यो सिधै अपमानजनक व्यवहार थियो," डेडे भन्छन्।
त्यसको अर्थ क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिका भन्दा पर व्यापारलाई विविधीकरण गर्ने प्रयास गर्नु परिरहेको छ भने मेक्सिकोसँग पनि सम्बन्ध सुधार गर्ने प्रयास गर्नु परिरहेको छ।
सहआयोजना कत्तिको सार्थक अभ्यास हो
विगतमा विश्वकप फुटबल कहिले पनि तीनवटा देशहरूमा आयोजना भएको थिएन। र सन् २०२६ को विश्वकप एउटा पूरै महादेशमा आयोजना भइरहेकाले यसमा विभिन्न किसिमका निकायहरू संलग्न रहेका छन्।
खेल हेर्न समर्थकहरूले एक देशबाट अर्कोमा यात्रा गर्नुपर्दा अमेरिकी आप्रवासन कार्यान्वयन सम्बन्धी निकायका कदमहरू व्यवस्थापनका लागि टाउको दुखाइ बन्न सक्छ। अहिले नै त्यसलाई लिएर चिन्ताहरू व्याप्त छन्।
इरानसँग जारी युद्धका कारण बढेको अमेरिकी सुरक्षा चिन्ताले पनि नयाँ तहका झन्झटहरू थप्न सक्छ र सामान्य देखिने घटना पनि चर्कने जोखिम रहन्छ।
"यस्ता विश्व स्तरीय खेल कार्यक्रमहरू आयोजना गर्नु मात्रैले सहआयोजक देशहरूबीच अत्यन्त आत्मीय सम्बन्ध कायम हुने कुरा सुनिश्चित हुँदैन," न्यूयोर्क विश्वविद्यालयकी ग्लोबल स्पोर्टकी सहप्राध्यापक तथा लेखिका लिन्ड्से क्रास्नोफ भन्छिन्।
उनले सन् २०२३ मा न्यूजील्यान्ड र अस्ट्रेलियाले महिला विश्वकप फुटबल आयोजना गर्दा समग्रमा सकारात्मक परिणाम देखिएको तर लामो र असन्तुलित इतिहास रहेका जापान र दक्षिण कोरियाले सन् २००२मा संयुक्त रूपमा पुरुष विश्वकप फुटबल आयोजना गर्दा 'मिश्रित' परिणाम देखिएको बताइन्।
"त्यसले दूईपक्षीय सम्बन्धमा नकारात्मक असर त गरेन तर ऐतिहासिक रूपमा हेर्दा त्यो बराबरीकै जस्तो खालको अवस्था देखियो।"
फिफा स्वयंले पनि यस ढाँचाबाट ठूलो अपेक्षा गरेको छ। "यो त्यस्तो क्षण हो जब तीनवटै देश र एउटा पूरा महादेशले सामूहिक रूपमा भनिरहेका छन् कि हामी हालसम्मकै सबैभन्दा ठूलो, उत्कृष्ट र समावेशी विश्वकपलाई स्वागत गर्न एकताबद्ध भएका छौँ।"
वास्तविक समस्याको ढाकछोप?
प्रत्येक देशका नेताहरूले यो प्रतियोगितामार्फत् आफू छिमेकीसँग सहकार्य गर्नसक्ने भनेर देखाउन मात्र नभइ घरेलु मुद्दामा आलोचना गर्न खोज्नेमाझ समेत आफूलाई प्रमाणित गर्न खोज्नेछन्।
मेक्सिकोको हकमा यो वास्तविक हो किनभने त्यहाँ प्रतियोगिताको आयोजनाको विषयमा अन्योल र निराशा देखिएको थियो।
त्यसबाहेक देशको राजधानीमा अवस्थित मुख्य विमानस्थलमा पूर्व तयारीको अवस्था, सार्वजनिक यातायात प्रणालीको चाप र पुनर्निर्माण गरिएको एस्टेका रङ्गशालालाई लिएर प्रश्नहरू उठिरहेका छन्।
त्यसबाहेक केही महिना अघि मात्रै लागुऔषध तस्करीका कार्टेल सदस्यहरू सडकमा देखिएका थिए र छोटो अवधिका लागि देखिएको हिंसाले चिन्ताहरू बढाएको थियो।
अहिले पेन्सन र अन्य सेवा सुविधाहरूलाई लिएर प्रमुख शिक्षक युनियनले देशव्यापी आन्दोलन गरिरहेको छ र ती आन्दोलनले खेल हुने ठाउँका प्रमुख मार्गहरू पनि अवरुद्ध गर्ने जोखिम छ। उनीहरूको नारा 'समाधान बिना खेल सुरु हुन सक्दैन' भन्ने छ।
तर यस्ता चुनौतीमाझ पनि मेक्सिकोकी राष्ट्रपति क्लडिया शेन्बाउमले निरन्तर सकारात्मक दृष्टिकोण राख्दै आएकी छन्।
उनले अघिल्लो वर्ष भनेकी थिइन्, "यो सर्वोत्कृष्ट फुटबल हेर्ने अवसर हो र हामी को हौँ भनेर विश्वलाई थाहा दिने मौका पनि हो। केवल समृद्ध सांस्कृतिक सम्पदा मात्र नभइ सशक्त नागरिक रहेको देश हौँ हामी।"
मेक्सिकोका फुटबल पत्रकार राफेल पुन्टे यस्ता चुनौतीहरू ढाकछोप गर्न नसकिने भन्दै फुटबल समर्थकहरूले धैर्य र असल व्यवहार प्रदर्शन गर्ने अपेक्षा गर्छन्।
उनले भने, "हामीले अपेक्षा गर्न सक्ने एउटै कुरा भनेको उत्साह, आशा र अपेक्षा हो जुन विगतमा मेक्सिकोका नागरिकहरूले देखाएका छन्, विशेषगरी राष्ट्रिय टोली प्रतियोगितामा सामेल भएको समयमा।"
तीनैको नजर विश्वकपभन्दा पर पनि
विश्लेषकहरू यो खेलको आयोजना उपयुक्त ढङ्गले व्यवस्थापन गर्न सकेको खण्डमा तीन छिमेकी देशहरूले अन्य क्षेत्रमा पनि परिणाम निम्त्याउने बताउँछन्।
यी तीन देश यूएसएमसीए पनि भनिने उत्तर अमेरिका खुला व्यापार सम्झौताको पुनरवलोकनको चुनौतीपूर्ण कामको बीचमा छन्।
यो पुनरावलोकनले सन् १९९४ देखि कुनै न कुनै स्वरूपमा कायम रहेको व्यापार साझेदारीलाई अनिश्चित बनाइदिएको छ।
मेक्सिकोले अमेरिकासँग औपचारिक वार्ता सुरु गरेको छ जुन क्यानडाले थाल्न बाँकी नै छ।
क्यानडाले चीनसँग नजिकको सम्बन्ध कायम गर्न खोजिरहेको छ भने मेक्सिकोले उक्त एशियाली देशमाथि भन्सार शुल्क बढाएको छ।
ट्रम्प प्रशासनले चीनबारे अङ्गीकार गरेका नीतिमा पनि यी देश फरक फरक दिशामा उभिएको विज्ञहरू ठान्छन्।

तस्बिर स्रोत, Getty Images
तर विश्वकपले कूटनीतिका लागि अवसर दिने ठानिएको छ। डिसेम्बरमा खेल समूह विभाजन गर्ने ड्र हुँदा ट्रम्प, कार्नी र शेन्बाउम एक ठाउँमा उभिएका थिए।
"कुनै पनि समयमा जब नेताहरू एक ठाउँमा उभिन्छन्, त्यो समान्यता राम्रो नै हुन्छ," डेडे भन्छन्।
ट्रम्पले अमेरिका 'सबैभन्दा आकर्षक' रहेको दाबी बारम्बार गर्ने गरेका छन् र उनले विश्वकपलाई पनि अमेरिकाप्रति ध्यान खिच्ने मौकाका रूपमा हेर्ने स्पष्ट छ।
कार्यक्रमहरूमा सहभागी भएर होस् वा ट्रुथ सोसलका पोस्टहरूमार्फत् आफ्नो वर्चस्व देखाउने उनको प्रयासले दुवै छिमेकी देशहरूबीच असन्तोष बढाउन सक्छ र दीर्घकालमा उत्तर अमेरिकी सम्बन्धमा नै क्षति पुर्याउन सक्छ।
अर्कोतर्फ, प्रतियोगिताको सफलतामा उनले गहिरो लगानी गरेका छन् र प्रतियोगितालाई सफल पार्न उनले विवाद निम्त्याउने खालका कूटनीतिक घटनाहरू टार्न विशेष प्रयास गर्न सक्छन्।
फुटबल एउटा पुरानो अनौठो खेल हो। यो खेल जति अप्रत्याशित छ, त्यसैगरी तीन देश मिलेर आयोजना गर्ने यो नयाँ प्रयोग कुन दिशातर्फ जानेछ भन्ने निश्चित भन्न सकिने अवस्था छैन।
क्रास्नोफ भन्छिन्, "सुरुदेखि नै यो अत्यन्त जटिल हुने स्पष्टै थियो, पहिलोपटक सह आयोजनालाई स्वीकृत गरिँदा नै।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















