सर्बियामा नेतृत्वविहीन विद्यार्थी आन्दोलनले कसरी भुचिच सरकार ढाल्यो

खुशी मनाउँदै विद्यार्थी आन्दोलनका अगुवा
    • Author, पोल किर्बी
    • Role, युरोप डिजिटल सम्पादक
  • Published
  • पढ्ने समय: ४ मिनेट

भ्रष्टाचारको विरोध र सरकारी लापरबाहीको विरोधमा सुरु भएको विद्यार्थी आन्दोलन सर्बियामा अलेक्सान्डर भुचिचको पार्टीलाई पराजित गर्दै नयाँ सरकार बनाउने स्थितिमा पुगेको छ।

सर्बियन प्रोग्रेसिभ पार्टीको समर्थनमा १४ वर्षदेखि विभिन्न महत्त्वपूर्ण पदमा रहेका भुचिचलाई दिनहुँ सडकमा विरोधप्रदर्शन गरिरहेका विद्यार्थीहरूले दुई वर्ष लामो आन्दोलनपछि भएको निर्वाचनमार्फत् सत्ताबाट विस्थापित गर्ने टुङ्गो लागेको हो।

राष्ट्रपति भुचिचको पार्टीको पराजयपछि विद्यार्थीहरूले राजधानी बेल्ग्रेडदेखि देशका कैयौँ महत्त्वपूर्ण सहरहरूमा खुसीको उत्सव मनाए। सामाजिक सञ्जालका पोस्टहरूमा उनीहरूले लेखे, "सर्बिया मुक्त भएको छ।"

सर्बियाको राष्ट्रिय संसद् भवनअगाडि भुचिचका समर्थकले बनाएको शिविरको अन्त्य यो आन्दोलनको सबैभन्दा ठूलो साङ्केतिक सफलता थियो।

"भुचिचले छोड्दै छन्!" यो नारासहित निस्किएको जुलुसले फलामे तारबार भत्काएको थियो।

विद्यार्थीहरूले सर्बियामा कसरी परिवर्तन ल्याए

'स्डूडन्ट लिस्ट-स्टूडन्ट विन' भनेर चिनिने विद्यार्थी आन्दोलनको नेतृत्व कुनै व्यक्तिविशेषले गरेको थिएन।

आन्दोलनकारीहरूको राजनीतिक पृष्ठभूमि पनि थिएन। तर "विद्यार्थीहरूले जित्दै छन्" भन्ने नाराले सर्बियाली समाजमा सरकारविरोधी मतदाताहरूलाई आकर्षित गर्‍यो।

विद्यार्थीहरूले सर्बियाका २५० वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाए तर तीमध्ये कोही पनि विद्यार्थी थिएनन्।

मुख्य उम्मेदवार रहेका मुटुरोग विशेषज्ञ ईलिय सर्दानभिचले गत साता बेल्ग्रेडमा आयोजित र्‍यालीमा इतिहास पुनर्लेखन हुन लागेको उद्घोष गरे। उनले भने, "यो ऊर्जा रोकिने छैन।"

"अघिल्लो सत्ताले हामीबाट खोसेका सभ्य समाजका विशिष्ट मूल्यहरू हामी आफ्ना नागरिकहरूलाई दिलाउने छौँ," उनले बीबीसीसँग भने।

सन् २०२४ को नोभेम्बर १ मा सर्बियाको दोस्रो व्यस्त नोभी साद रेल स्टेशनमा कङ्क्रिटको छाना भत्किएर १६ जनाको ज्यान गएपछि देशमा आन्दोलन सुरु भएको थियो।

उक्त दुःखद घटनालाई देशमा रहेको व्यापक घटनको एउटा बिम्बका रूपमा हेरियो। यसको पुनर्निर्माणका क्रममा भएको लापरबाहीलाई आलोचकहरूले परियोजनामा प्रत्यक्ष संलग्न राष्ट्रपति भुचिचसँग जोडेर हेरे।

"यो छाना खसेको घटनाले धैर्यको सीमा भत्कियो," थिङ्क ट्याङ्क 'हेन्री ज्याक्सन सोसाइटी'की हेलेना इभानोभ भन्छिन्।

उनका अनुसार यो भावनात्मक क्षणले देशव्यापी र्‍याली र विरोध अभियानलाई जन्म दियो। यसले सर्बियालीहरूको मन र मस्तिष्कलाई यसअघि कुनै पनि विपक्षी दलले छुन नसकेको गहिराइबाट छोयो।

प्रदर्शनदेखि भुचिचमाथि चुनौतीसम्म

भुचिच टाउको कन्याउँदै
तस्बिरको क्याप्शन, अलेक्सान्डर भुचिचले आफ्नो पराजय स्वीकार गरेका छन्

विश्वविद्यालय परिसर र सहरका सडकमा न्यायको माग गर्दै विद्यार्थीहरूले सुरु गरेको विरोधप्रदर्शनले केही समयपछि देशव्यापी आन्दोलनको स्वरूप लियो। यो आन्दोलन सबैजसो स्थानीय तहमा विस्तार भयो। यसमा किसान, कलाकार र न्यायाधीशसहित सर्बियाली समाजका धेरै क्षेत्रका मानिसहरू सहभागी भए।

भुचिचको पार्टी स्पष्ट दबावमा परेको देखियो। सन् २०२५ को ज्यानुअरीमा भुचिचका प्रधानमन्त्रीले "तनाव कम गर्न" राजीनामा दिए।

मार्च २०२५ मा बेल्ग्रेडमा सर्बियाको इतिहासकै सबैभन्दा ठूलो सरकारविरोधी प्रदर्शन भयो। नेतृत्वविहीन आन्दोलन अझ बलियो बन्दै गएपछि विद्यार्थीहरू पनि सङ्गठित भए।

गत महिना भुचिचले मध्यावधि निर्वाचन घोषणा गर्दा उनीहरू तयार भइसकेका थिए। "उनीहरूले त्यो भावनात्मक ऊर्जालाई व्यवस्थित सङ्गठनमा रूपान्तरण गर्न सफल भए। मतदान केन्द्रमा निष्पक्षता कसरी जोगाउने भन्ने पनि मानिसहरूले सिके," हेलेना इभानोभ भन्छिन्।

अमेरिकास्थित जर्मन मार्शल फन्डको बाल्कन कार्यक्रमकी प्रमुख गोर्डाना डेलिच आइतवारको मतदान जनमतसङ्ग्रहसरह रहेको बताउँछिन्। "सन्देश स्पष्ट थियो - कानुनी शासन चाहिन्छ, कानुन बनाएर शासन होइन," उनी भन्छिन्।

सुरुमा भुचिचले प्रदर्शनकारीहरूको प्रशंसा गर्दै उनीहरूको "मनसाय असल" भएको टिप्पणी गरेका थिए। तर निर्वाचनअघि उनले सर्बियालाई "पतन गराउन खोजेको" आरोप उनीहरूमाथि लगाए।

अब सर्बिया कसले चलाउँछ

खुसी मनाउँदै ईलिय सर्दानभिच र विद्यार्थीहरू
तस्बिरको क्याप्शन, 'स्टूडन्ट लिस्ट'ले प्राध्यापक ईलिय सर्दानभिचलाई शीर्ष स्थानमा राखेर उम्मेदवार बनाएको थियो तर उनलाई सम्भावित प्रधानमन्त्रीका रूपमा हेरिएको छैन

एउटा कुरा स्पष्ट छ - देशको नेतृत्व गर्ने पदमा युवाविद्यार्थी हुने छैनन्। किनभने उनीहरू निर्वाचनमा उम्मेदवार बनेकै थिएनन्।

कम अनुभव भएका उम्मेदवारहरूको सूचीलाई मतदाताले सम्भवतः समर्थन नगर्ने ठानेर सोचविचार गरेरै उक्त निर्णय गरिएको थियो।

यद्यपि उनीहरूका प्रमुख उम्मेदवार मुटुरोग विशेषज्ञ प्राध्यापक ईलिय सर्दानभिचलाई सम्भावित प्रधानमन्त्रीका रूपमा त्यति हेरिएको छैन।

सम्भावित प्रधानमन्त्रीका रूपमा हेर्न सकिने व्यक्ति निकै कम छन्।

एउटा स्वतन्त्र सर्वेक्षण समूहका अनुसार विद्यार्थीहरूको उम्मेदवार सूचीमा रहेका १४० जना सांसद निर्वाचित भएका छन्। त्यसमा भूतपूर्व बास्केटबल खेलाडी, चर्चित अभिनेता, ओपरा गायक, सर्बियाको राष्ट्रिय ब्याङ्कका भूतपूर्व गभर्नर सहित प्राध्यापकहरू पनि छन्।

पूर्वगभर्नर देयान शोस्किचलाई प्रधानमन्त्रीको बलियो दाबेदारका रूपमा हेरिएको छ। अर्थतन्त्रमा गर्न चाहेका सुधारबारे उनले सार्वजनिक रूपमा बोलेका छन्। सरकार समर्थक सञ्चारमाध्यमहरूले उनको व्यापक आलोचना पनि गरेका छन्।

उनीहरूको योजना के छ

निर्वाचित सांसदहरूको जिम्मेवारी खास गरी घोषणापत्रकै कार्यान्वयन गर्नु हुने छ।

विद्यार्थीहरूकै शब्दमा भन्दा उनीहरू यस्ता व्यक्तिहरू खोजिरहेका थिए जो संस्थाहरूमा प्रवेश गरेर "जिम्मेवारीपूर्वक आफ्नो काम गरून् र आफूहरू त्यहाँ किन छन् भन्ने नबिर्सून्।"

विद्यार्थी आन्दोलनले प्रहरीको विशेष एकाइ गठन गरेर भ्रष्टाचार अन्त्य गर्ने, नियम उल्लङ्घन गरेर प्रदर्शन दबाउने आन्तरिक मामिला मन्त्रालयका अधिकारीहरूलाई हटाउने, सञ्चारमाध्यमलाई राजनीतिक नियन्त्रणबाट मुक्त गर्ने र सार्वजनिक संस्थानको नेतृत्वमा पार्टीले गर्ने भर्ती रोक्ने जस्ता एघारबुँदे सुधारका कार्यक्रम अघि सारेको छ।

भुचिच र उनको दलले भ्रष्टाचारमा संलग्न भएको तथा सञ्चारमाध्यमलाई प्रभावित पार्न खोजेको आरोप अस्वीकार गर्दै आएका छन्।

विद्यार्थी नभएको सरकारबाट प्रतिबद्धता पूरा होला त?

विद्यार्थीहरू निर्वाचित नभए पनि सर्बियाली जनतासमक्ष वाचा गर्ने विद्यार्थीहरू नै हुन् र आफ्नो घोषणापत्र कार्यान्वयन गर्न उनीहरूमाथि दबाव पनि हुन्छ।

विद्यार्थीहरूका अनुसार आफ्नो आन्दोलनको प्रतिनिधित्व गर्न छानिएका सर्बियाली सर्वसाधारण नागरिकहरूलाई "विगत एक वर्षदेखि सडकमा जारी सङ्घर्षको एक हिस्सा संस्थाहरूभित्र पुर्‍याउने जिम्मा दिइएको छ।"

चुनावी परिणामपछि भुचिचले आफ्ना समर्थकहरूसँग विद्यार्थीहरूले सर्बियाको दुई वर्ष नष्ट गरेको बताए।

उनीहरू "उनीहरूले सोचेभन्दा छिटो पराजित हुने" भुचिच भनाइ छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।