तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'सुरुङभित्र फसेका मानिसहरू पावरहाउसमा बसेका हुन सक्छन्': कुलमान घिसिङ
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीले उक्त करिडोरमा रहेका जलविद्युत् केन्द्रहरू ध्वस्त हुँदा त्यहाँ अझै सयौँ मानिसहरू खास गरी सुरुङमा हुन सक्ने ठानिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढीप्रभावित क्षेत्रमा "अझै पनि खोज र उद्धारमा केन्द्रित रहेको" बताएका छन्।
सो क्षेत्रमा जलविद्युत् विकासमा अग्रणी भूमिका खेलेका नेपाल विद्युत् प्राधिकरणका भूतपूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले धेरै मानिसहरू अझै पनि सुरुङभित्र रहेको पावरहाउसको संरचनामा फसेको हुन सक्ने बताएका छन्। उनी जेन जी आन्दोलनपछि गठित अन्तरिम सरकारमा मन्त्री पनि थिए।
कति होलान् त्यहाँभित्र फसेका?
घिसिङका अनुसार जलविद्युत् आयोजनाका सुरुङमार्गभन्दा भित्र रहेका संरचनासम्म पुगेर उद्धारकार्य हुन सके उपयुक्त हुन सक्छ।
बाढीलगत्तै भदौ १४ गते उक्त क्षेत्रमा पुगेर फर्किएका घिसिङले आफूले बुझेअनुसार अझै धेरै मानिसहरू जलविद्युत् केन्द्रका सुरुङ संरचनामा हुन सक्ने बताए।
"रसुवागढी आयोजनाको सुरुङभित्रको पावरहाउसमा झन्डै १२ जना फसेको आयोजनाको विवरण छ। चिलिमेमा ६ जना जति छ, अनि लाङ्टाङ आयोजनामा २५ जना भन्ने छ," घिसिङले भने।
"हजारौँ मानिस संलग्न भ{ निर्माण कार्य भइरहेको माथिल्लो त्रिशूली १ मा सुरुङभित्र मात्रै ३०० जना सम्पर्कविहीन छन् भन्ने आएको छ। त्रिशूली ३ए को सुरुङमा विद्युत् प्राधिकरणका मानिस तथा मर्मत गर्न आएका प्राविधिक गरी २०-२५ जना परेको भनिएको छ। त्रिशूली ३बीमा पनि परेका छन्," घिसिङले जानकारी दिए।
उद्धारको सम्भावना र चुनौती
"ती सबै सुरुङ क्षेत्रमा उद्धारका केही काम त भएका छन्। म आफैँ अस्ति टिमुरेदेखि सुरुङको अवलोकन गरेर आएको थिएँ। यसरी यसरी उद्धारकार्य गर्न सकिन्छ भनेर सेना तथा उद्धारकर्मीसँग छलफल पनि गरेँ," उनले भने।
रसुवागढीको सुरुङभित्र सेना पुगेको तर कोही फेला नपरेर फर्किएको भन्ने सोमवार आएको खबरबारे उनले भने, "सुरुङभित्र पसेको तर पावरहाउससम्म पुग्न नसकिएको, 'लक्ड' भएको भन्या छ। तर सुरुङभित्र फसेकाहरू रहने भनेको पावरहाउसमै हो। सुरुङभित्र पावरहाउसका ठूला भवन नै हुन्छन्।"
"त्यहीँभित्र मानिसहरू बस्ने हो, त्यहाँका कोठाकोठामा बस्ने हो। सुरुङको पहुँचमार्गमा त कोही बस्दैन। त्यसैले सुरुङमार्गमा कोही छैन भनेर हुँदैन, मानिसहरू भित्रै पावरहाउसमा हुन सक्छन्।"
"सुरुङभित्र काम गर्न बसेकाहरू पावरहाउसमै बस्छन्। त्यहाँभित्रका संरचना चार तलासम्मका हुन्छन्। बाढी आएपछि त उनीहरू मशीन फ्लोरभन्दा माथि गएर बस्न सक्छन्। यसो हेर्दा सुरुङमा (पानी/लेदो) आधा भरिएको देखिन्छ। यदि उनीहरूले अक्सिजन पाइरहेका छन् भने बाँच्न सक्छन्।"
"चिलिमेमा पनि भित्रै पुग्ने धेरै प्रयास भइरहेको छ तर सफल भएको छैन," घिसिङले भने।
"वास्तवमा भन्ने हो भने अहिले कुनै पनि सुरुङमा मानिस फसिरहेको हुन सक्ने ठाउँसम्म पुग्न सकिएको छैन। स्रोतको अभाव, अनुभवको कमी सबैले गर्दा यसमा अलि ढिलाइ भइरहेको छ," उनले बताए।
अपर्झटको विपद् अनि पूर्वतयारीको कमीले पनि उद्धारलाई गति दिन नसकिएको उनले बताए।
"ती संरचनाहरूमा काम गरेका विगतका आयोजना प्रमुख तथा प्राविधिकहरूलाई तत्काल बोलाएर उद्धारकार्यमा सहयोग लिनुपर्छ। त्यसो गर्दा केही छिटो हुन सक्थ्यो। नत्र हामीले आफ्नो स्रोतमा निर्भर भएर गर्न सक्ने जति त भइरहेको छ तर त्यसलाई योजनाबद्ध गराउन सकिन्छ।"
"विदेशी विज्ञहरूको सहयोग पनि भोलिपल्टैबाट लिन सकिएको भए छिट्टै योजना बनाउन सकिन्थ्यो। तर जनशक्तिमात्रै भएर पनि पुग्दैन। लेदो निकाल्न, अवरोध पन्छाउन र पानीको निकास गर्न उपकरणहरू चाहिन्छ। एक्स्कभेटरहरूलाई त्यहाँ हेलिकप्टरले लिफ्ट गरेर लैजानुपर्ने छ।"
उनले चिलिमेमा लेदो निकाल्न पम्प तथा डीजल जेनरेटर लगेर हिजोदेखि काम गर्न खोजिएको सुनाए।
"त्यसैले जनशक्तिका साथै त्यस्ता सामग्रीहरू लैजाने र परिचालन गर्ने योजना हुनु पर्छ। भोलिपल्टैबाट यस्तो गर्न सकिएको भए हुन्थ्यो तर यहाँ धेरै हेलिकप्टरदेखि लिएर उद्धारकर्मी अन्यत्र पनि व्यस्त हुनु परेको थियो।"
"अब छिटोभन्दा छिटो यसमा लाग्नुपर्छ," घिसिङले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।