पुटिनलाई खुलापत्र लेख्दै जेलेन्स्कीले गरे प्रत्यक्ष वार्ताको प्रस्ताव

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की

तस्बिर स्रोत, EPA

Published
पढ्ने समय: ४ मिनेट

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गरेका छन्।

रुसी राष्ट्रपतिलाई खुलापत्र लेख्दै जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर "पर्खेर मात्रै बस्नु गलत" हुने बताएका छन्। युक्रेन र रुसको "प्रत्यक्ष संवादबाट मात्र" शान्ति सम्भव हुने उनको तर्क छ।

उनले प्रस्तावित वार्ताको अवधिभरि पूर्ण युद्धविराम गर्न भनेका छन्। तर यस्तो प्रस्ताव पुटिनले यसअघि बिहीवार मात्रै पनि अस्वीकार गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि दुवै नेताबीच भेटवार्ता भए "धेरै राम्रो हुने" बिहीवार बताएका थिए।

क्रेम्लिनले आफूले पत्र प्राप्त गरेको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ।

जेलेन्स्कीको पत्रमा के छ?

पत्रको भाव विद्रोही रहेको र व्यङ्ग्यात्मक शैली प्रयोग गरिएको अनि पत्रमा युक्रेनले हालै रुसी भूभागमा गरेको आक्रमणमा ध्यान खिच्न खोजिएको छ।

जेलेन्स्कीले २६ वर्षसम्म सत्ता रहेका पुटिनलाई उमेरले साथ दिन छोडेको जस्ता विषयमा पनि पत्रमा टिप्पणी गरेका छन्। पत्रमा उनले पुटिनलाई औपचारिक निम्तो पनि दिएका छन्।

"यो युद्ध हामी र तपाईँबीच प्रत्यक्ष संवादमार्फत् अन्त्य गर्ने युक्रेनको प्रस्ताव छ। म भेटको प्रस्ताव गर्छु," जेलेन्स्कीले लेखेका छन्।

युक्रेनी नेताको यस्तो प्रस्ताव नयाँ चाहिँ होइन। यसअघिका पत्रमा दिइएका जबाफमा क्रेम्लिनले पुटिनसँग भेटका लागि मस्कोमा आउन जेलेन्स्कीलाई स्वागत गरिने बताउने गरेको थियो।

विगतका पत्रहरूभन्दा फरक यो पटक किएभले सार्वजनिक रूपमै अमेरिकाको ध्यान "पूरै इरानमा केन्द्रित" रहेको स्वीकार गरेको छ।

"अमेरिकाको ध्यान पुनः युरोपको युद्धमा फर्किने पर्खाइमा मात्रै बस्नु गलत हुने छ," जेलेन्स्कीले लेखेका छन्।

पुटिनको प्रतिक्रिया

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन

तस्बिर स्रोत, EPA

सेन्ट पिटर्सबर्गमा विदेशी पत्रकारहरूसँग कुरा गर्दा पुटिनले पत्रको बेहोरा हेरेजस्तो सुनिएको थिएन। उनले आफू "युक्रेनसँग सम्झौता गर्न तयार र इच्छुक" रहेको बताए। तर सम्झौताका लागि लचकता आवश्यक रहेको उनको भनाइ थियो। ट्रम्प इरानमा व्यस्त भएका कारण युरोपेली सङ्घ ईयूले जेलेन्स्कीलाई भूभाग छोड्ने विषयमा मनाउन सक्ने उनले बताए।

रुसले आंशिक रूपमा नियन्त्रणमा लिएका युक्रेनी भूभाग लिएका डोनेट्स्क, लुहान्स्क, खेअर्सन र जापोरिजाका चार क्षेत्रबाट युक्रेनी फौज फिर्ता हुनुपर्ने पुटिनको पुरानै अडान छ। उनले युक्रेनले नेटोमा सामेल हुने प्रयास पनि त्याग्नुपर्ने बताएका छन्।

 डोनेट्स्क, लुहान्स्क, खेअर्सन र जापोरिजाको नक्सा

युक्रेनले आफ्नो भूभाग छोड्ने कुरा अस्वीकार गर्दै आएको छ। त्यसले रुसलाई थप आक्रमणका लागि हौसला दिने युक्रेनको दाबी छ। उसले क्राइमिया अवैध रूपमा कब्जा गरेको आठ वर्षपछि सन् २०२२ मा रुसले युक्रेनमा पूर्णस्तरको युद्ध सुरु गरेको उदाहरण दिने गरेको छ।

पछिल्ला महिनाहरूमा रुस र युक्रेनबीच युद्धविरामका लागि वार्ता ठप्प भएको छ। जिनिभा, आबुधाबी र इस्तानबुलमा भएका यसअघिका शान्ति वार्ताहरू असफल भएपछि थप वार्ता भएका छैनन्।

स्विट्जरल्यान्ड वा टर्कीमा वार्ता प्रस्ताव

जेलेन्स्कीको पत्र १,८०० शब्दभन्दा लामो छ। उनले लेखेका छन्, "तपाईँको युद्धले हाम्रो देशमा जुन अवस्था निम्त्यायो अब हामी रुसी सैनिकहरूको भविष्यको चिन्ता गर्दैनौँ। तर म युक्रेनीहरूको चिन्ता गर्छु। हामी आफ्ना मानिसहरू गुमाइरहेका छौँ र प्रत्येक क्षति हाम्रो लागि पीडादायी छ।"

युक्रेनी ड्रोन र क्षेप्यास्त्र आक्रमण, पेट्रोल अभाव, मूल्यवृद्धि र युद्धका कारण रुसीहरू पनि थकित भइसकेको उल्लेख गर्दै जेलेन्स्कीले दुई पक्षबीच "प्रत्यक्ष वार्ता गरेर युद्ध अन्त्य गर्न" प्रस्ताव गरेका छन्।

उनले वार्ता स्विट्जरल्यान्ड वा टर्कीजस्ता देशमा गर्न सकिने प्रस्ताव गरेका छन्।

युक्रेनी विदेशमन्त्री एन्ड्री सिबीहले खुलापत्र "युद्ध अन्त्य गर्नका लागि गम्भीर र अर्थपूर्ण प्रस्ताव" भएको बताए।

"हामी यस प्रस्तावमा अर्थपूर्ण प्रतिक्रिया अपेक्षा गर्छौँ। अब यो युद्ध अन्त्य गर्ने समय हो। शान्ति रोज्ने समय आएको छ," उनले भने।

रुसी राष्ट्रपति पुटिन सेन्ट पिटर्सबर्गमा एउटा प्रमुख आर्थिक मञ्चमा सहभागी भएकै दिन युक्रेनको पत्र सार्वजनिक भएको हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।