'आफन्तले खोज्दा भेटिने गरी' सामूहिक रूपमा शवहरू गाडिँदै

    • Author, शरद केसी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

भोटेकोशी-त्रिशूली बाढीमा परेर ज्यान गुमाएकाहरूको शव लामो समयसम्म राख्न चुनौती देखिएपछि विभिन्न जिल्लामा शवहरूलाई सामूहिक रूपमा गाड्न थालिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर शव व्यवस्थापन गर्न थालिएको जानकारी दिए।

"चितवन र पूर्वी नवलपरासीले त्यो काम सुरु गरेको जानकारी आएको छ," उनले भने, "रसुवा, नुवाकोट, तनहुँ, कास्की, गोरखा लगायतका जिल्लाहरूमा पनि त्यसैअनुसार शवको व्यवस्थापन गरिन्छ।"

चितवन जिल्ला प्रशासन कार्यालयले "जिल्ला सुरक्षा समितिको भदौ १३ गते शनिवारको निर्णयअनुसार प्राप्त शवहरू थप सड्न-गल्न नदिन, त्यस्ता शवहरूको सम्मानजनक, सुरक्षित र कानुनी रूपमा व्यवस्थापन गरी सम्भावित सङ्क्रमणको जोखिमबाट बचाउन बाध्यात्मक विकल्पको रूपमा त्यसो गरिएको" जनाएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार सबै शवहरूको "डीएनए नमुना सङ्कलन गरी सङ्केत नम्बरका आधारमा अभिलेख राख्ने गरी" शनिवारदेखि भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाटस्थित खुला स्थानमा शव व्यवस्थापन गरिने छ।

चितवनस्थित बीबीसी न्यूज नेपालीका संवाददाता ईश्वर जोशीले पूर्वी नवलपरासीमा पनि खाल्डो खनेर व्यवस्थापनको तयारी गरिएको जानकारी प्राप्त भएको बताएका छन्।

नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "अन्य जिल्लामा समेत सोहीअनुरूप शव व्यवस्थापनको कार्यलाई अवलम्बन गरिएको छ।"

'आफन्तले खोज्दा दिन सकिने'

मन्त्रिपरिषद्को शुक्रवार भएको बैठकले पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका संशोधन गरेपछि शवहरूको सामूहिक व्यवस्थापनको बाटो खुलेको जानकारहरूको भनाइ छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयसम्म शव राखेर व्यवस्थापन गर्ने बाटो खुला गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको जानकारी दिएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा शुक्रवार उनले भनेका थिए, "शवको डीएनए लिएर प्याक गरेर गाड्ने निर्णय भएको छ।"

नेपाल प्रहरीका अनुसार "शवलाई आवश्यकताअनुसार सफा गरी पहिचान खुल्न सक्ने गरी अगाडि, पछाडि, दायाँ, बायाँ तथा पहिचान जन्य अङ्ग/चिह्नहरू देखिने विभिन्न कोणबाट फोटो खिचेर सुरक्षित राखिएको" छ।

जनस्वास्थ्य र आपत्कालीन व्यवस्थापनविद् दामोदर अधिकारीले शवहरूको व्यवस्थापन अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार गरिन लागेको आफ्नो बुझाइ रहेको बताए।

"किनकि शवको पहिचान र आफ्नो धार्मिक परम्पराअनुसार त्यसको अन्त्येष्टि गर्न पाउने मृत व्यक्ति र उसका आफन्तको अधिकार पनि हो," विसं २०७२ सालको भूकम्पका बेला विश्व स्वास्थ्य सङ्गठनको तर्फबाट नेपाल सरकारसँग सहकार्य गरेर काम गरेका विज्ञ दामोदर अधिकारीले भने, "फोटो, विवरण र डीएनए नमुना सङ्कलन गरेर केही समयपछि आफन्तले पहिचान गर्न चाहेमा उनीहरूलाई लास दिन र देखाउन सकिने ढङ्गले शव सुरक्षित रहने 'डेड बडी ब्याग'मा राखेर व्यवस्थापन गर्नुपर्छ।"

प्रहरीले भविष्यमा कुनै परिवार-आफन्तले आफ्ना सदस्यका रूपमा दाबी गरेमा उपलब्ध वैज्ञानिक तथा कानुनी प्रमाणका आधारमा पहिचान गर्न सहयोग पुग्ने गरी व्यवस्थापन गर्न लागिएको जनाएको छ।

'विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार व्यवस्थापन'

सङ्कटकालीन व्यवस्थापनविद् अधिकारीका अनुसार सन् २००४ को सुनामीमा ज्यान गुमाउनेहरूका आफन्तहरूले शव खोज्न थालेपछि उनीहरूलाई के दिने भन्ने समस्या आएको विषयलाई विश्व स्वास्थ्य सङ्गठनले शिक्षाको रूपमा उल्लेख गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पनि विश्व स्वास्थ्य सङ्गठनको सिफारिस पालना गरिएको बताए।

"पोस्टमर्टम गरेर डीएनएको नमुना, क्रमसङ्ख्या र अन्य विवरण राखेर शवहरू सामूहिक रूपमा गाड्न लागिएको हो," उनले भने, "पछि खोज्न आउनेलाई शव र अवशेष दिन सकिने गरेर सरकारी, सामुदायिक वा जङ्गल क्षेत्रमा व्यवस्थित रूपमा गाड्ने निर्णय भएको हो।"

नेपाल प्रहरीले पनि "निर्धारित स्थानमा शवहरूलाई सम्मानजनक तथा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्दा प्रत्येक शवको सङ्केत/कोड नम्बर जमिनमुनि तथा माथि राखी, शव व्यवस्थापन गरिएको स्थानको जीपीएस लोकेशन, फोटो अभिलेख, नक्सासहितको विस्तृत विवरण तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको" जनाएको छ।

उसले भनेको छ, "जमिनमुनि व्यवस्थापन गरिएका प्रत्येक शवको फोटो, डीएनए नमुना, सङ्केत नम्बर, हुलिया, सनाखतसम्बन्धी विवरण, पोस्टमर्टम प्रतिवेदन, लास जाँच मुचुल्का, व्यवस्थापन मिति तथा स्थानको विवरण सुरक्षित राखिने…।"

अधिकारीहरूका अनुसार रसुवा बाढीबाट बगेका शवहरूमध्ये धेरै शवहरू सजिलै पहिचान गर्न नसकिने अवस्थामा छन्।

ती शवहरू बगेर चितवन, पूर्व र पश्चिम नवलपरासीसम्म भेटिएका छन्। नारायणी नदीमा बग्दै शवहरू सीमावर्ती भारतमा पनि भेटिएको समाचार भारतीय सञ्चारमाध्यमहरूले जनाउन थालेका छन्।

रसुवा बाढीमा परेर ज्यान गुमाएका ६७५ जना मानिसको शव फेला परेको र करिब २,५०० भन्दा धेरै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।