लाइभ, भोटेकोशी-त्रिशूली बाढी 'जलवायु परिवर्तनका कारण': प्रधानमन्त्री वालेन्द्र शाह

आज भोटेकोशी-त्रिशूली बाढी आएपछिको सातौँ दिन। उद्धार, राहत र शव व्यवस्थापनलगायत विषयमा केके गतिविधि हुँदै छन्?

सारांश

  • गत बुधवार भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परेर नेपालमा ९३९ को मृत्यु भएको र करिब ४ हजार हराइरहेको तथ्याङ्क अधिकारीहरूले सार्वजनिक गरेका छन्
  • तिब्बतमा १६ जनाको मृत्यु र ५४६ जना हराइरहेको चिनियाँ राज्य सञ्चालित मिडियाले जनाएको छ
  • त्रिशूली ३ए र ३बी जलविद्युत् आयोजना सहितका सुरुङमा फसेका ठानिएका मानिसहरूसम्म पुग्ने प्रयत्न जारी छ
  • शवको पहिचान हुन विभिन्न कारणले मुस्किल भएको अधिकारीहरूले बताएका छन्, त्यस्ता शवलाई डीएनए सुरक्षित राखेर सामुहिक व्यवस्थापन गरिएको छ

लाइभ कभरेज

  1. बाढीका कारण उत्पन्न सङ्कटबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट पुगेको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्न लागेको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो २ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने छ।

    बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका विषयमा छलफल हुने जनाइएको छ।

  2. विनाशकारी बाढी "सामान्य घटना होइन"

    प्रधानमन्त्री वालेन्द्र शाह बालेन

    तस्बिर स्रोत, BALEN SHAH/FACEBOOK

    प्रधानमन्त्री वालेन्द्र शाहले तिब्बतसँगको सीमामा बुधवार आएको विनाशकारी बाढीलाई “सामान्य घटना नभएको” भन्दै यो जलवायु परिवर्तनका कारण भएको बताएका छन्।

    सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय स्तरमा तत्काल कदम चाल्न माग गरेका छन्।

    उनले यो घटना “हिमाली क्षेत्रमा हिउँ र बरफको हिमपहिरोका कारण उत्पन्न भएको यो क्षेत्रकै प्रमुख प्राकृतिक विपत्तिमध्ये एक” भएको बताएका छन्।

    अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा रहेका विभिन्न जलविद्युत् आयोजनाका सुरुङहरूमा उद्धारको प्रयास जारी छ। त्यहाँ सयौँ कामदार फसेको हुन सक्ने आशङ्का गरिएको छ।

    यो विपत्तिमा अहिलेसम्म ९०० जना भन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ भने झन्डै ४,००० जना सम्पर्कविहीन छन्।

  3. अहिलेसम्म हामीलाई के थाहा छ

    बाढीका कारण सोमवार साँझसम्म ९५१ जनाको शव फेला परेको नेपाल प्रहरीले आफ्नो वेबसाइटमा जनाएको छ। मृतकको सङ्ख्या बढ्दो क्रममा रहेको देखिन्छ।

    अझै सयौँ मानिस सम्पर्कविहीन छन्। खोजीकार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

    प्रधानमन्त्री वालेन्द्र शाहले सरकार 'अझै पनि खोज र उद्धारमा केन्द्रित' रहेको बताएका छन्। उद्धारकर्मीहरू विभिन्न जलवदि्युत् आयोजनाका सुरुङहरूमा जीवित मानिसहरू फसेको हुन सक्ने अनुमानमा खोजी गर्दै छन्। उक्त कार्यमा केही विदेशी विशेषज्ञहरूले पनि सघाउन थालेका छन्।

    विज्ञहरूले रसुवामा बनेको एउटा हिमतालको आकार बढ्दै गएकाले त्यसबाट जोखिम हुन सक्ने चेतावनी दिएका छन्।

    नदीमा फेला परेका तर पहिचान नभएका शवहरूको 'अस्थायी व्यवस्थापन' भएको छ। अहिलेसम्म फेला परेका शवहरूमध्ये थोरैको मात्र सनाखत भएको छ।

    हराइरहेका नेपाली तथा विदेशी नागरिकहरूको डीएनए परीक्षणका लागि "नजिकको रगतको नाता" भएका आफन्तले अनुरोध गरेमा उनीहरूको रगतको ताजा नमुना सङ्कलन गरेर डीएनए परीक्षणबाट शवको पहिचान गर्न सकिने प्रहरीले बताएको छ।

  4. लाइभ पेजमा यहाँलाई स्वागत छ

    नमस्कार। बीबीसी नेपाली सेवाको लाइभ पेजमा यहाँलाई स्वागत छ।

    भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी आएको आज सातौँ दिन हो। आज हामी यो लाइभ पेजमा उक्त बाढीले पुर्‍याएको क्षति र त्यसपछि जारी उद्धार तथा राहतका प्रयासबारे भइरहेका गतिविधिकोबारे अप्डेट गर्ने छौँ।