बालेन शाह र नरेन्द्र मोदीको कसिलो अङ्कमालले नेपाल भारत सम्बन्धका समस्या हल गर्छ?

तस्बिर स्रोत, Nepal PMO
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई स्वागत गर्न नोभेम्बर २३ तारखिकका दिन उभिइरहेका भारतीय प्रधानमन्त्री मोदी। गार्ड अफ अनर लिन भारतीय राष्ट्रपति भवन पुगेका बालेन शाहले मोदीलाई नमस्कार गर्छन्। हात अघि बढाउँछन्। हात मिलाएपछि दुवै नेताले अङ्कमाल गर्छन्।
जेन जी आन्दोलनपछि गएको फागुनमा भएको आम चुनावबाट झन्डै दुई तिहाइ नजिकको शक्ति आर्जन गरेको सरकारको नेतृत्व गरिरहेका वालेन्द्र शाहको भारतीय प्रधानमन्त्री मोदीसँगको यो पहिलो भेटघाट थियो।
फरक फरक पुस्ताको प्रतिनिधित्व गर्ने यी दुई नेताबीच विगतमा दुई पल्ट टेलिफोनमा कुराकानी भएको बताइन्छ। राष्ट्रपति भवनको औपचारिक समारोहमा प्रधानमन्त्री शाहलाई भारतीय सेनाले गार्ड अफ अनर दिएको थियो भने प्रधानमन्त्री मोदीले सेनाध्यक्षसहित सरकारका उच्चपदस्थ अधिकारीहरूसँग परिचय गराएका थिए।
त्यसपछि दुई नेताहरूबीच हैदरावाद हाउसमा महत्त्वपूर्ण छलफल भएको थियो। उनीहरूले एकान्तमा लामो कुरा गरेको बताइएको छ। जसका कारण सञ्चारकर्मीलाई सम्बोधन गर्ने कार्यक्रम नै ढिला सुरु हुन पुगेको थियो। आफ्नो सम्बोधनमा मोदीले प्रधानमन्त्री वालेन्द्र शाहको खुलेर प्रशंसा गरे।
"केही महिनाअघि, विश्वकै सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्र सङ्घलाई सम्बोधन गर्दा हामीले उहाँको दूर दृष्टिको स्पष्ट झलक पाएका थियौँ। र आज, विगत केही घण्टामा भएका हाम्रा छलफलहरूमार्फत्, मैले नेपालको भविष्य तथा भारत-नेपाल सम्बन्धका सन्दर्भमा उहाँको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको छु। यस वर्ष नेपाली जनताले उहाँलाई दिएको ऐतिहासिक जनादेशले नेपालको नयाँ पुस्ताको आकाङ्क्षा र आशालाई प्रतिबिम्बित गर्दछ।"
मोदीले नेपाली युवाहरूको सपना साकार पार्न भारत सरकारले सघाउने घोषणा गरे। दुवै देशबीच स्पष्ट लक्ष्य, आपसी विश्वास रहेको र त्यसलाई साकार पर्ने सामर्थ्य भएको चर्चा गरे।

तस्बिर स्रोत, Reuters
नेपाली भाषामा सम्बोधन गरेका नेपाली प्रधानमन्त्रीले चाहिँ नेपाल भारत सम्बन्धलाई उनकै शब्दमा 'अझ सुदृढ र युगसापेक्ष बनाउने उद्देश्य'ले भारतीय नेतासँग दूरगामी छलफल गरेको बताए।
"हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ; युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ; विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ।"
झन्डै ८ वर्षपछि नयाँ दिल्लीले नेपाली प्रधानमन्त्रीलाई राजकीय भ्रमणको निम्तो दिएको थियो। भारतीय विदेशमन्त्री एस जयशङ्कर, प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मु जम्मा तीन जनासँग मात्रै उनको भेटवार्ताको कार्यसूची थियो।
फेरिएको सन्दर्भ तर 'परम्परागत परिणाम'
नेपालमा जेन जी आन्दोलनपछिको सन्दर्भ र भारतले छिमेकी देशहरूसँगको सम्बन्धमा खेपिरहेको चुनौतीहरूका माझ दुई देशले महत्वपूर्ण सुरुवात गर्ने ठानेका प्राध्यापक मेहन्द्र पी लामा यो भ्रमण परम्परागत किसिमको मात्रै देखिएको बताउँछन्।
उनले बीबीसीसँग भने, "युवा पीँढीले केही ठूलो हुनुपर्छ, हाम्रो सपना कल्पनाबारेमा पनि कुरा हुनुपर्छ भन्ने सन्दर्भ थियो। छिमेकी राष्ट्रहरूसँग भारतको अलिकति बिग्रँदो स्थितिका कारण हामीले नयाँ कुरा गर्नुपर्छ जसलाई अरू छिमेकीहरूले पनि उदाहरणका रूपमा लिऊन् भन्ने खालको सन्दर्भ भारतमा थियो। नयाँ पहल हुनुपर्छ भन्ने परिस्थिति थियो।"
"परिस्थिति चाहिँ पूर्णतया नयाँ तर भ्रमणबाट जुन कुराहरू आयो त्यो पारम्परिक कुराहरू मात्रै आयो। सम्बन्धमा परिवर्तन आउँछ कि भन्ने मैले यो पालि सोचेको थिए। एकतर्फी निर्भरतालाई त्यागेर पारस्परिक निर्भरताको कुरा आउँछ कि जस्तो लागेको थियो। एकतर्फी निर्भरताको सम्बन्ध भएकै कारणले गर्दा भारत नेपाल सम्बन्धमा अहिलेसम्म सधैँ तलमाथि भइरहेको छ।"

तस्बिर स्रोत, Getty Images
भ्रमणको उपलब्धिका रूपमा हेरिएकोह त्रिशूली भोटेकोशी बाढीपछि भारतले नेपाललाई अहिलेसम्मकै ठूलो आर्थिक सहायता घोषणा गर्यो जसको ठूलो हिस्सा ऋण रहेको छ।
दुई खर्ब ४० अर्ब नेपाली रुपियाँ बराबरको उक्त सहयोगमध्ये ५६ अर्ब रुपैयाँ विपद्पछिको पुनर्निर्माणसहितका लागि भारतले दिएको अनुदान हो।
केही समय पहिले नेपालको राष्ट्रिय योजना आयोगले बाढीपछिको पुनर्निर्माणका लागि ७ खर्ब ६ अर्ब रुपैयाँ भन्दा बढी लाग्ने आकलन गरेको थियो।
भारतले घोषणा गरेको आर्थिक सहायतामध्ये बाँकी १ खर्ब ८४ अर्ब रुपियाँ लाइन अफ क्रेडिट हो। त्यसलाई सम्पूर्ण रूपमा ऊर्जा परियोजनामा खर्च गरिने दुवै देशले घोषणा गरेका छन्। नेपालका परराष्ट्र सचिव र भारतका काठमाण्डूस्थित राजदूत सहअध्यक्ष रहने संयन्त्रले यसको कार्यान्वयनका सर्तहरू निर्धारण गर्ने भनिएको छ। विगतमा सन् २०१५ को विनाशकारी भूकम्पपछि भारतले नेपाललाई यस्तै प्रकारको एउटा लाइन अफ क्रेडिट जारी गरेको थियो तर विभिन्न सर्तहरूका कारण त्यसको खर्च हुन सकेको थिएन।
एक्स्पोर्ट इम्पोर्ट ब्याङ्क अफ इन्डियाका माध्यमबाट भारतले यस्तो सहुलियतपूर्ण कर्जा प्रवाह गर्छ र यसपालि नेपालसँग भएको समझदारी अनुसार दुई देशबीच स्थीर विनियम रहेको भारुमा ऋण लिइएको छ।
सहमति र सम्झौताको कार्यान्वयनको प्रश्न

तस्बिर स्रोत, Getty Images
यो भ्रमणमा काठमाडौ-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन सहमत भएको दुई देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ। भारतसँग थप हवाई रुट र भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहुँदै विदेशमा उडानका लागि सहयोग माग्दै आएको नेपालले उक्त समझदारीलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरिरहेको छ।
भारतले पूर्वी सीमाना नजिकैको बागडोगरा विमानस्थललाई लक्षित गर्दै हवाई मार्गको पहुँच माग गरिरहेकाले पछिल्लो सैद्धान्तिक सहमतिको कार्यान्वयन प्राविधिक सहमतिमा निर्भर हुने देखिन्छ।
युवा र खेलकुदसँग जोडिएका विषयले पनि महत्त्वपूर्ण स्थान पाएको देखियो। भारतले इन्डिअन इन्स्टिट्यूट अफ टेक्नोलोजीको एउटा क्याम्पस नेपालमा स्थापना गर्ने घोषणा गर्यो भने स्टार्ट अफ इन्क्यूबेटर र इनोभेसन हब बनाउने पनि वाचा गर्यो।
क्रिकेटबारे दुई प्रधानमन्त्रीबीच लामो छलफल भएको थियो। क्रिकेट पूर्वाधारको विकास र खेलाडी प्रशिक्षणमा सघाउने वाचा भारतीय प्रधानमन्त्री गरे जुन विगतमा पनि हुन थालेका थिए।
विगतमा जस्तो समझदारीपत्र आदानप्रदानदेखि सम्पर्क सञ्जालका परियोजनाहरू शिलान्यास र सञ्चालनमा आएका घोषणा गर्ने क्रम यसपटक पनि जारी रह्यो। दुवै प्रधानमन्त्रीले झन्डा हल्लाएर अयोध्यादेखि जनकपुरसम्मको रेल सेवाको उद्घाटन गरेका थिए।
नेपाल भारतबीच विगतमा समझादरी भएका यस्ता कतिपय सम्झौताहरूको कार्यान्वयनमा समस्या देखिने गरेको छ।
यसपटक दुवै प्रधानमन्त्रीहरूले उच्चस्तरीय अनुगमन संयन्त्रलाई सक्रिय तुल्याउने सहमति गरेका छन्। नेपालका विदेश सचिव र भारतका राजदूत सम्मिलित उक्त संयन्त्रको बैठक प्रत्येक ६ महिनामा एक पटक बस्ने र यसले परियोजनाहरूको कार्यान्वयनमा तीव्रता सुनिश्चित गर्ने भनिएको छ।
सीमाबारे कतिको मजबुत ढङ्गले कुरा उठ्यो

तस्बिर स्रोत, Prabin Ranabhat/Nepal Photo Librar
२५ घण्टाभन्दा छोटो समय भारतमा बिताउँदा नेपाली प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धमा लामो समयदेखि थाँती रहेका विवादित मुद्दाको सार्वजनिक चर्चा गरेको देखिएन। दुई देशले जारी गरेको संयुक्त विज्ञप्तिको १५ औँ बुँदामा दुई देशका प्रधानमन्त्रीले परराष्ट्र सचिवलाई थाँती रहेका सीमा समस्याहरू हल गर्न निर्देशन दिएको उल्लेख गरिएको छ।
काठमाण्डूको मेयर हुँदा आफ्नो कार्यकक्षमा सन् १८१६ को सुगौली सन्धिभन्दा अघिको ग्रेटर नेपालको नक्सा राखेका बालेन शाहले प्रधानमन्त्री भइसकेपछि संसद्मा बोल्दै लिपुलेक लिम्पियाधुराबारे ब्रिटेनसँग पनि कुरा गरेको बताएका थिए। त्यसबेला उनले नेपालले पनि भारतको भूमि मिचेको धारणा राखेपछि नै नेपालको परराष्ट्र मन्त्रालयले सो भनाइ दशगजा क्षेत्र अतिक्रमण र "क्रस बोर्डर अकुपेशन" अर्थात् 'सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको प्रष्टीकरण दिएको थियो।
सीमा व्यवस्थापन र अतिक्रमणबारे छलफल गर्न दुई देशबीच संयन्त्र रहेको र तिनले काम गरिरहेको बताएका भारतीय विदेश सचिव विक्रम मिश्रीले लिपुलेकको प्रसङ्ग भने नउठेको बताएका थिए।
उनको भनाइ थियो, "सीमासँग सम्बन्धित विषयहरूबारे चर्चा भएको छ…. तर आज लिपुलेकबारे कुराकानी भएन। तपाईँलाई थाहा छँदै छ, लिपुलेक भारत र चीनबीचको पास हो। लामो समयदेखि दुवै देशहरूले यसलाई व्यापार र अन्य गतिविधिका लागि प्रयोग गर्दै आएका छन् र अहिले पनि अवस्था त्यही हो।"
दुई देशहरूले विकसित नेपाल र समुन्नत भारत: साझेदारीको पुनर्परिकल्पना नाम दिइएको १० बुँदे दस्ताबेज पनि सार्वजनिक गरेका छन् जसलाई आपसी सम्बन्धको नयाँ ब्लूप्रिन्ट भनिएको छ। सहकार्यका १० क्षेत्र निर्धारण गरिएको उक्त दस्ताबेजमा सन् १९५० को सन्धि पुनरवलोकनदेखि थाँती रहेका जलस्रोत, ऊर्जा र सीमासहितका विषय आपसी संवादबाट हल गरिने उल्लेख गरिएको छ। नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले लामो समयदेखि उठाएका विषय यो दस्ताबेजले सम्बोधन गरेको बताए।
उनले भने, "नेपालले ऐतिहासिक रूपमा नै हाम्रो जग्गाको दाबा स्पष्ट रूपमा राखेको छ। त्यसको समाधान हामी शान्तिपूर्ण वार्ताबाट गर्न चाहन्छौँ। त्यही प्रयोजनका लागि हामीसँग भएका विद्यमान समितिहरूलाई सक्रिय गरायौँ। हामीले हाम्रो विषयहरू छन्। उच्च तहमा छलफल गर्नुपर्यो भनेर अडान लिएका छौँ।"
कसिलो अङ्कमालको परीक्षण नतिजाबाट
सन् २०१६ मा नेपाल र भारतका विज्ञ सम्मिलित प्रबुद्ध व्यक्तिहरूको समूहले सीमा विवाद र असमान भनिएका सन्धि सम्झौताको परिमार्जनसहितका विषयहरूमा आफ्नो राय सुझावसहितको प्रतिवेदन सन् २०१८ मा तयार गरेको थियो। नेपाली प्रधानमन्त्री बालेन शाह काठमाण्डूमा आइपुग्दा नपुग्दै भारतले उक्त प्रतिवेदन अप्रासङ्गिक भइसकेको टिप्पणी गरेको थियो।
विक्रम मिस्री भन्छन्, "तपाईँले इपीजीको कुरा गर्नुभयो। म भन्छु, तपाईँलाई थाहा नै छ, त्यो पहिलाको कुरा हो। हामी यो विशेष मुद्दामा भविष्यतर्फ हेरिरहेका छौँ। पछाडि हेरिरहेका छैनौँ। त्यही भएर तपाईँले भन्नुभएको प्रतिवेदन सान्दर्भिक छैन। हामी नेताहरूले आज घोषणा गरेको संयुक्त भिजनमा आधारित भएर भविष्यतर्फ उन्मुख हुनुपर्छ।"
नेपालमा कतिपय पुराना दलहरू र परराष्ट्र मामिला विज्ञहरूले दिल्लीले दुवै सरकारहरूले उक्त प्रतिवेदन ग्रहण गर्नुपर्ने धारणा राख्दै आएका छन्। नेपालका परराष्ट्र मन्त्री खनालले ईपीजीभित्रका विषयवस्तु पनि नेपाल भारतको नयाँ भिजन डक्युमेन्टभित्र 'समाहित' रहेको प्रतिक्रिया दिएका छन्।
नेपाल भारत सम्बन्धलाई गहिरो बनाउने उपायहरू इपीजी प्रतिवेदनमा समेटिएको भविष्यमा सो प्रतिवेदन सार्वजनिक भएपछि थाहा हुने बताएका प्रबुद्ध समूहका सदस्य रहेका लामा त्यो पुरानो भयो भन्नु सुँहाउँदिलो नभएको ठान्छन्।

तस्बिर स्रोत, Narendra Modi/Facebook
नेपाल भारत सम्बन्धका जानकार प्राध्यापक महेन्द्र पी लामा भन्छन्, "दुई देशबीचको सम्बन्धलाई व्यक्तिमा छाड्नुहुँदैन। जम्मै कुरालाई संस्थागत गर्नुपर्छ। ताकि व्यक्ति आउँदा वा जाँदा कुनै फरक नपरोस्। यहाँ सबै व्यक्तिगत हिसाबमा चल्ने भयो र व्यक्ति नभएको खण्डमा सबै कुरामा शिथिलता देखा पर्न सुरु गर्यो।"
संस्थागत संरचनाहरूलाई बलियो बनाएकै कारण भारत र बाङ्ग्लादेशले सीमा विवाद र गङ्गा जल सन्धि टुङ्गाएको उदाहरण दिएका उनले नेपाल र भारतबीच त्यस्तो संयन्त्र नै नरहेको टिप्पणी गरे।
सन् २०१४ मा प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक काठमाण्डू भ्रमण गर्दा नरेन्द्र मोदीले न्यानो स्वागत पाएका थिए। दुई देशको सम्बन्धबारे उनले राखेका दृष्टिकोणको प्रशंसा भएको थियो। तर त्यस यताका वर्षहरूमा नाकाबन्दी र सीमा विवादजस्ता विषयले नेपाल भारत सम्बन्धलाई निक्कै चिसो बनायो।
बालेन मोदीको पहिलो अङ्कमाल जति कसिलो देखिएको छ, आगामी दिनमा नतिजाले त्यसलाई परीक्षणको कसीमा राख्ने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















