बाढी प्रभावित क्षेत्रमा रहेकी बीबीसी संवाददाताले जे देखिन्

    • Author, शक्तिमाया तामाङ
    • Role, नुवाकोट, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

हिजो (बुधवार) बिहान घरमा खाना खाएर कार्यालय जान तयारी गर्दै थिएँ - बाढी आएको खबर आयो।

सुरुमा मलाई पत्यारै लागेन।

तर पछि बेत्रावती बगाएको भन्ने भएपछि अब फिल्डमा जानुपर्छ भनेर मैले सहज हुने लुगा लगाएर निस्केँ।

तर त्यति बेला नै जोखिम छ भनेर सवारीसाधनहरू रोक्न थालिसकिएको अवस्था थियो।

त्यसपछि बट्टारमा आउँदा त्रिशूली मैले पनि अहिलेसम्म नदेखेको ठूलो बाढी थियो।

त्यो स्थानमा जोखिम छ भनेर त्यहाँबाट सुरक्षाकर्मीले मानिसहरूलाई हटाइरहेका थिए।

म भिडिओ खिच्न खम्बा क्याम्पभन्दा माथिको उचाइमा पुगेँ। त्यहाँ आइपुगेका प्रभावित मानिसहरू आफ्ना खेतीयोग्य जमिन, घर बगाएको विवश भएर हेरिरहेका थिए।

म आज नुवाकोटको विदुर नगरपालिका वडा नम्बर दुईस्थित श्री नम्बर १ तालिम केन्द्रमा छु।

यहाँ विभिन्न ठाउँमा फसेकाहरूलाई उद्धार गरेर ल्याइँदै छ।

हिजोदेखि नै यहाँ विभिन्न ठाउँबाट मानिसहरू उद्धार गरेर ल्याएर प्राथमिक उपचार गर्ने काम भइरहेको छ।

उद्धार गरेर ल्याइएकाहरूलाई खाद्यान्नको व्यवस्था गरिएको अधिकारीहरूले बताएका छन्।

उद्धार गरेर ल्याइएकाहरूलाई शिविरमा, नुवाकोट आसपासका सुरक्षित ठाउँमा राखिएको पनि अधिकारीहरूले बताएका छन्।

यहाँ रहेका धेरै मानिसहरू आफ्नै आँखाअगाडि परिवारको सदस्यलाई बाढीले बगाएको भन्ने कुराहरू सुनाउँदै छन्।

तैपनि उनीहरू कतै जीवित छन् कि भनेर सम्पर्क गर्न वा कतैबाट सूचना पाउने आशामा छन्।

सरकारले छिट्टै खोजिदिए हुन्थ्यो भन्ने आशा उनीहरूले गरेका छन्।

यहाँ जम्मा भएका सर्वसाधारणहरू यो तहको बाढी आफूले कहिल्यै नदेखेको बताइरहेका छन्।

सरकारी अधिकारीहरू निरन्तर बैठकहरू गर्ने, उद्धार गर्ने गरेको देखिन्छ।

तर आफन्तहरूको स्थिति जान्न परिवारका सदस्यहरूले खोजिरहेको देखिन्छ।

सरकारले उद्धार र खोजीको कार्य जारी रहेको बताइरहँदा आफन्तहरूले भने समयमा उद्धार हुन नसकेको गुनासो पनि गरिरहेका छन्।

त्रिशूलीतर्फ पूरै पुल नै बगाएकोले आवतजावत बन्द छ। कतिपय विद्यार्थीहरूलाई शिक्षकहरूले आफ्नो घरमा नै सुरक्षित राखेको खबर छ।

पेसा व्यवसायले त्रिशूली बजार गएकाहरू बट्टारमा आफन्तहरूको घरमा वा होटेलहरूमा बसिरहेको अवस्था छ।

हिजो बिहान घटना भएपछि अहिलेसम्म बिजुली आपूर्ति छैन। फोन सम्पर्क पनि विच्छेद हुँदा परिवारका सदस्यहरूले आफ्ना आफन्तहरूसँग घटनबारे जानकारी लिन सकिरहेका छैनन्।

धेरै पटक प्रयास गर्दा मात्रै बल्ल बल्ल फोन लाग्छ। त्यो पनि सबै ठाउँबाट लाग्दैन। अहिले म भएको स्थानबाट लागिरहेको छ।

राहत सामग्री आउने क्रम यहाँ शिविरमा जारी छ र यहाँबाट विभिन्न ठाउँमा पठाउने कुरा भइरहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।