रसुवा बाढीपछि हेलिकप्टर उद्धारमा नेपालमा हालसम्मकै 'ठूलो अपरेशन', पाइलटहरू कसरी गर्दै छन् काम?

तस्बिर स्रोत, Reuters
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
भोटेकोशीमा अचानक आएको बाढीले तल्लोतटीय भेगमा एकपछि अर्को विनाश सिर्जना गर्दा गत साताको बुधवार बिहानै काठमाण्डूबाट नेपाली सेनाको हेलिकप्टर उडिसकेको थियो।
रसुवा विपद्को एक साता पुगेकै दिन बुधवार सदनमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले घटनालगत्तै १० भदौको बिहान ९:४५ मै पहिलो उद्धार उडानका रूपमा नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको बताए।
बाढीको मार खेपेका क्षेत्रमा उत्पन्न अन्योलबीच जताततै हाहाकार र चित्कार छाइरहँदा सरकारलाई बाढीले पुर्याएको "क्षतिको स्पष्ट आकार सुरुमा हेलिकप्टरबाटै थाहा भएको" नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत बताउँछन्।
"पहिलो दिन तुरुन्तै हाम्रा चार वटा हेलिकप्टर उडे। एउटा एमआई १७ ले २० जना चिकित्सक टोली बोकेर गएर ११:३० मा मेडिकल बेस नै तयार गरेको थियो," प्रवक्ता बस्नेतले बीबीसीसँग भने। "हवाई बेस नै खडा गरेर त्यति सानो एअर स्पेसमा यति ठूलो उद्धार यसअघि नेपालमा भएको थिएन।"
मङ्गलवार एक पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री सुधन गुरुङले त्यसलाई व्यापक आकारको 'अपरेशन' बताउँदै त्यो "सम्भवतः नेपालको हालसम्मकै सबैभन्दा ठूलो" हुनुपर्ने भनेका छन्।
त्यसबीचका एक सातामा सेना र निजी क्षेत्रका हेलिकप्टरका सयौँ उडानमार्फत् चार हजारभन्दा धेरैको हवाई उद्धार भएको बताइएको छ। यसबीचमा सेनाले आफ्नो कमान्डमा मात्रै ७१७ उडानहरू गरेको जनाएको छ।
विभिन्न समयमा निजी क्षेत्रका करिब दुई दर्जन र सेनाका सात वटा हेलिकप्टरहरू उद्धारमा सहभागी भएको बताइएको छ।
अवस्था भयावह, तर हेलिकप्टरले दिएको आशा

तस्बिर स्रोत, Reuters
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी आएको दिन मध्याह्न नहुँदै धेरैतिर स्थल बाटो "पूर्ण विच्छेद" भइसकेको थियो।
"त्यसपछि सबैलाई हेलिकप्टरको मात्रै आशा थियो। केही वैकल्पिक सडक खोल्ने कामबाहेक अझै पनि जताततै अवरोध उस्तै नै छ," परियारले बीबीसीसँग भने।
"सुरुको दिन त धेरैतिर हेलिकप्टर टेक्न मिल्ने अवस्था पनि थिएन। तर पनि धेरैलाई त्यसले आशा दिलायो। अलपत्र परिहालिँदैन भन्ने भयो।"
उद्धार प्रणालीमा एकद्वार कायम गर्न र द्विविधा नहोस् भनेर नेपाली सेनाको कमान्डमा हेलिकप्टरहरू परिचालन गर्ने निर्णय गरेको थियो।
"नुवाकोटको ब्यारेकलाई केन्द्र बनाएर हामी आसपास सबैतिर बारम्बार उड्यौँ," कैलास हेलिकप्टरका क्याप्टेन मणिराज लामाले बीबीसीसँग भने।
"तलपट्टि भयावह अवस्था थियो। हेलिकप्टरहरूकै लागि पनि असामान्य परिस्थिति थियो। सानो उपत्यकाभित्र एकै पटक धेरै हेलिकप्टरहरू आकाशमा थिए। आवश्यकताअनुसार कहिले एक्लैले पनि उडायौँ, कहिले दुई जना पनि हुन्थ्यौँ।"

तस्बिर स्रोत, Reuters
सुरुवाती दिनमा हेलिकप्टरहरू उद्धार अनि सुरक्षाकर्मी तथा उद्धारकर्ताहरू पुर्याउनमा केन्द्रित बने तापनि यति खेर ती शव उठाउनेदेखि राहत पुर्याउने काममा संलग्न छन्।
पछिल्ला दिनमा शवहरू गल्न थालेपछि त्यसले पार्ने स्वास्थ्य जोखिमबाट बच्न भनेर ती निकाल्ने काम 'लङलाइन' अर्थात् हेलिकप्टरसँग जोडिने डोरीमा झुन्ड्याएर गर्न थालिएको पाइलटहरू बताउँछन्।
तर लामाले भने सुरुवाती दिनमै एकसाथ पीडितहरू धेरै हुने अवस्थाबीच सबैभन्दा बढ्ता जोखिममा हुनेको प्राथमिकीकरण सबैभन्दा कठिन भएको बताए। "मानवीय संवेदनाप्रति उच्च संवेदनशील भएर काम गर्नुपर्ने निकै गाह्रो अवस्था छ।"
सिम्रिक एअरका क्याप्टेन विमल शर्मा आफूले हेलिकप्टर उद्धारका काममा यति धेरै व्यस्त आकाश यसअघि नदेखेको बताउँछन्।
"सगरमाथामा आरोहण याम चलिरहँदा पनि यस्तै व्यस्त हुने भए पनि त्यहाँ कहाँ पुग्ने, के गर्ने भन्ने स्पष्ट लक्ष्य हुन्छ। यहाँ त हामीलाई दिइएको स्थानको 'कोअर्डिनेट' नै पनि ठ्याक्कै मिलिरहेको हुँदैन। यताउता खोज्नुपर्छ," शर्मा भन्छन्। "कतिपय स्थानमा अवतरण गर्न भनिएका स्थानमा त्यसो गर्न मिल्ने ठाउँ नै थिएन।"
साँघुरो ठाउँमा 'एअर ट्राफिक'
बीबीसीसँग कुरा गरेका पाइलटहरू विमल शर्मा र मणिराज लामा दुवै कैयौँ पटक चीनतर्फको सीमादेखि त्रिशूलीबिचमा एकसाथ एक दर्जनभन्दा धेरै हेलिकप्टरहरू भएको परिवेशमा उडान गरेको सुनाउँछन्।
"त्यस साँघुरो खोँच भएको उपत्यकाका लागि त्यो सङ्ख्या धेरै नै हो," विमल शर्मा भन्छन्। "त्यसैले हामी पाइलटहरूले आपसमा थाहा हुने गरी केही नियम बनाएका हुन्छौँ। जस्तो, उपत्यकामा उड्दा बायाँ च्यापेर उड्ने, आफ्नो अवस्थिति आसपासमा उडिरहेका अन्यलाई थाहा दिने, सीधा सम्पर्क गर्दै निश्चित दूरी र उचाइको ग्याप कायम राख्ने।"
नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुल बाढीप्रभावित भेगमा छुट्टै विमानस्थल नहुँदा हेलिकप्टरहरू काठमाण्डूस्थित त्रिभुवन विमानस्थलसँगको सम्पर्कमा पुगेर त्यहाँ 'पाइलट-पाइलटबीचको समन्वयमा सञ्चार सम्पर्कमा रहने गरी हुने गरी' उडानहरू गरिएको बताउँछन्।
"त्यस 'अन्कन्ट्रोल्ड' हवाई आकाशमा पाइलटहरू नै जिम्मेवार भएर भुईँ हेर्दै, भिजिबलिटी हेर्दै र आपसका दूरी कायम गर्दै काम गर्नुभएको छ। तर त्यस्तोमा यतिखेर बेलाबखत ड्रोनहरू चुनौतीका रूपमा देखिने गरेका छन्," भुल भन्छन्।
"यतिखेर हेलिकप्टरलाई त्यहाँ सबैभन्दा चुनौती तिनै ड्रोनबाट छ। भयावह अवस्था त होइन तर तिनलाई व्यवस्थापन गर्न आवश्यक देखिन्छ।"

तस्बिर स्रोत, Reuters
निकै छिटोछिटो मौसम फेरिइरहेको त्यहाँको अवस्थामा "जति नै समन्वय गर्दा पनि जोखिम रहने" उनीहरू बताउँछन्।
कैलास हेलिकप्टरका लामा समन्वयमा हुने चुनौतीका कारण हिमालतर्फ हुने उडानका तुलनामा अहिलेको उडानमा उचाइ कम भए पनि यो "निकै चुनौतीपूर्ण काम भएको" बताउँछन्।
"तर पनि सबै सम्पर्क टुटेका बेला हेलिकप्टर आकाशमा उडिरहँदा मानिसहरूलाई उद्धारको काम चलिरहेको छ, ढिलो-चाँडो भए पनि मलाई पनि लिन आउँछ भनेर मनोवैज्ञानिक ढाडस दिँदो रहेछ," लामाले अनुभव सुनाए।
"त्यस्तो आशले पनि यस्तो विपद्मा मानिसहरूलाई जोगाउँछ। त्यसैले नेपालजस्तो जटिल भौगोलिक परिवेश भएको ठाउँका लागि हेलिकप्टर वरदान नै हुन्।"
सैन्य प्रवक्ता राजाराम बस्नेतले रसुवा-नुवाकोटजस्तो साँघुरो हवाई आकाश र जटिल भूगोल भएका ठाउँमा 'हलुका हेलिकप्टरहरू' निकै प्रभावकारी बनेको बताउँछन्।
"नदी सतहमा हिलोको दलदल रहेको अवस्थामा ठाउँ हेर्दै थोरै माथिबाट हाम फाल्दै उद्धारका काम भए।"
अनुभवी पाइलटका भूमिका

तस्बिर स्रोत, Reuters
नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुल रसुवामा पाइलटहरू स्वयंले अनुशासन कायम गर्दै "उच्च हवाई दक्षता र जिम्मेवारी प्रदर्शन गरेको" बताउँछन्।
पर्यटकीय र पर्वतारोहणका याममा काठमाण्डू, लुक्लाजस्ता विमानस्थलसहितबाट गरेर दैनिक १५०-२०० वटा हेलिकप्टर उडान हुने गरेको उनी बताउँछन्।
"ती चार्टर्ड फ्लाइट हुन्। तर यस्ता विपद्का बेला उद्धारमा खटिनका लागि उडान सुरक्षामा असर नपर्ने गरी मानवीयता पहिलो भन्दै हाम्रा नियमलाई केही खुकुलो बनाएका हुन्छौँ," भुल भन्छन्।
"त्यही भएर पनि आपत्कालीन अवस्थामा नेपालमा यो सबैभन्दा बढ्ता प्रभावकारी बनिरहेको छ। त्यसो हुनुमा यहाँको भूगोलसँग परिचित अनुभवी पाइलटहरू हुनु पनि एउटा महत्त्वपूर्ण पाटो हो। त्यसका लागि मापदण्ड पनि अन्य देशहरूका भन्दा नेपालमा कडा छन्।"
दुई वर्षअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्मा उद्धार तथा राहतका लागि हेलिकप्टरहरूको 'व्यवस्थापन गर्न' सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो।
तर त्यस बेला विज्ञहरूले यस्तो कार्यका लागि सरकारले हेलिकप्टर किन्नुभन्दा निजी क्षेत्रका हेलिकप्टरहरू परिचालन गर्नु उपयुक्त हुने बताएका थिए।
विमान सेवा सञ्चालक सङ्घ, नेपालका वरिष्ठ उपाध्यक्ष निमानुरु शेर्पाले नेपालमा हेलिकप्टर सञ्चालनमा निजी क्षेत्रको लगानी हुँदा त्यसले अर्थतन्त्रलाई आत्मविश्वास दिएको बताउँछन्।
"तर अझै नेपालमा हेलिकप्टर पार्किङ र मर्मत सम्भारका लागि राम्रो व्यवस्था छैन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





















