रसुवा बाढीपछिको उद्धारमा उच्च चुनौती : 'भूकम्पका बेलाभन्दा निकै कठिन'

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

रसुवा बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षा निकायका अधिकारीहरूले आफूहरूको भूमिका यसअघि बेहोरेको ठूलो विपद् भूकम्पका बेलाभन्दा निकै कठिन रहेको बीबीसीलाई बताएका छन्।

मुख्य उद्धार कार्य बाढीको तत्काल मार परेको माथिल्लो भेगका दुई जिल्ला रसुवा र नुवाकोटमा केन्द्रीत रहेको सुरक्षा अधिकारीहरूले बीबीसीलाई बताएका छन्। त्यसमा हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ।

उनीहरूले शुक्रवारसम्म कठिन अवस्थामा रहेकाहरूको जीवित उद्धार गरिएको बताउँदै आफूहरूले "थप केही दिन" खोज तथा उद्धार प्रयास जारी राख्ने बताए।

तिनैमध्येको एक अपर त्रिशुली जलविद्युत् आयोजनाका सुरुङमा फसेका कैयौँ श्रमिकहरूलाई सेनाले हेलिकप्टर र स्थल प्रयास गरेर उद्धार गरेको थियो।

नेपाली सेनाले आफ्नो फेसबुकमा राखेको त्यसको भिडिओमा हिलाम्मे बनेको सुरुङको मुखसम्मै पुग्न घिस्रिएर गरिएको जटिल प्रयास देखिन्छ।

नेपाल विद्युत् प्राधिकरणले शुक्रवार १०४ जनाको विभिन्न जलविद्युत् परियोजनाका सुरुङबाट उद्धार गरिएको जनाएको छ।

यद्यपि अझै सयौँको सङ्ख्यामा सुरुङभित्र मानिसहरू रहेको आयोजना सम्बद्ध व्यक्तिहरूले बताएका छन्।

भदौ १० गतेको उक्त घटनामा परेर शुक्रवार साँझ सात बजेसम्म ५७९ जनाको शव फेला परेको सरकारी विवरण छ। अझै करिब दुई हजारजना सम्पर्कविहीन रहेको बताइएको छ।

'दलदलबीच खोजी'

सेनाका प्रवक्ता राजाराम बस्नेतले यतिखेर उद्धारका कामहरू सुरुङमा केन्द्रीत बनेको बताए।

"एक्सकभेटरहरू पारी पट्टी लैजान सकिँदैन। कतिपय ठाउँमा लेदो जमेकाले सुरुङको वास्तविक विन्दु कहाँ छ भनेर पत्ता लगाउन पनि गाह्रो भएको छ," प्रवक्ता बस्नेतले भने।

"त्यही भएर नक्सा बनाउने सम्बन्धित जलविद्युत्का व्यक्तिहरू लिएर गएपछि त्यहाँ ब्रेकथ्रु भयो।"

नेपाल प्रहरीका प्रवक्ता अबि नारायण काफ्लेले आफूहरू नदी किनारमा खोज तथा उद्धारका काममा बढ्ता केन्द्रीत रहेको बताउँदै त्यहाँ हिलाम्मे बगर बनेको बस्तीमा "दलदलबीच खोजी, उद्धारदेखि मुचुल्का उठाउने कामसम्मै जटिल बनेको" बीबीसीलाई बताए।

सशस्त्र प्रहरीका सह-प्रवक्ता शैलेन्द्र थापाले खोज तलास "सास वा लाश"का लागि भन्दै तल्लो तटीय क्षेत्रमा परसम्म गर्नुपरेको भिन्न अवस्था यस घटनामा देखा परेको बताए।

करिब १५ हजार सुरक्षाकर्मी परिचालन गरेर भइरहेको भनिएको खोज तथा उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका बताइएको छ।

अवस्था जटिल रहेकाले स्थानीयबासीहरूले "आवश्यक सामग्रीसहितका तालिमप्राप्त जनशक्तिबिनै" आफ्नै प्रयासमा गर्न सक्ने उद्धारका काम सीमित रहेको सुरक्षा अधिकारीहरूले बताएका छन्।

'हेलिकप्टरको भर'

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले यस विपद्‍मा सुरक्षाकर्मीसँग उपलब्ध हुने सबैजसो उद्धार जनशक्ति प्रयोग भइरहेको बताउँछन्।

"गोताखोर, भत्किएका भवनमा हुने खोज, कुकुरको प्रयोगबाट गरिने खोज, हेलिकप्टरमा झुण्डिएर गरिने लङ लाइन रेस्क्यु, चिकित्सकीय टोलीसहितका अनेकौँ उपाय प्रयोग भएको छ," थापा भन्छन्।

"त्यहाँ धेरैतिर अहिले बिजुलीको लाइन काटिएको छ। घरमा फसेका कतिपयले सम्पर्क गरेर पछि मोबाइलमा चार्ज सकिएको परिस्थिति पनि बनेको छ। त्यस्तोमा हामीले लोकेसन ट्र्याक गर्दै समेत उद्धार गरेका छौँ।"

"अहिलेको मुख्य समस्या भनेको पुलपुलेसा नभएकाले स्थलमार्गबाट सम्पर्क टुट्नु रहेको छ। हेलिकप्टरबाट जाँदा पनि हिलोको दलदल रहिरहेको अवस्था छ। त्यहाँ घरहरू पुरिएका अवस्थामा छन्। फेरि बाढी आउन सक्ने जोखिमहरू पनि छँदै छन्," काफ्ले भन्छन्।

"पीडितसँग सम्पर्क भएर वा केही शङ्का वा सूचना पाएर कुनै घरमा पुग्दा कठिन दलदल छिचोल्नुपर्ने अवस्था छ। त्यस्तोमा सक्दो हेलिकप्टर प्रयोग गरेका छौँ। आजै [शुक्रवार] मात्रै पनि रसुवामा हामी सेनासँग मिलेर जीवितै उद्धार गर्न सफल भएका छौँ।"

सुरक्षाकर्मीहरूले अहिले सामना गरिरहेको मुख्य समस्याको रूपमा रसुवा, नुवाकोटका बासिन्दा र त्यहाँबाट हराएकाहरूको शव तल्लो तटीय क्षेत्रमा निकै परसम्म भेटिनु रहेको बताएका छन्।

"त्यस्तोमा पहिचान गर्दै मुचुल्का उठाउने काम निकै जटिल बनेको छ," काफ्लेले भने।

सेनाका प्रवक्ता राजाराम बस्नेत आफ्ना स्वास्थ्य शिविरमा "करिब ९ सय जना" लाई उद्धार पश्चात् उपचार गरेर पठाइएको बताउँछन्।

"थोरैलाई मात्र अन्यत्र अस्पतालमा पठाइएको छ," बस्नेतले भने।

"बिहीवार एकै दिन ९ सय जनाको उद्धार गरिएको थियो। शुक्रवार २ बजेसम्म हामीले ७ सय जनाभन्दा धेरैको हवाई उद्धार गर्न सफल भएका थियौँ।"

'आशा अझै बाँकी'

"अझै कतै गुफातिर, पहाडका छेउतिर ओत लागेर बस्नेहरू हुनसक्ने आशा छ। वहाँहरू आफ्नै प्रयासमा निस्कन पनि नसक्ने र सम्पर्क गर्न नसक्ने अवस्थामा हुन सक्नुहुन्छ भन्ने आशामा हामी काम गरिरहेका छौँ। त्यसैले हामीले जीवित उद्धारको आशा अझै मारेका छैनौँ," थापा भन्छन्।

नेपाल प्रहरीले खोजी कार्यमा स्थलगत रूपबाट विभिन्न जिल्लामा प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमाण्डमा टोली परिचालन गरेको जनाएको छ।

दिनदिनै हराएका व्यक्तिहरूको खोजी गर्न नयाँ-नयाँ आग्रह आइरहेकाले खोजी अभियान लम्बिन सक्ने सुरक्षा अधिकारीहरू बताउँछन्।

"हामीले भूकम्पका बेला पनि ठूलो उद्धारहरू गर्यौँ। तर त्यसबेला कम्तीमा खोजीमा केन्द्रीत हुने ठाउँ स्पस्ट हुन्थ्यो। अहिले त कहाँ-कहाँ खोज्ने, के के गरेर उद्धार गर्ने भन्ने अनेकौँ तौरतरिका अपनाउनु परेको छ। यो काम भूकम्पका बेलाभन्दा निकै कठिन छ," सशस्त्र सहप्रवक्ता शैलेन्द्र थापा भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।