तिब्बत हुँदै भोटेकोशी नदीमा आएको बाढीमा परी रसुवा
जिल्लामा मृत्यु हुने मानिसहरूका शव जिल्लाका
विभिन्न स्थानमा फेला परेका छन्। नेपाल प्रहरीका अनुसार आज बिहान ११ बजेसम्म
रसुवा १०० वटाभन्दा बढी शव फेला परिसकेका छन्।
जिल्ला प्रहरी प्रमुख अशोक थापाले राष्ट्रिय समाचार
समितिलाई दिएको जानकारीअनुसार जिल्लाको बेत्रावती, टिमुरे र
स्याफ्रुबेँसी फेला परेका शवहरूमध्ये केवल छ वटाको पहिचान भएको छ।
उद्धारकर्ताहरूले फेला परेका शवलाई सङ्कलन गरी
धुन्चे पठाउने तयारी गरेका छन्।
रसुवाका विभिन्न स्थानबाट स्वदेशी र विदेशी
पर्यटकहरूसहित ठूलो सङ्ख्यामा मानिसहरू सम्पर्कविहीन छन्। खोजीकार्य जारी रहेको
अधिकारीहरूले बताएका छन्।
विस्थापित मानिसहरू कहाँ छन्
बाढीबाट प्रभावित ६०० जनाभन्दा बढीको उद्धार गरिएको जानकारी सरकारी निकायहरूले दिएका छन्।
राष्ट्रिय समाचार समितिका अनुसार बेत्रावती कैँदलटारबाट विस्थापित भएका परिवारहरूलाई काठमाण्डूको तारकेश्वर नगरपालिकामा रहेको शान्ति टोलका विभिन्न स्थानमा राखिएको छ।
टिमुरे र स्याफ्रुबेँसीबाट विस्थापित भएकाहरूलाई रानीवनस्थित पहेँलो गुम्बामा राखिएको छ।
केही प्रभावितलाई धुन्चेस्थित टुर्कुछिलिङ गुम्बा र अन्यलाई दक्षिणी रसुवाको माझगाउँस्थित भीमसेन र शिवालय प्राविमा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
हेलिकप्टरबाट राहत सामग्री
भोटेकोशी बाढीले पुल र सडक बगाउँदा रसुवाको पश्चिमी भेगमा रहेका थोमन, चिलिमे, गोल्जुङ, हाकु, डाँडागाउँ, ठूलोगाउँलगायत बस्तीमा हेलिकप्टरमार्फत् राहत सामग्री पुर्याइएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले राससलाई बताए।
लहरेपौवा, बेत्रावती, पहिराबेँसी, राम्चे, टिमुरेको खैदी, विर्दिङ, शेर्पागाउँ, खाम्जिङ, स्याफ्रुसमेतका क्षेत्रमा पनि हेलिकप्टरमार्फत् खाद्यान्न ढुवानी भइरहेको राससले जनाएको छ।
'मोबाइल चार्ज गर्न घुम्ती सेवा'
बाढीसँगै विद्युत् सेवा अवरुद्ध भएपछि मोबाइल चार्ज गर्न गाडीमा जेनरेटर राखी घुम्ती सेवा उपलब्ध गराइएको रसुवा–नुवाकोट पर्यटन समाजले जनाएको छ।
अहिलेसम्म ५०० भन्दा बढी स्थानीय बासिन्दाले उक्त सेवा लिएको सो संस्थाका अध्यक्ष बलराम न्यौपानेले राससलाई बताए।
जिल्लाका अधिकांश क्षेत्रमा सञ्चार सम्पर्क पुनः सुरु भएको राससले जनाएको छ।
विद्युत् आपूर्ति नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले काठमाण्डूको बालाजुदेखि नुवाकोटको शिवपुरी, चौगडा, नर्जा, सरमथली, कालिकास्थान हुँदै धुन्चेसम्मको लाइन विस्तारको काम अघि बढाएको राससले जनाएको छ।