तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
त्रिशूली बाढीको असर कम गर्न सकिने सम्भावना कति थियो, के फेरि जोखिम छ?
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ३ मिनेट
बुधवार रसुवाआसपासमा हलुका र सामान्य वर्षा भइरहेको थियो। मौसम पूर्वानुमान महाशाखाले त्यसलाई सामान्य मानेका बेला रसुवागढी नाकाबाट करिब २० किलोमिटर पूर्वोत्तरबाट आएको बाढीले जनधनको ठूलो क्षति गर्यो।
नेपाली अधिकारीहरूका अनुसार 'हिमचट्टानको पहिरो'ले खोला थुनिँदा त्यसो भएको पाइन्छ।
मौसम पूर्वानुमान विभागले सार्वजनिक गरेको विवरणमा केही मिनेटबीचमै बाढीले तल्लो तटीय क्षेत्रमा व्यापक असर पारेको देखिन्छ।
"यस घटनाले मिनेटमिनेट र सेकेन्डसेकेन्डको महत्त्व दर्साएको छ," राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वप्रमुख अनिल पोखरेलले भने।
"हामीले देशभित्रै र अन्तरदेशीय रूपमा चेतावनी प्रणालीमा गर्नुपर्ने कैयौँ काम गरेका छैनौँ। अहिले पनि अन्तरदेशीय सूचना आदानप्रदान प्रणाली छैन। देशभित्रै पनि यस्ता घटनामा चेतावनी दिने भरपर्दो प्रणाली छैन।"
बिहान ८:५० मा रसुवागढी नाकाभन्दा कैयौँ किलोमिटर तलपट्टिकै स्याफ्रुबेसी जल मापन केन्द्रले विवरण दिन छाडेको थियो।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहान ०९:१५ बजेदेखि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदीतटीय तथा जोखिमयुक्त क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन पूर्वसूचना जारी गरिएको थियो।
त्यस क्रममा नेपाल टेलिकम र एनसेलमार्फत् छ लाख ७९,२९५ एसएमएस पठाइएको जनाइएको छ।
तर ९:२० मा वेत्रावती मापन केन्द्रले विवरण दिन बन्द गरेको देखिन्छ। त्यस ठाउँभन्दा माथि र तलपट्टि नदीकिनारमा सहरहरू छन्।
बाढी दोहोरिन सक्ने चेतावनी
नेपालका मौसमसम्बन्धी निकायहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट प्राप्त भूउपग्रहहरूका तस्बिर तथा तथ्याङ्कहरूको प्रारम्भिक विश्लेषण गर्दा सीमा क्षेत्रनजिक हिमपहिरो गई त्यसबाट अति उच्च आकस्मिक बहाव आएको देखिन्छ।
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन केन्द्रअन्तर्गत विपद् अध्ययन केन्द्रका निर्देशक वसन्तराज अधिकारीले हिमचट्टान खसेर बनेको बाँधमा फेरि पनि 'पानी जम्मा भइरहेको' देखिएको त्यहाँबाट प्राप्त भिडिओमा देखिएको बताउँछन्।
"त्यो बिस्तारै बगेर आउन पनि सक्छ वा जमेर कुनै पनि बेला फुट्न सक्छ। त्यही भएर निकै सजग हुनुपर्ने अवस्था हो," भूगर्भशास्त्री अधिकारीले बीबीसीसँग भने।
अधिकारी त्यहाँ बनेको बाँध कति बलियो छ भन्ने थाहा पाउनु यतिखेर निकै महत्त्वपूर्ण रहेको बताउँछन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार दिउँसो एक सूचना जारी गर्दै रसुवागढी नाकाबाट करिब १८ किलोमिटर माथि तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव अवरुद्ध भई करिब ०.११ वर्ग किलोमिटर क्षेत्रफलको ताल बनेको देखिएको जनाएको छ।
भदौ ११ गते गते बिहान ११:४४ बजे प्राप्त भूउपग्रहबाट खिचिएको तस्बिरको विश्लेषणका आधारमा गरिएको " प्रारम्भिक अध्ययनबाट उक्त तालको प्राकृतिक बाँध फुटी पुनः ठूलो बाढी आउन सक्ने जोखिम अझै कायम रहेको" उक्त सूचनामा जनाइएको छ।
सूचनामा थप भनिएको छ : "तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन तथा उच्च सावधानीका साथ रहन अनुरोध गरिन्छ।"
त्यस्तै परिस्थिति सन् २०१४ को जुरे पहिरोमा देखा परेपछि नेपाली सेनाले बम विस्फोट गराएर खुलाउनुपर्ने परिस्थिति बनेको अधिकारी बताउँछन्।
"त्यो कत्तिको बलियो छ भन्ने मूल्याङ्कन गरेपछि मात्र हामीले त्यो फुट्ने-नफुट्ने वा कहिले फुट्ने भन्न सकिन्छ।"
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछाने रसुवाको माथिल्लो भूभागमा बिहीवार साँझतिर हलुका पानी पर्न सक्ने पूर्वानुमान रहे तापनि नुवाकोट र धादिङतिर भने मौसम सामान्य रहेको बताउँछन्।
बुधवारको बाढीमा अचानक बाढी आउँदा खतराको तहभन्दा निकै माथिसम्म जल सतह बढ्दा नदीछेउमा ठूलो जनधनको क्षति हुन पुगेको थियो।
फुर्के (मलेखु) जल मापन केन्द्रमा बिहान ११:२० बजे जलसतह सतर्कता तह ७ मिटर र ११:४० बजे खतरा तह ८ मिटर पार गर्दै उच्चतम १०.४८ मिटर पुगेर मापन केन्द्र नै बगाएको थियो।
यसै गरी मुग्लिननजिकैको कालीखोला जलमापन केन्द्रमा बाढीले दिनको २:१४ बजे खतरा तह १२.१ मिटर पार गर्दै उच्चतम १२.३ मिटर जलसतह मापन भएको थियो।
बुधवार देवघाटमा मापन भएको बहाव विश्लेषण गर्दा २:१० देखि ६ बजेसम्म आधार बहावभन्दा अतिरिक्त बाढीजन्य पानीको आयतन करिब २ करोड घन मिटर रहेको प्रारम्भिक आकलन मौसम अधिकारीहरूले गरेका छन्।
समयमै सूचना पुग्यो त?
बुधवार महाशाखाले एसएमएसबाट भोटेकोशी तथा त्रिशूली नदीको तटीय क्षेत्र, टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशूली, गल्छी, मलेखु, मुग्लिन, नारायणगढ तथा आसपासका बस्तीका नागरिकलाई चरणबद्ध रूपमा सुरक्षित स्थानमा जान अनुरोध गरेको समय अपर्याप्त रहेको गुनासो पनि सुनिएको छ।
"यो एकदमै अभूतपूर्व घटनाक्रम भयो। चीनले पनि थाहा पाएन। नत्र वहाँहरूले सीमा नाकामा जानकारी दिनुहुन्थ्यो," भूगर्भशास्त्री अधिकारी भन्छन्।
"यो एकदमै छिटो भयो। यो हामीले रोक्न सक्ने अवस्था नै थिएन। जति छिटो पायौँ, त्यही नै छिटो हो जस्तो लाग्छ।"
उनले यस बाढीपछि स्वचालित रूपमा चेतावनी दिने प्रणालीमा लगानी बढाउनुपर्ने आवश्यकता महसुस भएको अधिकारी बताउँछन्।
"अबका दिनमा रिमोट सेन्सिङमार्फत् जोखिमको हटस्पट पहिचान गर्दै निगरानी बढाउनुपर्छ। हिमताल पग्लिने वा पहिरो जान सक्ने ठाउँको पहिचानका लागि सुरुमा पूरा भूगोलको मूल्याङ्कन गरेर जोखिमयुक्त त्यस्ता ठाउँ पहिचान गर्दै ग्राउन्ड स्टेशन बनाउन आवश्यक छ," अधिकारी भन्छन्।
"ग्राउन्ड स्टेशनले घटनाकै समयको विवरण दिन्छ।"
विपद् प्राधिकरणका पूर्वप्रमुख पोखरेल यस्ता घटनाक्रममा एसएमएस मात्रमा भर नपरेर व्यापक दायरा समेट्ने खालको चेतावनी प्रणाली आवश्यक पर्ने बताउँछन्।
"त्यस्ता बस्तीमा साइरन राख्ने, सबैखाले सञ्चारमाध्यमबाट एकैपटक एकैखाले सूचना प्रवाह हुने प्रणाली बनाउनुपर्छ," पोखरेल भन्छन्।
"त्यसबाहेक अहिले हामीकहाँ अन्तरदेशीय सूचना प्रणाली नै छैन। गत वर्षको बाढीले पनि त्यसका लागि सजग गराएको थियो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।