कृष्णभीरमा भासिएको सडक बन्न समय लाग्ने चिन्ता, काठमाण्डूमा कस्तो प्रभाव पर्ला?

तस्बिर स्रोत, Ashok Devkota
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ३ मिनेट
पृथ्वी राजमार्गको कृष्णभीरनजिक करिब १०० मिटर सडक पूर्ण रूपमा भासिएपछि राजधानी काठमाण्डूमा पूर्ववत् तरिकाबाट खाना पकाउने ग्यासको आपूर्तिमा समस्या उत्पन्न भएको अधिकारीहरूले बताएका छन्।
सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालले "तत्कालका लागि तलबाट आड दिएर सडक उठाउन सक्ने अवस्था नरहेको" बताउँदै त्यो खुलाउन सक्ने "दिन तोकेर भन्न सकिने अवस्था नरहेको" बताउँछन्।
"तर यो लाइफ लाइन सडक भएकाले सडक विभागले यतिखेर प्राविधिकहरूको राय-सल्लाह लिँदै कम्तीमा एकतर्फी सञ्चालन गर्न सकिने प्रयास गरिरहेको छ," अर्यालले बीबीसीसँग भने।
तर आशा गरे अनुसार त्यसो हुने अवस्था आइहाले पनि त्यसका लागि समेत "कम्तीमा १०-१५ दिन लाग्न सक्ने" देखिएको अर्याल बताउँछन्।
राजधानीलाई तराईसँग जोड्ने विकल्पका रूपमा यतिखेर कान्ति राजपथ र त्रिभुवन राजपथलाई प्रयोग गरिए तापनि साँघुरा, घुमाउरा र पहिल्यैदेखि पहिरोले अवरुद्ध पारिरहने ती सडकबाट ग्यासका बुलेट आउने अवस्था नरहेको अर्यालले बताए।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ग्यास उद्योगहरूलाई सिलिन्डर सङ्कलन गरेर तराईका उद्योगमा लगेर "भरेर सिलिन्डरहरू नै ल्याएर वितरण गर्न" निर्देशन दिइएको बताए।
"माग र आपूर्तिको चक्र नमिल्दासम्म केही समय त समस्या हुन्छ। तर सिलिन्डर सङ्कलन गरेर पठाउने र ल्याउने काम आज भोलिबाटै सुरु हुन्छ," ठाकुरले भने।
एलपी ग्यासमा चिन्ता

तस्बिर स्रोत, NEPAL PHOTO LIBRARY
काठमाण्डू उपत्यकामा ग्यास आपूर्ति गर्ने २२ वटा उद्योगमध्ये १८ वटा उद्योग कृष्णभीरभन्दा यता धादिङ, काठमाण्डू र काभ्रेपलाञ्चोकमा अवस्थित उद्योग रहेको निगमले जनाएको छ।
"तिनका लागि ग्यास लोड भएका बुलेटहरू बाटोमा छन्। ती काठमाण्डूपट्टि आउने अवस्था छैन," ठाकुर भन्छन्।
"वैकल्पिक मार्गबाट पनि बुलेट आउन सक्ने अवस्था नभएकाले हामीले काठमाण्डूमा भएका उद्योगहरूलाई सिलिन्डरहरू तराईका उद्योगहरूमा लगेर भर्ने र ट्रकमै ती ल्याएर वितरण गर्न निर्देशन दिएका छौँ।"
उनले पृथ्वी राजमार्ग नखुल्दासम्म "तत्काल ग्यास आपूर्तिका लागि अर्को विकल्प नदेखिएको" बताए।
"तर पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनका हकमा भने पारवहनका लागि वैकल्पिक मार्ग प्रयोगमा आएका छन्। त्यसमा समस्या छैन," प्रवक्ता ठाकुरले भने।
"तेल ट्याङ्करका लागि हामीले त्रिभुवन राजपथबाट काठमाण्डू भित्रने र कान्ति राजपथबाट बाहिरिने क्रम सोमवारबाटै सुरु भइसकेको छ।"
सडक विभागले वैकल्पिक सडकमा परेको सवारीको भार व्यवस्थापन गर्नका लागि मालवाहक गाडी त्रिभुवन राजपथबाट प्रवेश गर्ने र खाली गाडी कान्ति राजपथबाट निस्कने व्यवस्था गरिएको जनाएको छ।
'केही समय दु:ख'

तस्बिर स्रोत, Ashok Devkota
सडक विभागले पृथ्वी राजमार्गको विकल्पका रूपमा चार वटा सडकहरू उल्लेख गरेको छ।
ट्रकहरूका लागि त्रिभुवन राजपथ र कान्ति राजपथ तोकिए तापनि त्यसबाहेक बीपी राजमार्ग र हेटौँडा-कुलेखानी-फर्पिङ सडक समेत वैकल्पिक बाटोका रूपमा तोकिएका छन्।
त्रिभुवन राजपथ बीरगञ्ज-पालुङ-नौबिसे हुँदै काठमाण्डुसँग जोडिन्छ भने कान्ति राजपथ हेटौँडा-भैँसे- टिकाभैरव- हुँदै काठमाण्डूसँग जोडिन्छ।
तत्काललाई यी दुवै सडकबाट ग्यास बुलेटका अतिरिक्त लरीहरू पनि आउजाउ गर्न सक्ने अवस्था छैन।
"कान्ति राजपथमा थप दुई-तीन ठाउँमा केही मर्मत गरेर थप सुधार गर्न सकिन्छ कि भनेर पनि हेरिराखिएको छ," उपमहानिर्देशक अर्यालले भने।
"असमान्य विपद्को परिस्थिति भएकाले केही समय दु:ख गरेरै जानुपर्ने अवस्था छ।"

पृथ्वी राजमार्गको कृष्णभीरनजिक अझै भूक्षय सक्रिय रहेको बताउँदै सडक विभागका अधिकारीहरूले त्यो रोकिएपछि मात्र एकतर्फी बाटो खुलाउने सम्भावनामा काम हुने बताउँछन्।
कृष्णभीरबाहेक पनि पृथ्वी राजमार्ग छेउको नदीको बहाव यतिखेर सडकपट्टि परिरहेको बताउँदै उपमहानिर्देशक अर्यालले त्यसले अन्य ठाउँहरूमा पनि मुनिबाट सडक कटान गरिरहेको चुनौती औँल्याउँछन्।
"भेल अझै बढी रहेकाले संरचनामा कस्तो असर परिरहेको छ भन्ने अवस्था छैन," उनी भन्छन्। "परेवाभीर र शितलबजारमा समेत सडक काटेकाले त्यहाँ पनि सडक एकतर्फी गराइएको छ।"
के बाढीपछि समग्र राजमार्गको पुर्न मूल्याङ्कन गर्न आवश्यक छ भन्ने बीबीसीको प्रश्नमा उनले भने: "त्यसको असर हाम्रो त्यस सडकमा पक्कै पनि छ। त्यति चाहिँ हामी अनुमान गर्न सक्छौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















