जलविद्युत् आयोजनाका सुरुङ किन 'जोखिम'मा हुन्छन्?

सुरुङमा जारी उद्धार प्रयास

तस्बिर स्रोत, Nepal Army

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित ११ जलविद्युत् आयोजनाका करिब ९०० भन्दा धेरै कर्मचारीहरू गत बुधवारको बाढीसँगै सम्पर्कविहीन बनेको अधिकारीहरूको आशङ्का छ।

तर तीमध्ये सुरुङभित्र फसेकाहरूको वास्तविक सङ्ख्या अझै यकिन हुन सकिरहेको छैन।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बीबीसीलाई बताएअनुसार सोमवार साँझसम्म रसुवागढी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली थ्रीए र माथिल्लो त्रिशूली थ्रीबीमा उद्धारसम्बन्धी कामहरू भएका छन्।

भारत र चीनका विज्ञहरूसमेतको सहायताले ती सुरुङमा हालको उद्धार प्रयास केन्द्रित रहँदा अधिकारी तथा विज्ञहरूले जलविद्युत् सुरुङभित्रको जटिलताबारे बीबीसीसँग कुरा गरेका छन्।

सुरुङको आवश्यकता र जोखिम

जलविद्युत्‌ आयोजनामा प्रयोग हुने सुरुङको उद्देश्य खोलाछेउको पानीलाई जलविद्युत् उत्पादन केन्द्रसम्म पुर्‍याउने हुन्छ। यस्तो केन्द्र सामान्यत: पहाडको अर्को छेउमा हुन्छ।

एकजना 'रक एन्ड टनल' इन्जिनियर विप्लव घिमिरेले बीबीसीलाई बताएअनुसार सवारी यात्राको दूरी छोट्याउन प्रयोग हुने 'मेट्रो टनल' भन्दा फरक 'हाइड्रोलिक टनल' नदीछेउछाउ हुने भएकाले रसुवा बाढीमा जस्तो जोखिमको पक्ष सधैँ रहिरहने गर्छ।

"खोलाछेउबाट पहाड छेडेर लगिन्छ, जसको प्रवेश र निकास बिन्दु खोलाछेउमै हुन्छ," घिमिरे भन्छन्।

"अहिलेको समस्या भनेको त्यहाँ लेदो छिरेर अवरोध भएपछि सहजीकरण गर्न नसकिएको परिस्थिति हो।"

हाल उद्धार प्रयास केन्द्रित रहेको भनिएको 'माथिल्लो त्रिशूली थ्रीए' सम्बद्ध मेकानिकल इन्जिनियर क्षितिज कोइरालाले अझै भित्रपट्टिको वास्तविक अवस्था थाहा हुन नसकिरहेको तर जलविद्युत् सुरुङको संरचनाको विशिष्ठताका "आधारमा आशा नमारिसकेको" बीबीसीलाई बताएका छन्।

कहाँ के भइरहेको छ?

सुरुङमा जारी रहेको भनिएको उद्धार प्रयास

तस्बिर स्रोत, Nepal Army

सेना प्रवक्ताका राजाराम बस्नेतले रसुवागढी जलविद्युत् आयोजनामा २५० मिटरजति भित्र गएपछि सुरुङ बन्द भएको भाग फेला परेको तर "त्यहाँसम्म कोही फेला नपरेको" बीबीसीलाई बताए।

"लाङटाङको हकमा ६५ मिटरजति भित्र पुग्दा ठूल्ठूला ढुङ्गा फेला परेका छन्," प्रवक्ता बस्नेतले भने।

"चिलिमे र अपर त्रिशूली वनमा सेनासँग मिलेर विदेशी टोलीहरू काम गरिरहेका छन्, जहाँ कुनै नतिजा हासिल भइसकेको छैन। त्यहाँ पूरा टनल बन्द छन्, जसलाई खुलाउने प्रयास जारी छ।"

त्यसबाहेक माथिल्लो त्रिशूली थ्रीबीमा सुरुङको मुख पत्ता लगाउने काम भइरहेको एवं थ्रीए परियोजनाको सुरुङको भित्रपट्टि मानिसहरू फसेको विश्वासमा उद्धार प्रयासमा भित्रपट्टिबाट पानी फ्याँक्ने काम भइरहेको सेनाका प्रवक्ताले बताएका छन्।

विद्युत् प्राधिकरणले हेलिकप्टरमार्फत् आवश्यक सामान पठाइरहे तापनि पहिल्यै जटिल रहेको बाढीप्रभावित भूभागमा काम गर्न कठिन भइरहेको अधिकारीहरूको भनाइ छ।

"भित्रपट्टि बस्न मिल्ने ठाउँहरू पनि नहुने होइन। पावर हाउस क्याबिनहरू हुन्छन्। कार्यालयहरू नै हुन्छन्। सञ्चारका लागि वाकीटकीको व्यवस्था हुन्छ। तर तत्कालीन समयमा सम्बन्धित आयोजनाले केकसो व्यवस्था गरेका थिए भन्ने कुरा फरकफरक हुन सक्छ," टनल इन्जिनियर घिमिरे भन्छन्।

"नत्र खानेबस्ने, आगलागी रोक्ने, अतिरिक्त अक्सिजनजस्ता व्यवस्था हुनुपर्ने हुन्छ।"

माथिल्लो त्रिशूली थ्रीए : सकस बताउने एउटा आयोजना

उद्धार प्रयास चलिरहेको माथिल्लो त्रिशूली 'थ्रीए'को मुख्य सुरुङ सतहभन्दा करिब १५ मिटर तल छ।

अन्य हाइड्रोलिक सुरुङभन्दा फरक उक्त आयोजनाको 'पावरहाउस' पुग्नैसमेत भूमिगत सुरुङ प्रयोग गर्नुपर्ने अधिकारीहरूको भनाइ छ। त्यसको मुख्य टनलको लम्बाइ १७० मिटर छ।

उद्धार प्रयासको सुरुमै सबैभन्दा नजिकबाट त्यहाँसम्म पुग्न सकिने ठान्दै उद्धारकर्ताहरूले एउटा 'केबल टनल' पहिचान गरेका थिए।

सो सानो सुरुङ समेत अहिले ढुङ्गामाटो थुप्रिएर बनेको सतहभन्दा १०-११ मिटरजति तल रहेको बताइएको छ।

उद्धार प्रयासमा "त्यति खन्ने काम सजिलो थिएन। त्यसका लागि हामीले स्थानीय जनशक्ति नै प्रयोग गर्‍यौँ किनकि एक्स्कभेटरलाई हेलिकप्टरले उठाउने खालको क्षमता नेपालसँग छैन। हेलिकप्टरले उठाउन सक्ने अधिकतम ३ टन हो," उक्त आयोजनाको केन्द्रीय कार्यालयमा काम गर्ने मेकानिकल इन्जिनियर क्षितिज कोइरालाले भने।

"धन्न छेउमा तीनवटा एक्स्कभेटर झुक्किएर आइपुगेछन्, जसलाई बनाएर सुरुङको मुखसम्म पुग्‍यौँ। हामी 'एल' आकारबाट जाँदा धेरै लामो हुन्छ भन्दै छड्के बनाएर गयौँ। बीचबीचमा प्वाल पारेर अक्सिजन पनि पठाएका छौँ।"

रसुवा बाढी

उनीहरूले माथिपट्टिको 'क्राउन' भनिने भागलाई विस्फोटक पदार्थको प्रयोग गरेर फुटाए तापनि भित्रपटि अझै कङ्क्रिट बीम र रडहरू रहेकाले त्यसलाई छिचोल्नुपर्ने चुनौती रहेको कोइराला भन्छन्।

"त्यसभित्र हेर्दा त्यहाँ पानी जमेको पनि देखिन्छ, जसलाई बाहिरपट्टि फ्याँक्नुपर्ने आवश्यकता छ," भित्रपट्टि ३५ देखि ४० जना मानिसहरू फसिरहेको बताउँदै कोइरालाले भने।

"त्यहाँभित्र मर्मतको काम भइरहेकाले सबैजना तल फ्लोरमा छन् भन्ने आशङ्का छ। हिलोलेदो मुखसम्म पुगेको छैन, कतै रोकिएको छ भन्ने आशाका भरमा हामी काम गरिरहेका छौँ।"

नेपालमा सुरुङ

नागढुङ्गा सुरुङमार्ग

तस्बिर स्रोत, Nagdhunga Tunnel Construction Project

तस्बिरको क्याप्शन, नागढुङ्गा-काठमाण्डू यातायात पारवहन सुरुङमार्ग सञ्चालनमा छ

नेपालमा 'प्राय: ड्रिल एन्ड ब्लास्ट' विधिबाट विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ बन्ने गरेको बताउँदै विज्ञहरू देशभित्र जलविद्युत् आयोजनामा १०० मिटरभन्दा छोटादेखि नौ किलोमिटर आसपाससम्मका सुरुङ भएको बताउँछन्।

त्यसबाहेक सुनकोशी-मरिन सिँचाइ आयोजनाको 'डाइभर्शन' सुरुङ करिब १३ किलोमिटर लामो छ भने मेलम्ची खानेपानी आयोजनाको सुरुङ २६ किलोमिटर लामो छ।

राजमार्गमा प्रयोगमा आएको काठमाण्डू जोडिने नागढुङ्गा सुरुङ २.६९ किलोमिटर लामो छ भने दुवैतर्फ छिचोलिसकिएको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग करिब १.१ किलोमिटर लामो छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।