के तपाईँले अनुहार हेरेर शरीरमा आइरनको मात्रा कम भएको थाहा पाउन सक्नुहुन्छ?

लुसी
तस्बिरको क्याप्शन, लुसीले आफ्नो शरिरमा फेरटिनको मात्रा कम हुँदा थकाइ र कपाल झर्नुको साथसाथै छाला र कपालमा पनि लक्षणहरू देखिएको बताइन्
    • Author, जारा सलारिया
  • Published
  • पढ्ने समय: ५ मिनेट

"के तपाईँको पनि फेरटिन अनुहार छ?" एक युवतीले टिकटकमा आफ्नो डार्क सर्कल(आँखा गाडिएर वरपर कालो देखिनु), फुस्रो अनुहार र पातलो कपाल देखाउँदै सोधिन्। उनले पहिला र अहिलेको फोटो पनि राखेकी थिइन्। यी कन्टेन्ट क्रिएटरले आफ्नो आइरनको मात्रालाई यी कुराहरूसँग जोडेर देखाएकी थिइन्।

यो टिकटक र इन्स्टाग्राममा देखिएका धेरै भिडिओ‌मध्ये एक हो जसमा मानिसहरूले शरीरमा आइरन जम्मा गर्ने प्रोटीन अर्थात् फेरटिन कम हुँदा अनुहारमा त्यसको सङ्केत देखिने दाबी गर्दै पोस्ट गरेका छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताले चमक नभएको वा फुस्रो देखिने छाला, आँखा वरिपरि देखिने डार्क सर्कल, सुक्ख वा फुटेको ओठ, कपाल पातलिँदै जानु वा नङ कमजोर हुनुजस्ता सङ्केत देखिएको बताएका छन्। त्यस्तै कतिपयले भने देखिने गरी भएको फरक भन्दै आफ्नो अनुहार मात्रैको तस्बिर पनि राखेका छन्।

"फेरटिन फेस" भन्ने शब्दावली अहिले सामाजिक सञ्जालभरि फैलिएको छ जसलाई लाखौँ मानिसहरूले हेरिरहेका छन्।

तर चिकित्सकहरू भने कस्तो देखिन्छ भन्ने कुराले मात्रै आइरनको कमी भनेर यकिन गर्न नसकिने बताउँछन्।

"फेरटिन अनुहार चिकित्सकीय निदान होइन," वेस्ट मिडल्यान्डस्‌मा रहेकी जेनेरल फिजिसिअन डाक्टर अजिजा सिसेले भनिन्। "तर, केही भइरहेको छ भन्ने थाहा पाउन त्यसले सङ्केत चाहिँ दिन सक्छ।"

उनले बीबीसीसँग बोल्दै आइरन कम हुँदा चमक हराएको छाला, पातलिँदै गएको कपाल वा टुक्रिने नङ हुन सक्छ तर अन्य कुनै शारीरिक अवस्थाको सङ्केत पनि हुन सक्छ भनिन्।

फेरटिन के हो?

तपाईँको फेरटिनको मात्राले तपाईँको शरीरमा आइरनको भण्डारण कति राम्रो छ भन्ने देखाउँछ। त्यस्तै हेमोग्लोबिन भनेको तपाईँको रक्तकोषमा भएको प्रोटीन हो जसले अक्सिजन राख्छ। जब हेमोग्लोबिन कम हुन्छ रगतले त्यति धेरै अक्सिजन बोक्न सक्दैन जुन अवस्थालाई एनिमिया भनिन्छ।

तर त्यस्तो अवस्था आउनुभन्दा अगाडि नै तपाईँको आइरनको भण्डारण घट्न थाल्न सक्छ। त्यसको अर्थ एनिमिया हुनुभन्दा अगाडि नै मानिसमा आइरनको मात्रा कम हुन सक्छ र लक्षणहरू देखा पर्न सक्छ।

"तपाईँको आइरन भण्डारण नहुन सक्छ तर हेमोग्लोबिन भने व्यवस्थित नै हुन सक्छ। त्यो भनेको नमिल्दो कुरा हो," कन्सलटेन्ट हेमाटोलोजिस्ट डाक्टर ड्रिउ प्रोभनले भने।

डाक्टर सू पेभोर्ड पनि कन्सल्टेन्ट हेमाटोलोजिस्ट हुन्। उनले महिलामा प्राय: आइरनको मात्रा घट्नु धेरै देखिएको र धेरैजसो निदान पनि नहुने बताए।

ब्रिटिश सोसाइटी अफ ग्यास्ट्रोइन्टेरोलोजीको यूके निर्देशिकाका अनुसार प्रति लिटर १५ माइक्रोग्रामभन्दा कम फेरटिनले आइरनको भण्डारण नभएको जनाउँछ भने ३० भन्दा कम हुनुले कम आइरन भएको जनाउँछ।

लुसी एम, ३२, ले आफ्नो इन्स्टाग्राम र टिकटकमा कपाल झरेको र "फेरटिन फेस" भनेर पोस्ट गरिन्। उनले आफ्नो अनुहारमा आएको परिवर्तन आफूले याद गरेको भन्दै लेखिन्छ।

सन् २०२१ मा उनमा मुटु ढुकढुक हुने, थकान र कपाल झर्ने भयो। उनको रगतको परीक्षण गर्दा सामान्य देखिए पनि पछि उनमा एङ्जाइटी डिसअर्डर भएको देखियो। तर पछि गरिएको परीक्षणमा भने फेरटिन जम्मा प्रति लिटर १२ माइक्रोग्राम भएको पाइयो।

लुसीले आफू त्यतिबेला "खैरो" देखिएको र कपाल पनि सुक्खा र टुक्रिने भएको बताए।

उनले बीबीसीलाई फेरटिन कम हुँदा र पछि ठिक भइसकेपछिको फोटो पठाएकी छन्। उनले त्यसमा आफू कस्तो देखिएको भन्ने "रात र दिन" जस्तै फरक देखिएको बताइन्।

आइरन कम हुँदा के त्यसले तपाईँको अनुहार परिवर्तन हुन्छ?

"फेरटिन फेस"बारेको भिडिओले प्राय: दर्शकहरूलाई आफूमा आएको परिवर्तन डार्क सर्कल र फुस्रो अनुहारदेखि सुक्खा ओठ, पातलो कपाल र टुक्रिएको नङजस्ता शारीरिक सङ्केतहरू हेर्न र तुलना गर्न प्रेरित गर्छ।

"तपाईँ नराम्रो होइन, फेरटिन कम हो", एक क्रिएटरले क्यामरामा देखाउँदै भने।

प्रोभनले कसैको अनुहार हेरेर फेरटिन कम भएको पत्ता लगाउन "असम्भव" भएको बताए।

उनका अनुसार एनिमिया भएका मानिसहरू पहेँला जस्ता देखिन सक्छन् र थकित हुँदा उनीहरूको आँखा वरिपरि कालो भएर डार्क सर्कल देखिन पनि सक्छ तर देखिने सङ्केतहरू "सापेक्षित र भर पर्न नसकिने" हुन्छन्।

कालो छाला भएका मानिसमा छालाको रङ्गमा आएको परिवर्तन यकिन गर्न कठिन हुने सिसे बताउँछिन्।

सचेतना कि गलत सूचना?

चिकित्सकहरूका लागि बिरामी कस्तो देखिन्छ भन्दा पनि लक्षणहरू र व्यक्तिले कस्तो महसुस गर्छ भन्ने कुरा बढी उपयोगी हुन्छ।

रगतको परीक्षणले केवल आइरनको कमी भएको मात्रै पुष्टि नगरी त्यसले कारण पत्ता लगाउन र उपचार कसरी गर्ने भनेर पनि मद्दत गर्ने प्रोभन र सिसे बताउँछन्।

दुवैले उपचारले कारणको पनि सम्बोधन गर्नुपर्ने बताए। महिनावारीमा धेरै रगत बग्ने, आइरन कम भएका खानेकुरा खाने, ग्यास्ट्रोइन्टेस्टाइनल रक्तस्राव र आइरन सोस्न समस्या हुँदा त्यसले पनि भूमिका खेल्ने उनीहरूले बताए।

आइरनको कमीको उपचार धेरैजसो आइरन चक्की खाएर गरिन्छ। पेभोर्डले खाली पेटमा त्यो पनि बिहानको समयमा आइरनको चक्की खानु सबैभन्दा प्रभावकारी हुने बताए। त्यो समय वरपर चिया वा कफी नखान पनि चिकित्सक सुझाउँछन् किनभने त्यसले आइरन सोस्न रोक्न सक्छ।

मासु, गेडागुडी, दाल, हरियो सातपातहरू जस्ता खानेकुराबाट पनि प्राकृतिक रूपमा आइरन पाउन सकिन्छ।

पत्ता नलगाई आइरन चक्की खाँदा त्यसले असर गर्न सक्छ। वा आफैँले उपचार गर्दा त्यसले शरीरमा रहेको खास समस्या पत्ता लगाउन ढिला हुन सक्छ।

लुसीले सामाजिक सञ्जालका कारण महिलाहरूलाई लक्षणहरूबारे गम्भीर भएर सोच्न मद्दत गरेको र केहीलाई भने नराम्रो वा त्यसबारे प्रश्न सोध्ने आत्मविश्वास दिन्छ भनिन्।

"धेरै महिलाहरू छन् जसले, 'मलाई पनि यस्तै भएको हो," भनिरहेका छन् भन्दै उनले आफू चिकित्सक नभए पनि आफ्नो अनुभवको आधारमा सामग्री बनाइरहेको बताएकी छन्।

उनका लागि यसो गर्दा महिलालाई सूचना दिएर आफ्ना लागि बोल्न सक्ने बनाउन सशक्तिकरण गर्दै आएजस्तो भएको छ।

सिसेले सामाजिक सञ्जाललाई "दुवै तर्फ धार भएको हतियार" भनेकी छन्। यसले मानिसहरूलाई मद्दत खोज्न मद्दत पनि गर्न सक्छ भने सँगै सानो भिडियो हेर्दा त्यसले आफ्नो गलत निदान गर्न सक्ने पनि बताएकी छन्।

लुसीका लागि भने आफू कस्तो देखिन्छु भनेर आफैँलाई निदान गर्ने कुरा उपयोगी नभई मानिसले कति बेला नराम्रो महसुस गर्छ र कतिबेला प्रश्नहरू गर्ने भन्ने थाहा हुन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।