'जलविद्युत् क्षेत्रका १,००० मानिसहरू अझैसम्म सम्पर्कविहीन'

लेदो पसेको सुरुङ उद्धार गरिँदै

तस्बिर स्रोत, PM Secretariat

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

चीनसँगको रसुवागढी सीमानजिकबाट आएको बाढीका कारण त्यस क्षेत्रमा रहेका कैयौँ जलविद्युत् आयोजनामा कार्यरत करिब १,००० मानिसहरू अझैसम्म सम्पर्कविहीन रहेको आशङ्का गरिएको ऊर्जा मन्त्रालयका प्रवक्ताले बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले जलविद्युत् आयोजनाहरूबाट मात्रै ९३३ जना सम्पर्कविहीन रहेको जनाएको छ।

त्यसमध्ये ४०० जना भन्दा धेरै मानिसहरू विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्रै फसेका र उद्धारको प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले शुक्रवार विभिन्न जलविद्युत् आयोजनाका प्रवर्धकहरूसँग छलफलपछि सम्पर्कविहीन र फसेका मानिसहरूको विवरण अद्यावधिक गर्ने काम भइरहेको जनाएको छ।

ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन शाक्यका अनुसार कोरियाली लगानीको अपर त्रिशूली-१ जलविद्युत् आयोजनामा मात्रै ४०० जना भन्दा धेरै मानिसहरू सुरुङभित्रै फसेको आशङ्का गरिएको छ।

"जलविद्युत् आयोजनाहरूमा काम गर्ने करिब १,००० जना भन्दा धेरै सम्पर्कविहीन भएको तथ्याङ्क आएको छ," शाक्यले बीबीसी न्यूज नेपालीसँग भने।

"सबैभन्दा धेरै अपर त्रिशूली १ मा सम्पर्कविहीन हुनुहुन्छ। त्यहाँ करिब ४०० जना सुरुङमै फसेको भन्ने प्रारम्भिक जानकारी छ। सुरुङभन्दा बाहिर रहनुभएका १७६ जना सम्पर्कविहीन हुनुहुन्छ।"

'खाना र पानीको अभाव छ'

सुरुङको मुखबाट उद्धार गरिँदै

तस्बिर स्रोत, PM Secretariat

तस्बिरको क्याप्शन, जलविद्युत् आयोजनाको सुरुङमा फसेका कैयौँ मानिसहरूको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ

आयोजनाका सम्पर्क अधिकारी गिरी अधिकारीका अनुसार आयोजनाको १० किलोमिटर लामो सुरुङको मुखबाट सुरुङभित्र लेदो पसेका कारण उद्धारमा कठिनाइ भएको छ।

"यो ब्रेक थ्रू (वारपार) भइसकेको सुरुङ हो। अडिट टनेलहरू (आपत्कालीन प्रवेशमार्ग) टालिएका छैनन्। त्यसकारण भित्र अक्सिजनको कमी नहुनु पर्ने हो। भित्र खाना र पानीको अभाव छ। समयमै उद्धार हुन सके भित्र रहेकाहरू जीवितै रहेको अनुमान छ," अधिकारी भन्छन्।

उनका अनुसार सुरुङ भित्रबाट चार जना कामदारहरू बिहीवार आफ्नै प्रयासमा बाहिर निस्किएका थिए। उनीहरूले सुरुङभित्र करिब ४०० जना रहेको जानकारी दिएको र त्यस दिन सुरुङभित्रको काममा खटाइएका व्यक्तिहरूको सङ्ख्या पनि त्यति नै देखिएको आयोजनाले जनाएको छ।

सुरुङ प्रवेश गर्ने सबै पहुँच मार्ग बगाएका कारण भीरमा हेलिकप्टरमा झुन्डिएर मात्रै सुरुङभित्र जान सकिने अवस्था रहेको आयोजनाका सम्पर्क व्यक्ति अधिकारीले ले बीबीसी न्यूज नेपालीलाई जानकारी दिए।

कुल १२६ मेगावाट क्षमताको यो आयोजनामा कोरियाली, चिनियाँ र भारतीय सहित नेपाली कामदारहरू कार्यरत थिए। यो आयोजनामा १०० जना चिनियाँ कार्यरत रहेको र त्यसमध्ये केही मानिसहरूको उद्धार गरिएको उनले बताए। अधिकारीका अनुसार आयोजनामा कार्यरत ४० जना भारतीय र ८ जना कोरियालीहरू सम्पर्कविहीन छन्।

करिब ८० प्रतिशत निर्माण कार्य सकिएको यो आयोजनामा बाढीभन्दा अघिसम्म १,३५० जना कार्यरत रहेको दैनिक हाजिरीमा देखिएको उनले बताएका छन्। जसमध्ये हालसम्म २५४ जनाको जीवितै उद्धार गरिएको ऊर्जा मन्त्रालयका प्रवक्ताले बताएका छन्। उद्धार गरिएका अधिकांश कामदारहरू सुरुङ बाहिरै रहेको आयोजनाका सम्पर्क व्यक्ति गिरी अधिकारीले बताए।

सुरुङ बाहिर रहेका करिब २०० जना पनि सम्पर्कविहीन रहेको आयोजनाका अधिकारीले बताएका छन्। सम्पर्क बाहिर रहेका मध्ये केही कामदारहरू आयोजनाभन्दा माथिका गाउँतर्फ भागेर गएको र सम्पर्क हुन नसकेको हुनसक्ने सम्भावना समेत रहेको उनले बताए।

कुन आयोजनाबाट कति सम्पर्कविहीन

सुरुङको मुखबाट उद्धार गरिँदै

तस्बिर स्रोत, PM Secretariat

रसुवा र नुवाकोटका गरी नौ वटा आयोजनाबाट मानिसहरू सम्पर्कविहीन रहेको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका सल्लाहकार गणेश कार्कीले जानकारी दिए।

ऊर्जा मन्त्रालयका प्रवक्ता शाक्यका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन छन्। त्यसै गरी अपर अपर त्रिशूली ३ ए मा ४३ जना सम्पर्कविहीन भएकोमा ३० जना सुरुङभित्रै रहेको आशङ्का गरिएको छ।

यो आयोजनाबाट सम्पर्कविहीन रहेका ११ जना सम्पर्कमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

यो आयोजना मर्मतका लागि सुरुङभित्र रहेको उत्पादन गृहमा मानिसहरू पुगेका समयमा बाढी प्रवेश गरेको थियो।

"अन्डरग्राउन्ड पावर हाउस भित्र जाने केबल टनेलको पुरिएको मुख खोल्न नेपाली सेना र दक्ष जनशक्ति सहित उत्खनन कार्यमा आवश्यक उपकरणहरू प्रयोग गरी तीव्र रूपमा काम भइरहेको छ," प्राधिकरणले भनेको छ।

अपर त्रिशूली ३ बी बाट पनि १५८ सम्पर्कविहीन भएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ। यो आयोजनाको शिविर रहेको क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरिएको अवस्थामा रहेको विद्युत् प्राधिकरणले जनाएको छ।

"अत्यन्त कठिन र जोखिमपूर्ण परिस्थितिका बीच उद्धार तथा पहुँच स्थापना गर्ने कार्य निरन्तर अगाडि बढिरहेको छ। हेलिकप्टरबाट आयोजनास्थलको बारम्बार हवाई निरीक्षण गरी अवस्था मूल्याङ्कन भइरहेको छ। साथै, आवश्यक उपकरण एक्स्काभेटर समेत हेलिकप्टरमार्फत् घटनास्थलमा ढुवानी गरी काम सुरु गरिएको छ," प्राधिकरणले भनेको छ।

चिलिमे जलविद्युत् आयोजनाको उत्पादनगृह

तस्बिर स्रोत, BBC/AshokDahal/File

तस्बिरको क्याप्शन, चिलिमे जलविद्युत् आयोजनाको उत्पादनगृह सुरुङभित्र बनाइएको छ

ऊर्जा मन्त्रालयका अनुसार चिलिमे जलविद्युत् आयोजनामा कार्यरत ८ जना सम्पर्कविहीन छन्। उनीहरू सुुरुङभित्रै रहेको ठानिएको छ।

निजी ऊर्जा उत्पादकहरूको संस्था ईप्पानका अध्यक्ष मोहन डाँगीले लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेका ६२ जनामध्ये १८ जनाको जीवितै उद्धार गरिएको जानकारी दिए। उनका अनुसार उक्त आयोजनाबाट थप मानिसहरूको पनि जीवित उद्धार गर्ने आशा गरिएको छ।

भोटेकोशी-त्रिशूली क्षेत्रमा निर्माणाधीन र सञ्चालनमा रहेका ११ वटा जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवर्धकबाट निर्माणाधीन कुल ४७० मेगावाट क्षमताका १५ जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ।

त्यसै गरी माथिल्लो मैलुङ ए र मैलुङ खोला आयोजनाबाट ७-७ जना, लाङटाङ भोटेकोशीबाट दुई चिनियाँ सहित चार जना साथै मध्य त्रिशूलीबाट २ जना सम्पर्कविहीन छन्।

'हेलो सरकार सुरुङको मुखमा छौँ'

सुरुङको मुखमा रहेका व्यक्ति

तस्बिर स्रोत, PM Secretariat

प्रधानमन्त्री कार्यालय अन्तर्गतको हेलो सरकारमा सुरुङको मुखमा फसेका मानिसहरूले टेलिफोन गरेर गुहार मागेको कार्यालयका चन्द्रशेर रानाले बताएका छन्।

रानाका २१६ मेगावाटको यही आयोजनाबाट मानिसहरूले गुहार मागेका थिए।

"सुरुङको मुखमा छौँ। हात उठाइरहेका छौँ हेलिकप्टर पठाइदिनुपर्‍यो भनेर फोन आएपछि हामीले सम्बन्धित निकायमा खबर गरेका थियौँ। उनीहरूको उद्धार भयो भन्ने जानकारी छ," रानाले भने।

हेलो सरकार कक्षका अनुसार बुधवार ११ बजेबाट शुक्रवार बिहानसम्म ६,६०० भन्दा धेरै टेलिफोन हेलो सरकारमा आएका छन्।

"धेरैले आफन्तको खोजी गरिदिन भन्नुभएको छ। कसैले उद्धार र राहत चाहियो भनेर पनि सम्पर्क गर्नु भएको छ," रानाले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।