बाढीले बगाएर ल्याएका शवको व्यवस्थापनमा समस्या

Published
पढ्ने समय: २ मिनेट

रसुवाको भाेटेकाेशी नदीमा आएको बाढीका कारण मृत्यु भएकाहरूका शव व्यवस्थापनमा समस्या भइरहेको अधिकारीहरूले बताएका छन्।

चितवनको नदी तटीय क्षेत्रहरूमा शव भेटिने क्रम बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या देखिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।

चितवनको अस्पतालहरूमा ३० भन्दा बढी शव राख्न नसकिने भएपछि शव व्यवस्थापनका लागि भरतपुरको एउटा सरकारी कार्यालयमा व्यवस्था गरिएको उनले बताए।

"उक्त भवनमा तापक्रम मिलाएर शव राख्ने व्यवस्था मिलाइएको छ। उक्त भवनमा २ सय ५० वटा सम्म शव राख्न मिल्ने व्यवस्था मिलाइएको छ," प्रमुख जिल्ला अधिकारी अर्यालले भने।

चितवनका सुरक्षाकर्मीहरूका अनुसार चितवनको फिसलिङदेखि भरतपुर महानगरपालिकाको २८ नम्बर वडा गाेलाघाटसम्म शव सङ्कलन गरिएका छन्।

चितवनको नदी तटीय क्षेत्रबाट १ सय भन्दा बढी शव फेला परिसकिएको अधिकारीहरूले बताएका हुन्।

शवलाई पहिचान गर्न सकिने गरी राखिने

नदी तटीय क्षेत्रबाट सङ्कलन गरी ल्याइएको शवलाई पखालेर पहिचान गर्न सकिने गरी राखिने अधिकारीहरूले बताएका छन्।

भेटिएका शवको करिब ४० प्रतिशत क्षतविक्षत अवस्थामा रहेका कारण पहिचान खुल्न सक्ने अवस्था नभएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।

प्रहरी उपरीक्षक रामेश्वर पौडेलले शवहरूको पहिचानका लागि नम्बर दिएर अनि फोटो खिचेर राखिने बताएका छन्।

यदि त्यसरी पहिचान हुन नसके डीएनए परीक्षणबाट पहिचान गरिने उनले बताए।

"आफन्तहरूले विपद् सहायता कक्षमा गएर शव भए नभएको निर्क्योल गरेपछि सामान्य प्रक्रिया पूरा गरी शव दिने व्यवस्था गरिन्छ," प्रहरी उपरीक्षक रामेश्वर पौडेलले बताए।

शव खोज्न आउने आफन्तहरूको सहजताको लागि शव गृहको छेउमा हेल्प डेस्क स्थापना गरिने प्रजिअ अर्यालले बताएका छन्।

उक्त क्षेत्रमा आफन्तको खोजी गर्दै बाढी पीडित परिवारहरू आएका छन्।

रसुवाको भोटेकोशी नदी र तल त्रिशूलीमा आएको बाढीका कारण बिहीवार बिहानसम्म कम्तीमा २७० जनाको शव फेला परेको अधिकारीहरूले पुष्टि गरेका छन्।

८०० जनाभन्दा बढी सम्पर्कविहीन रहेको र खोजी उद्धार कार्य जारी रहेको उनीहरूले बताएका हुन्।

प्रभावित स्थानको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री वालेन्द्र शाह नुवाकोटमा पुगेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।