तिब्बतमा बनेको बाँधमा 'पानीको मात्रा घट्यो', तालको नक्साङ्कन गर्न ड्रोन प्रयोग
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले स्थानीय समयानुसार दिउँसो २ बजेपछि दिएको विवरणअनुसार तिब्बततर्फ नदी थुनिएर बनेको बाँधमा पानीको मात्रा केही घटेको छ। अहिले त्यहाँ सामान्य रूपमै उद्धारकार्य भइरहेको छ।
सीसीटीभीका अनुसार सरकारले परिचालन गरेका उद्धारकर्मीहरूले विपद्बाट प्रभावित क्षेत्रमा राहतकार्य गर्न उपलब्ध सबै उपाय प्रयोग गरेका छन्।
बीबीसीकी चीनस्थित संवाददाता लोरा बिकरका अनुसार चिनियाँ विज्ञहरूले पहिरो थुप्रिएर बनेका दुईवटा तालको नक्साङ्कन गर्न ड्रोन प्रयोग गरेका छन्।
चिनियाँ उद्धारकर्ताहरूले नेपाल र तिब्बतका बीच रहेको क्षेत्रमा पुग्न बाढीको जोखिम घटाउन प्रयास गरेको बताइएको छ।
तिब्बततर्फ रहेको उक्त क्षेत्रमा ५०० जना भन्दा बढी मानिस बेपत्ता छन्।
बिकरका अनुसार त्यहाँ निरन्तर वर्षा हुँदा ताल फुट्न सक्ने र बाढी आउन सक्ने चिन्ता अधिकारीहरूले व्यक्त गरेका छन्।
दक्षिणी तिब्बतको विपद्ग्रस्त क्षेत्रबाट १,००० जनाभन्दा बढी मानिसको उद्धार गरिएको छ। तीमध्ये ५०० जनाजति विदेशी पर्यटक छन्।