प्रधानमन्त्रीको भारत भ्रमणपछि जारी संयुक्त वक्तव्यमा हवाईमार्गदेखि रेलमार्गसम्मका विषय

बालेन र मोदी
    • Author, गनी अन्सारी
    • Role, संवाददाता, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

नेपाल र भारतले काठमाण्डू-भैरहवा-लखनऊ हवाईमार्गलाई दुईतर्फी बनाउने सहमति भएको बताएका छन्।

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह बालेनको दुईदिने राजकीय भ्रमणका क्रममा दिल्लीमा दुई देशका नेताहरूबीच उक्त सहमति भएको उनीहरूले जारी गरेको संयुक्त वक्तव्यमा जनाइएको छ।

"सम्पर्क सञ्जाल विस्तार तथा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नागरिक उड्डयनसम्बन्धी विषयमा जारी छलफलबारे नेताहरूले चर्चा गर्नुभयो। हालको एकतर्फी बी३४५ काठमाण्डू-भैरहवा-लखनऊ हवाईमार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन्," संयुक्त वक्तव्यमा लेखिएको छ।

"यससम्बन्धी प्रारूपलाई टुङ्ग्याउन र छलफलमा रहेका नागरिक उड्डयनसम्बन्धी दुवै पक्षका अरू प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्शहरू गरिने छ।"

सो विषयमा कहिलेबाट प्राविधिक परामर्श गरिने छ भन्नेबारे चाहिँ संयुक्त वक्तव्यमा केही उल्लेख गरिएको छैन।

बन्दरगाहमा पहुँच

बालेन र मोदी

भारतले गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासलाई मजबुत बनाउन भन्दै २ खर्ब ४० अर्ब रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।

संयुक्त वक्तव्यमा जनाइएअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई व्यापारका निम्ति गुजरात राज्यस्थित दीनदयाल बन्दरगाह हुँदै नयाँ सामुद्रिक पहुँचमार्ग उपलब्ध गराउने घोषणा गरेका छन्।

त्यस्तै आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहमा पनि पहुँच उपलब्ध गराइने भारतले जनाएको छ।

दुई नेताहरूले नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी तथा पेट्रोलियम पाइपलाइन निर्माणमार्फत्‌ सीमा वारपार सम्पर्क सञ्जाल र सीमा पूर्वाधार सुधारको महत्त्वमा जोड दिएको संयुक्त वक्तव्यमा भनिएको छ।

दुई प्रधानमन्त्रीहरूले अयोध्या र जनकपुरबीच सञ्चालन हुने सरयू-कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गरेका छन्।

उक्त रेल सेवाले सम्पर्क सञ्जाल सुधार गर्नुका साथै रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्ने एवं भारत तथा नेपालबीचको समान सभ्यताको सम्बन्धलाई थप सुदृढ बनाउने दुई देशले जनाएका छन्।

दुई नेताहरूले बौद्ध तथा शिव-शक्ति धार्मिक पर्यटन सर्किट विकास गर्न सोही किसिमको सम्पर्क मार्गको सम्भावना खोज्ने सहमति जनाएका छन्।

उनीहरूले प्रस्तावित रक्सौल-काठमाण्डू विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेशन सर्वेक्षण सम्पन्न भएको घोषणा गरेका छन् भने नेपालमा पूर्व-पश्चिम रेलमार्ग विकासमा दुवै पक्षले सहकार्य गर्ने पनि घोषणा गरेका छन्।

जलविद्युत् परियोजना

बालेन र मोदी

भारत-नेपाल ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी संयुक्त धारणापत्र तथा दीर्घकालीन विद्युत् व्यापार सम्झौताअनुरूप जलविद्युत् क्षेत्रमा द्विपक्षीय प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका छन्।

नेपालमा जलविद्युत् क्षेत्रमा भारतीय कम्पनीहरूको सक्रिय सहभागिताको स्वागत गर्दै उनीहरूले भारतीय कम्पनीद्वारा विकास गरिएका विभिन्न जलविद्युत् परियोजना शीघ्र सम्पन्न गर्ने सहमति जनाएका छन्।

"उक्त अवसरमा दुई नेताले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभयो," संयुक्त वक्तव्यमा लेखिएको छ।

दुई नेताले पञ्चेश्वर विकास प्राधिकरण र संयुक्त जलस्रोत समितिलाई पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई छिटो अन्तिम रूप दिन तथा परियोजना कार्यान्वयनको काम सुरु गर्न निर्देशन दिएका जनाइएको छ।

"आपसी लाभका लागि जलस्रोतको उपयोग गर्न तथा बाढीको प्रभाव न्यूनीकरण गर्न सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाको डीपीआर तयार गर्ने कामलाई तीव्रता दिनुपर्नेमा पनि दुवै नेता सहमत हुनुभयो," संयुक्त वक्तव्यमा लेखिएको छ।

इनरुवा-न्यू पूर्णिया र दोधारा-बरेलीबीच दुई वटा उच्च क्षमताका सीमापार प्रसारणलाइन निर्माणका लागि संयुक्त निर्माण कम्पनी गठन गर्ने सम्बन्धमा भइरहेको प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेको वक्तव्यमा जनाइएको छ।

समझदारीपत्र आदानप्रदान

नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई पक्षबीच विभिन्न समझदारीपत्र आदानप्रदान भएको जनाइएको छ। ती निम्न प्रकारका छन्:

  • भारतको गुजरातस्थित न्याश्नल फरेन्सिक साइन्सेस युनिभर्सिटी र नेपालको अपराध अनुसन्धान विभागबीच शैक्षिक एवं अनुसन्धान सहकार्यसम्बन्धी समझदारीपत्र
  • भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच समझदारीपत्र
  • भारतको न्याश्नल सेन्टर फर गुड गभर्नन्स र नेपालको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच समझदारीपत्र
  • आयुर्वेद तथा अरू परम्परागत चिकित्सा प्रणालीका क्षेत्रमा सहकार्यम्बन्धी भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र
  • दक्षिण एशिया भूउपग्रहको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना सम्बन्धमा भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच समझदारीपत्र
  • दिगो शहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्यसम्बन्धी भारत र नेपालबीच समझदारीपत्र
  • स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्यसम्बन्धी भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबीच समझदारीपत्र
  • पशु तथा मत्स्य विकासका क्षेत्रमा सहकार्यम्बन्धी भारत र नेपालबीच समझदारीपत्र

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।