रोबोटबीचको भिडन्तले देखाउँछ युद्धको चिन्ताजनक भविष्य

रोबोट र ड्रोनअगाडि उभिएका युक्रेनका राष्ट्रपति जेलेन्स्की

तस्बिर स्रोत, United24

पढ्ने समय: ५ मिनेट

कुनै दिन युक्रेनको युद्धभूमिमा मानव सैनिकभन्दा लडाकु रोबोटहरूको सङ्ख्या धेरै हुन सक्ने एक यूके-युक्रेनी हतियार निर्माता कम्पनीले बीबीसीलाई बताएको छ।

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले गत महिना पहिलो पटक रोबोट र ड्रोन मात्र प्रयोग गरेर रुसी सेनाबाट युक्रेनी भूभाग फिर्ता ल्याइएको बताएपछि यो विषय चर्चामा छ।

दुवै पक्षले द्वन्द्वको सुरुदेखि नै मानवरहित हवाई तथा स्थलगत प्रणालीहरूको व्यापक प्रयोग गरेका छन्।

विश्लेषकहरूले यस युद्धले सैन्य प्रविधिको विकासलाई नाटकीय रूपमा तीव्र बनाएको बताएका छन्।

एप्रिलको भिडिओ हाइलाइट्समा जेलेन्स्कीले युक्रेनले हालै विकास गरेको रोबोटिक हतियारबारे बोल्दै दुस्मनको स्थानलाई "मानवरहित प्रणालीहरू- स्थलगत रोबोट र ड्रोनहरू "बाट नियन्त्रणमा लिइएको बताएका थिए।

युक्रेनको सेनाले कारबाहीको विस्तृत विवरण दिन अस्वीकार गर्‍यो।

तर यो दाबी फ्रेब्रुअरीमा गरिएको अघिल्लो दाबीपछि आएको छ। अघिल्लो दाबीमा स्थलमा आधारित एक्लो रोबोट प्रयोग गरेर रुसी सेनालाई ४५ दिनसम्म अगाडि बढ्न रोकिएको भनिएको थियो।

त्यसमा प्रयोग गरिएका केही हतियार युक्रेनी - ब्रिटिश सैन्य स्टार्टअप यूफोर्सले निर्माण गरेको बताइएको छ।

उक्त कम्पनी तीव्र रूपमा विस्तार भइरहेको छ र हालै यसलाई 'युनिकर्न' व्यवसायको दर्जा प्राप्त भएको छ। यसको अर्थ हो यसको मूल्य १ अर्ब डलरभन्दा बढीको भइसकेको छ।

बीबीसीले लन्डनस्थित यूफोर्सको कार्यालयको भ्रमण गरेको छ। यसलाई गोप्य राख्नका लागि कार्यालय पहिचान हुने कुनै सङ्केत राखिएको छैन। सम्भावित रुसी कारबाहीबाट बच्न त्यसो गरेको कम्पनीले बताएको छ।

कम्पनीका एक प्रतिनिधिले जेलेन्स्कीको भिडिओमा वर्णन गरिएको रोबोट प्रयोग भएको युद्धबारे टिप्पणी गर्न अस्वीकार गरे तर उनले यूफोर्सका हवाई, स्थल र समुद्री ड्रोन अहिले जारी युद्धमा उपयोग भइरहेका बताए।

"म कारबाहीमा यूफोर्स कसरी संलग्न छ भन्नेबारे विस्तृत विवरण दिन सक्दिनँ। तर हामीले सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको अतिक्रमण गरे यता १,५०,००० सफल सैन्य कारबाही गरेका छौँ," उक्त कम्पनीका यूकेस्थित रणनीतिक साझेदारी निर्देशक रिएनन प्याड्लीले भने।

स्टुडियो सेटिङमा रोबोटहरू, ड्रोनहरू र ट्रकहररू

तस्बिर स्रोत, United24

तस्बिरको क्याप्शन, राष्ट्रपतिको भिडिओमा युक्रेनमा बनेका ड्रोनहरू र हतियार प्रदर्शन गरिएका थिए

मानवरहित प्रणाली भएका रोबोटको सङ्ख्याभन्दा मानव सैन्यको सङ्ख्या कम हुने सन्दर्भ बढ्दै जाँदा रोबोटले रोबोटसँग नै लडाइँ गर्ने कुरा अझ बढी व्यापक हुने छ - उनले भनिन्।

रुसले पनि युक्रेनका विभिन्न स्थानमा विस्फोटक पदार्थ बोकेर लैजान रोबोटहरूको प्रयोग गरिरहेको छ। विश्लेषकहरू भन्छन्, यस्ता प्रविधि विकास हुँदै जाँदा भविष्यका युद्धका स्वरूपहरू फेरिँदै जाने छन्।

ब्रूकिङ्स इन्स्टिट्यूशनमा सिनिअर फेलो मेलानी सिसन भन्छिन्, "राष्ट्रिय सुरक्षा तथा हातहतियार सन्दर्भमा युक्रेन अहिले सबभन्दा ठूलो प्रशिक्षक भएको म ठान्छु। र यो कसरी आवश्यकताले अन्वेषणको बाटो खोल्दै जान्छ भनेर देखाउने आश्चर्यजनक उदाहरण पनि हो।"

यूफोर्स तथाकथित "नियो-प्राइम" प्रतिरक्षा कम्पनीहरूको विस्तार हुँदै गएको समूहको एक हिस्सा हो। यसले बीएई सिस्टम्स, बोइङ र लकहीड मार्टिन जस्ता स्थापित कम्पनीहरूलाई चुनौती दिएको छ।

अर्को कम्पनी एन्डुरिल हो जुन अमेरिकी प्रतिरक्षा प्रविधि कम्पनी हो जसले फ्रेबुअरीमा बिना पाइलटको लडाकू विमानको पहिलो परीक्षण उडान गरेको थियो।

यूफोर्स स्थलगत ड्रोन - सानो ट्याङक जस्तो साधन जसको टुप्पामा विशाल बन्दुक छ

तस्बिर स्रोत, United24

तस्बिरको क्याप्शन, केही यूफोर्सका स्थलगत ड्रोनले 'कम्प्युटर एसिस्टेड टार्गेटिङ' गर्ने क्षमता राख्छन्

अधिकांश ड्रोन अहिले पनि मान्छेद्वारा टाढाबाट (रिमोट्ली) सञ्चालन गरिन्छन्, एन्डुरिल जस्ता कम्पनीले तीव्र रूपमा एआईलाई हतियार प्रणालीमा सामेल गरिरहेको छ।

यूफोर्स को भूमि-आधारित ड्रोनमा निशानामा प्रहार गर्न सहयोग गर्ने सफ्टवेयर प्रयोग गरिन्छ। एन्डुरिलको भनाइ छ - उसका केही प्रणालीले हमलाको अन्तिम चरण स्वायत्त रूपमा पूरा गर्न सक्छन्।

अमेरिकी सरकारले उसको सेनालाई आक्रामक रूपमा एआईको प्रयोग गर्न सार्वजनिक रूपमै आग्रह गरेको छ।

ज्यानुअरीमा अमेरिकी रक्षामन्त्री पीट हेगसेथले मुलुक "एआई फर्स्ट युद्ध लड्ने फौज" बन्न आवश्यक रहेको बताएका थिए।

चीनले पनि आफ्नो सैन्य प्रणालीमा एआईको प्रयोग बढाइरहेको अमेरिकी रक्षा मन्त्रालये गत वर्ष प्रकाशित गरेको रिपोर्टमा उल्लेख छ।

विश्लेषकहरू भन्छन् भविष्यमा युद्ध मैदानमा रोबोटहरू सोझै एक अर्कासँग भिड्ने अवस्था आउन सक्छ।

थिङ्क ट्याङ्क आरएएनडी युरोपका जेकब पाराकिलास भन्छन्, "युक्रेनी र रुसी ड्रोनहरू अहिले नै एक आपसमा लडिरहेका छन्।"

"त्यो स्थल तथा समुद्री युद्धसम्म विस्तारित हुनसक्ने अवस्था यदि अपरिहार्य होइन भन्ने हो भने पनि त्यसको सम्भावना चाँही ठूलो छ।"

एन्डुरिलको लन्डन मुख्यालयमा ड्रोन अगाडि उभिएका जो टाइडी र रिचर्ड ड्रेक
तस्बिरको क्याप्शन, एन्डुरिलले अर्बौँ डलरको आर्थिक सहायता पाएको छ र अमेरिकी सेनाको ठेक्का पनि प्राप्त गरेको छ

यद्यपि मानव अधिकार समूहहरूले अस्त्र प्रणालीमा अत्यधिक स्वायत्तताले जबाफदेहितामाथि गम्भीर चिन्ता उत्पन्न गर्ने बताउँछन्।

एमनेस्टी इन्टरनेशनलका प्याट्रिक विल्केनले भने, "सेनाहरूले लक्ष्यको पहिचान जस्ता प्रक्रिया तीव्र गतिमा गर्न एआईको सहयोग लिन्छन्। तर मानवको जीवन मरणसम्बन्धी निर्णय गर्ने जिम्मेवारी मशिनलाई सुम्पनुले नैतिक तथा मानव अधिकार उल्लंघनको जोखिम पैदा हुन्छ।"

हतियार निर्माताहरूको तर्क छ "मानवलाई निर्णय प्रक्रियामा सामेल राख्दा" यस्ता चिन्ताको समाधान हुन्छ। उनीहरू बल प्रयोग गर्ने की नगर्ने भन्ने निर्णय गर्ने क्षमता सैनिकहरूमा नै निहित रहनेमा पनि जोड दिन्छन्।

एन्डुरिल इन्डस्ट्रीजका यूके महाप्रबन्धक डा. रिच ड्रेकले भने, "मान्छेलाई भोजन र आराम आवश्यक पर्छ, र युद्धको स्थितिमा यी आवश्यकता सधैँ पूरा हुँदैनन्। कम्प्युटिङले हामीलाई त्यस्तो प्रक्रियामा त्रुटि कम गर्न सहयोग गर्छन् जसलाई 'किल चेन' भन्छन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।