तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बाढी प्रभावित क्षेत्रमा अत्यावश्यकीय सेवाको अवस्था कस्तो छ? कसरी मद्दत लिने?
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
रुसुवा-त्रिशूली बाढीपछि घरबार गुमाएका कैयौँ मानिसहरू रुसुवा, नुवाकोट, धादिङ र काठमाण्डूका विभिन्न होल्डिङ सेन्टरहरूमा बस्दै आएका छन्।
सुरुमा ती सेन्टरहरूमा बस्न आउने मानिसको सङ्ख्या थोरै रहे पनि सोमवारदेखि बढ्दै जाँदा खाना, बास र स्वास्थ्य समस्याको सम्भावना बढेको बताइएको छ।
बाढीपीडित रसुवाका दावा मिङ्मार तामाङ नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ स्थित कभर्ड हलमा चार दिनदेखि बस्दै आएका छन्।
सुरुका दुई दिन खाना बस्न राम्रो भए पनि अहिले मानिसहरूको चाप बढेसँगै समस्या देखिन थालेको उनले बताएका छन्।
"यहाँ ग्यास सकियो भनेपछि बाहिरबाट रोटी मगाएर हामीलाई खुवाउनुभएको थियो। सुरुको समयमा यहाँ सबै कुराको राम्रो व्यवस्थापन थियो। अहिले मानिसहरूको सङ्ख्या बढेपछि समस्या देखिएको हो," उनले भने।
उनका अनुसार उक्त कभर्ड हलमा मात्रै अहिले १४८ जनालाई राखिएको छ।
होल्डिङ सेन्टरमै स्वास्थ्य उपचारका लागि स्वास्थ्यकर्मीहरू दैनिक बिहान र बेलुकी उपस्थित भएर परीक्षण गर्ने गरेको तामाङले बताए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नुवाकोट, धादिङ, रुसुवा र काठमाण्डूका विभिन्न होल्डिङ सेन्टरहरूमा करिब २९ सय मानिसहरू राखिएका छन्। सबैभन्दा धेरै नुवाकोटमा १९ वटा होल्डिङ सेन्टरमा करिब २५ सय मानिसलाई राखिएको छ।
रसुवाकी पेम्बा घले तामाङ विदुर नगरपालिका वडा नम्बर ४ स्थित तामाङ प्लाजाको ब्याङ्केट हलमा शनिवारदेखि बस्दै आएकी छन्।
"यहाँ खाने समस्या छैन। तर मौसमको कारणले हो वा केले हो बच्चाहरूलाई रुघा, खोकी ज्वरो आइरहेको छ। अनि ठूला मानिसलाई पनि बान्ता आउने भएको छ," पेम्बाले भनिन्।
"त्यसपछि हिजो प्रहरीले गाडीमा राखेर उहाँहरूलाई नजिकैको स्वास्थ्य चौकीहरूमा लगेर उपचार गराउनुभयो।
यसरी कुनै होल्डिङ सेन्टरमा स्वास्थ्यकर्मी नभएको वा कुनैमा खाना पकाउने ग्यासको अभाव भएको विषयमा कसरी व्यवस्थापन मिलाइँदै छ?
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले भने, "ग्यासको अभाव भएको जानकारी आएलगत्तै प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर ग्यास व्यवस्थापनको कुरा अगाडि बढाएका छौँ। अनि स्वास्थ्यको समस्या सम्बोधनका लागि स्वास्थ्य अधिकारी र बिहानमात्रै बिदुर नगरपालिकाका स्वास्थ्य प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायतको टोलीसँग स्वास्थ्यकर्मी नभएका शिविरहरूमा पनि स्वास्थ्यकर्मी पठाइएको छ र केहीमा पठाउने क्रम जारी छ।"
बास गुमाएकालाई मात्रै नभइ आफ्ना आफन्त गुमाएर खोजी गर्न आउनेहरूका लागि पनि बस्ने व्यवस्था मिलाइएको अधिकारीहरूले बताएका छन्।
बाढीमा हराइरहेका व्यक्तिको खाेजीमा आउने व्यक्तिहरूको खानपान, बास, ओैषधी उपाचार लगायत अत्यावश्यकीय सेवाहरू चितवनका विभिन्न सङ्घसंस्था उद्याेगी व्यावसायीलगायत अस्पतालहरूकाे सहयाेगमा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।
बाढीले बगाएर तीन सयभन्दा बढी शव फेला परेको चितवनमा आफन्तको खाेजी गर्दै आउनेहरूका लागि खान बस्नकाे लागि हाेटल व्यावसायी सङ्घले चितवनमा नि:शुल्क व्यवस्था मिलाएको जनाएको छ।
हाेटल व्यवसायी सङ्घ चितवनका महासचिव कृष्ण कुमार महताेले अहिलेसम्म ५ सय ७५ जनालाई ६० वटा हाेटलमा आलाेपालाे गरेर व्यवस्था मिलाइएको बताए।
त्यस्तै चितवनमा अटोरिक्सा व्यवसायीहरूले पनि २५ वटा रिक्सामार्फत् बाढीमा हराएका मानिसका आफन्तलाई नि:शुल्क यातायातको सुविधा दिएका छन्।
बाढीले बगाएर ल्याएर सङ्कलन गरेकाे शवहरू चितवनका एम्बुलेन्सहरूले नि:शुल्क ओसारपसार गरेकाे संयुक्त एम्बुलेन्स चालक सङ्घका अध्यक्ष नवराज लामिछानेले बताए।
चितवनमा हालसम्म ८ सय ३८ जनाले हराइरहेकाहरूको नाम टिपाएका छन्। चितवनमा बाढीका कारण घरबारविहीन भएर बस्न पुग्ने भन्दा पनि शवको खोजिमा पुग्नेहरूको सङ्ख्या धेरै रहेको अधिकारीहरूले बताएका हुन्।
सरकारले व्यवस्थापन कसरी गरिरहेको छ?
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्मको समन्वयमा खाना, पानी, बास र स्वास्थ्य उपचारजस्ता अत्यावश्यकीय सामग्रीहरूको व्यवस्थापन गरिरहेको जनाएको छ।
प्राधिकरणका गुनासो सुन्ने अधिकारी सुशीलकुमार श्रेष्ठले केन्द्रमा टोलीले कुन स्थानमा के को आवश्यकता छ भन्ने बुझेर जिल्ला र स्थानीय तहको समन्वयमा ती सामाग्री पठाउने व्यवस्था मिलाइएको बताएका हुन्।
उनले कुनै पनि ठाउँमा बाढीपीडितलाई खाना, वास वा स्वास्थ्य उपचार चाहिए नजिकै रहेका शिविर वा होल्डिङ सेन्टरमा रहेका स्थानीय तहका अधिकारीसँगको समन्वयमा मद्दत लिनसक्ने बताए।
"त्यस्ता केन्द्रहरूमा स्थानीय तहकै मानिसलाई जिम्मेवार बनाइएको छ। उहाँसँग सम्पर्कमा आएर बस्न सक्नुहुन्छ," श्रेष्ठले भने।
"केन्द्रले विभिन्न सेल्टर क्लस्टरहरूको नेतृत्व गरेको छ। ती क्लस्टरहरूले त्यहाँको आवश्यकता हेरेर व्यवस्थापन गरिरहेको छ। त्यसमा सरसफाइदेखि स्वास्थ्यको उपचारसम्म पर्छन्।"
त्यसका लागि प्राधिकरणअन्तर्गतको मनसुन प्रतिकार्यमा रहेका ८ वटा क्लस्टरले नै अहिले काम गरिरहेको उनले बताए।
नियमित औषधि खानुपर्नेहरूले कसरी औषधि पाउने?
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रभावित क्षेत्रका होल्डिङ सेन्टरहरूमा हेल्प डेस्क बनाइएको र त्यहाँ स्वास्थ्यकर्मीले नियमित उपचार गर्ने व्यवस्था मिलाइएको जनाएको छ।
मन्त्रालयले ती हेल्प डेस्कमा आवश्यकता अनुसार स्वास्थ्य सामग्रीहरू पनि परिचालन गरिएको जनाएको हो।
कतिपय बाढीपीडितहरूको नियमित खाँदै आएको मधुमेह, उच्चरक्तचाप, कोलेस्टेरोललगायतका औषधिहरू पनि बाढीसँगै गुमेका छन्।
त्यस्ता व्यक्तिहरूले पनि हेल्पडेस्कमा पुगेर आफ्नो समस्या बताउँदा स्वास्थ्यकर्मीहरूले मद्दत गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताएका हुन्।
"आफूले खाँदै आएको औषधि भेटिएन भने त्यहाँ रहेका स्वास्थ्यकर्मीलाई जानकारी गराउनु भयो भने उहाँहरूले उपलब्ध गराउनुहुन्छ। हरेक जिल्लामा औषधि उपलब्ध गराइएको छ," उनले भने।
त्यसबाहेक १११५ र १११६ नम्बरका हटलाइनमा फोन गरेर स्वास्थ्य सेवा र स्वास्थ्य मनोसामाजिक परामर्श लिनसकिने उनले बताए।
"मानिसहरूका लागि नियमित स्वास्थ्य सेवा र नियमित औषधि उपलब्ध गराउन जिल्ला स्वास्थ्य कार्यालयले सेल्टर र प्रभावित ठाउँमा व्यवस्थापन गरिएको छ। विभिन्न अस्थायी शिविरमा रहेका हेल्पडेस्कबाट पनि पाइन्छ," उनले भने।
राहत सामग्री सहायता गर्न चाहनेले कसरी गर्ने?
विनाशकारी बाढीले क्षति पुर्याएयता प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन थुप्रै व्यक्ति र सङ्घसंस्था इच्छुक रहेको देखिन्छ।
त्यसका लागि केन्द्रमा सम्पर्क गरी आवश्यकता हेरेर सहायता गर्न सकिने प्राधिकरणका गुनासो सुन्ने अधिकारी श्रेष्ठले बताए। त्यस्ता व्यक्ति वा संस्थाले सिधै होल्डिङ सेन्टरमा पुगेर सहायता सामग्री दिन नपाइने उनले बताए।
"केन्द्रमा राहत परिचालन गर्ने टोली छ। त्यो टोलीलाई भेटेर दिन चाहेको विषयमा बुझ्ने र आवश्यकता थाहा पाएर त्यो अनुसार दिन सकिने छ। व्यक्ति वा संस्थाले दिन चाहेको सामग्री उपयुक्त छ भने त्यसलाई लिएर सम्बन्धित जिल्लामा पठाउने व्यवस्था गरिएको छ," श्रेष्ठले भने।
राहत सामग्री दिन चाहने व्यक्ति वा संस्थाले प्राधिकरणको वेबसाइटमा दिइएको जानकारी हेरेर पनि सहायता गर्न सक्ने उनले बताए।
"हाम्रो वेबसाइटमा कसैले राहत उपलब्ध गराउने भए के के राहत सामग्री आवश्यक छ भनेर हामीले सूची राख्ने गरेका छौँ र त्यहाँ सम्पर्क व्यक्ति पनि उल्लेख गरिएको छ। त्यहाँ सम्पर्क गरेर दिन सक्नुहुन्छ," उनले भने।
प्रभावित जिल्लामध्ये खासगरी रसुवाका दुर्गम भेगमा राहत सामग्री पुग्न नसकेको र उद्धारको काम प्रभावकारी हुन नसकेको भन्ने गुनासा सामाजिक सञ्जालहरूमा देखिएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका अधिकारीहरूले सबै ठाउँमा राहत पुर्याउने प्रयास जारी रहेको बताएका छन्। तर रसुवामा भने समस्या भएको स्वीकार गर्दै सुधारमा जोड दिइएको प्राधिकरणले जनाएको छ।
"जहाँजहाँ पूरै सडक सम्पर्कविच्छेद भएको छ, त्यहाँ कसरी पुर्याउन सकिन्छ भनेर काम गरिरहेका छौँ। कतिपय ठाउँमा बाटो बनाउँदै, डोजरले बाटो खुलाउँदै राहत सामग्री पुर्याइरहेका छौँ," प्राधिकरणकी प्रवक्ता शान्ति महतले भनिन्।
नुवाकोटबाट शक्तिमाया तामाङ र चितवनबाट ईश्वर जोशीको सहयोगमा
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।