त्रिशूली ३ए हाइड्रोको सुरुङमा फसेका मानिसहरू खोज्न कस्तो प्रयास हुँदै छ

    • Author, श्रीराम न्यौपाने
    • Role, उद्धारकार्यमा संलग्न सुरुङ विज्ञ
  • Published
  • पढ्ने समय: ३ मिनेट

त्रिशूली ३एको सुरुङमा फसेकाहरूको उद्धारमा नेपाली सेना, विद्युत् प्राधिकरणसहितका उद्धारकर्मीहरूसँगै लागिपरेका इन्जिनिअर तथा सुरुङविज्ञ श्रीराम न्यौपानेले मङ्गलवार दिउँसो बीबीसी न्यूज नेपालीसँग कुरा गरेका छन्।

उनी विशेषज्ञका रूपमा त्यहाँ जारी उद्धारको प्रयासमा सहभागी भएका छन्।

त्यहाँको अवस्थाबारे उनले बीबीसी न्यूज नेपालीका सञ्जय ढकाललाई बताएको विवरण यहाँ प्रस्तुत गरिएको छ।

नदीले थुपारेको लेदो र चट्टानका कारण चुनौती

अब अहिले यहाँ सबभन्दा ठूलो समस्या के छ भने त्रिशूलीले बगाएर ल्याएको डेब्री (ढुङ्गामाटो र लेदो) छेउतिर ३० मिटर र सुरुङको मुखतिर २० देखि ३० मिटर थुप्रो लागेको छ।

त्यस्तो थुप्रोमा घरजत्रा ठूला ५ मिटर लामा, ४ मिटर चौडा अनि ३ मिटर अग्लासम्मका चट्टान छन्।

अहिलेसम्म हामीले चारवटा त्यस्ता चट्टानलाई विस्फोट गरेर फोरिसक्यौँ र अहिले पाँचौँ चट्टान फोर्दै छौँ। लेदो र गेग्रानलाई फाल्दै छौँ।

सुरुङको मुखसम्म हामीले पहिले नै खुला गरेका त छौँ तर त्यहाँसम्म मशीन पुर्‍याएर भित्रको लेदो सोहोर्नका निम्ति यी चट्टान नपन्छाईकन हुँदैन।

त्यसैले अहिले सुरुङको मुखको अगाडिपट्टिको भागमा हामी पन्छाउँदै छौँ। आज बेलुकीसम्म हामी सुरुङको मुखभित्रको (लेदो) निकाल्न सुरु गर्छौँ।

पहिलो विकल्पको रूपमा हामीले सुरुङको २४ मिटर माथिको भागबाट त्यसको क्राउन (माथिल्लो भाग) फोरेर भित्र छिर्ने प्रयास गरेका थियौँ। तर त्यो २४ मिटर भित्रपनि पूरै लेदोले भरिएको रहेछ।

त्यसैले फेरि सुरुङको मुखबाटै पस्ने तयारी गरिसकेका छौँ।

सुरुङको मुख काठका मुढाले थुनेका थिए

अहिलेसम्म हेर्दा सुरुङको मुखमा लेदो मात्रै छ।

त्यहाँ रूखका मुढा र ठुटाहरूले अवरोध गरेको थियो, त्यसलाई हटाइसकिएको छ।

मुखमा काठले अवरोध गरेको देखिँदा भित्र चाहिँ ठूलाठूला चट्टान पसेको छैन कि भनेर अनुमान गर्न सकिन्छ। लेदो र गेग्रान मात्रै होला भन्ने ठानेका छौँ। तर त्यसले पूरै ढाकेको छ।

मुखबाट लेदो पन्छाउँदै १६० मिटर भित्र पुगेपछि पावरहाउस पुगिन्छ।

अहिलेसम्मको अवस्था, प्राविधिक 'ड्रइङ'हरू हेर्दा पावरहाउसको माथिल्लो भागमा गएर सुरक्षित रूपमा मानिसहरू बस्न सक्ने अवस्था छ।

सुरुङको १६० मिटरको मार्गमै हुनेलाई सुरक्षित रहन नसकिने जस्तो देखिन्छ तर मानिसहरूले सुरक्षित स्थान खोज्दै जाने स्थिति भएको थियो भने पावरहाउसको माथिल्लो भागमा क्राउनभन्दा माथि सुरक्षित बस्ने ठाउँ छ। त्यहाँ गएर बसेको अवस्था हुन सक्छ।

यहाँभित्र ४०-४५ जना रहेको हुन सक्ने अनुमान छ।

(न्यौपाने नागढुङ्गा सुरुङमार्ग आयोजनाका पूर्वप्रमुख तथा तनहुँबाट निर्वाचित रास्वपा सांसद पनि हुन्।)

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।