रसुवा र तातोपानी नाका बन्द हुँदा चीनबाट ल्याइने सामानमा परेको असर

Published
पढ्ने समय: ४ मिनेट

चीनसँगको रसुवा र तातोपानी नाका बन्द भएसँगै चीनबाट नेपाल आयात गरिने सामान हिमाली जिल्ला मुस्ताङको सीमामा रहेको कोरला नाकाबाट आउन थालेको अधिकारीहरूले बताएका छन्।

त्यहाँको नाका प्रभावकारी सञ्चालनका लागि पहिले भएको भन्दा पाँचगुणा बढी जनशक्ति पठाइएको बताइएको छ।

अहिले उक्त नाकाबाट दैनिक ३०/३१ वटा कन्टेनर भित्रिइरहेको मुस्ताङस्थित भन्सार कार्यालयले जनाएको छ।

कोरलाबाट सामान राजधानी काठमाण्डूसम्म ल्याइपुर्‍याउन बाटो लामो पर्ने र सामान भित्रिन पनि समय लाग्ने हुँदा त्यसले चाडबाड लक्षित सामान भित्र्याउन कठिन परिस्थितिको सामना गर्नुपरिरहेकफो उनीहरूले बताएका हुन्।

दैनिक ५/६ कन्टेनर सामान भित्रिँदै आएकोमा यस अघि वैकल्पिक नाकाका रूपमा रहेको कोरला नाका नै अहिले एक मात्र नाका बन्न पुगेको छ। त्यहाँबाट भित्रिने सामानको चाप धेरै गुणा बढेको अधिकारीहरूले बताएका छन्।

"चीन हुँदै नेपाल आउने चाडबाड लक्षित सामानहरू डाइभर्ट गरेर कोरला नाकाबाट ल्याउने काम भइरहेको छ र समुद्री मार्गबाट ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ," उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने।

"यसले गर्दा समयमा सामान आयात नहुँदा चाडपर्वलक्षित व्यवसायीले ल्याइरहेको सामान बजारमा नआइपुग्ने र उपभोक्तामाझ नपुग्ने अवस्था देखिएको छ। यसले अवस्था अलि कठिन बनाएको छ।"

चाप बढेसँगै कोरला नाकामा कर्मचारी पनि लगभग पाँच गुणा बढी थपिएको भन्सार विभागले जनाएको छ।

आफूले भित्र्याउने सामानहरूको मूल्य बाटो लामो पर्ने र समय लाग्ने हुँदा अब स्वाभाविक रूपमा बढ्ने व्यावसायीहरूले बताएका छन्।

दैनिक जनजीवनमै असर पर्ने हो?

भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीका कारण चीनसँगको मुख्य नाका रसुवागढी बन्द हुन पुग्यो।

त्यसकै केही दिनमा चीनले 'तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेपछि' अहिले ती नाका हुँदै आउन लागेका सबै सामान कोरला नाका हुँदै डाइभर्ट गरेर भित्र्याउने क्रम जारी रहेको अधिकारीहरूले बताएका हुन्।

चीनबाट नेपाल आयात हुने सामानहरूहरूमा लत्ताकपडा, इलेक्ट्रोनिक सामान, स्याउ, लगायत पर्छन्।

दाल, चामल, चिनी, तेल, सिमी, तरकारी, फलफूल पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यकीय दैनिक उपभोग्य सामान भने धेरै भारततर्फबाट नै भित्रिने गर्छन्।

यसै कारण चाडबाडको मुखमा चीनबाट भित्रिने सामानमा कोरला नाकामात्रै हुँदा असर परे पनि दैनिक जनजीवनमै तत्काल असर पर्ने नदेखिएको उद्योग मन्त्रालयका प्रवक्ता बस्नेतले बताए।

"अत्यावश्यकीय आपूर्तिको सन्दर्भमा खाँचो भइहाल्ने अवस्थामा पुग्दैन। तर लत्ताकपडा र इलेक्ट्रोनिक्स सामानमा चाहिँ अलि बढी निर्भर थियौँ त्यसैले त्यो विषयमा तत्काल नभए पछि असर देखिन सक्छ," बस्नेतले भने।

"हामीले यो विषयमा निजी क्षेत्रसँग पनि कुराहरू राखिरहेका छौँ। अहिले चाडपर्व लक्षित अत्यावश्यकीय वस्तुको अभाव हुन नदिने, मूल्यमा अस्वभाविक बृद्धि हुने अवस्था सिर्जना हुन नदिने भन्ने छलफल पनि जारी छ।"

कोरला नाका पहिलादेखि नै रहे पनि व्यापारिक सामान आयात गर्ने गरी गत वर्षको भदौ अन्तिम सातामात्रै सञ्चालनमा आएको थियो।

अहिले त्योमात्रै विकल्प बनेपछि त्यहाँबाट रफ्तारमा सामानहरू भित्रिरहेको भन्सार विभाग काठमाण्डूका निर्देशक किशोर बर्तौलाले बताए।

"तीनवटै नाकाबाट भित्रिने सामान अहिले कोरलाबाट नै भित्रिइरहेको छ। पहिला त्यहाँ ४/५ जना हुनुहुन्थ्यो भने अहिले यताबाट १८/१९ जना पठाएका छौँ," बर्तौलाले भने।

"त्यहाँ क्वारन्टीनहरू त छ। तर अन्य भन्सारको तुलनामा त्यहाँ पूर्वाधार छैन।"

कोरला नाकाको जाँचपास चोभारस्थित सुक्खा बन्दरगाहबाट हुने व्यवस्था मिलाइएको विभागले जनाएको छ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालका अनुसार उक्त नाकाबाट भदौ १० यतामात्रै ६ सयभन्दा बढी कन्टेनर भित्रिइसकेका छन्।

"भदौ १० पछाडिमात्रै ६२१ वटा कन्टेनर भित्रिएको छ। दिनकै हिसाबले गर्ने भए पनि ३०/३१ वटा कन्टेनर भित्रिएको अवस्था हो। बिदा कटाउने हो भने दिनमै ४०/५० वटा कन्टेनर गइरहेको छ," उनले भने।

"जबकी भदौ १० सम्म यो आर्थिक वर्षको ४० दिनमा १३३ वटा कन्टेनर भित्रिएका थिए।"

उक्त नाकामा भौतिक पूर्वाधारको अवस्था कामचलाउमात्रै भएको उनले बताए।

चीनबाट सामान आयात गर्ने एउटामात्रै नाका हुँदा सामानको लागतमा पनि वृद्धि हुने र सामान आइपुग्न पनि समय लाग्ने हुँदा २० प्रतिशतसम्म सामानमा मूल्य बढ्नसक्ने नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले जनाएको छ।

सङ्घका अध्यक्ष रामहरि कार्कीले दशैँतिहार लक्षित नेपाल ल्याउन लागिएका ५/७ सयभन्दा बढी कन्टेनरहरू चीनका ल्हासा, सिगात्सेसहितका विभिन्न सहरमा अड्किएको बताएका छन्।

"चीनको एउटा कन्टेनर भनेको नेपालतर्फ कम्तीमा ३ कन्टेनर सामान हुन्छ। हाम्रो अनुमानमा दशैँतिहारका लागि करिब दुई हजार कन्टेनर नेपालभित्र आइपुग्नुपर्छ। हामीलाई अहिलेको चिन्ता भनेको ती सामान चाडबाड अगाडि ल्याउन सकिँदैन कि भन्ने हो," कार्कीले भने।

"ढुवानी महँगो पर्ने भएपछि १५-२० प्रतिशत मूल्य बढ्ने सम्भावना छ। सँगै समयमा सामान नै नआइपुग्ला भन्ने चिन्ता पनि छ।"

२०७२ सालको भूकम्प र २०७६ सालको कोरोनाभाइरसको महामारीपछि समुद्री मार्ग हुँदै पनि सामानहरू ल्याइएको अनुभव रहेको उनले बताए।

यो वर्ष दशैँतिहारका लागि भन्दा पनि जाडोका लुगा भने त्यही मार्ग हुँदै ल्याउनुपर्ने हुन सक्ने उनले बताए।

त्यसैले कूटनीतिक पहलमार्फत् तातोपानी नाका खोल्न आफूहरूले परराष्ट्रमन्त्रालयमार्फत् पहल हुनुपर्ने उनले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।