प्रधानमन्त्री जबाफ दिन कहिले जालान् संसद्, सभामुखले के हर्क सम्पाङ र अरू सांसदलाई कारबाही गर्न सक्छन्

तस्बिर स्रोत, Nepal Photo Library
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ६ मिनेट
प्रतिनिधिसभामा प्लाकार्डसहित उपस्थित भएर सरकारको विरोध गर्दै आएको श्रम संस्कृति पार्टीका सांसदहरूको व्यवहार "मर्यादाविपरीत" रहेको भन्दै सभामुख डोलप्रसाद अर्यालले "व्यवहार सच्याउन" चेतावनी दिएपछि त्यसको पक्ष र विपक्षमा धारणाहरू आइरहेका छन्।
अघिल्लो दिनको बैठकमा सभामुखले दिएको त्यस्तो चेतावनीपश्चात् बिहीवार प्रतिनिधिसभा बैठकमा पुनः प्लाकार्डसहित उपस्थित भएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क सम्पाङ)ले प्रधानमन्त्रीले संसद्मा आएर आफूहरूले उठाएका मुद्दाहरूको जबाफ दिनुपर्ने माग दोहोर्याए।
संसद्मा बोल्दै नेपाली कांग्रेसका सचेतकले यो प्रकरणमा सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहररूले नीलो स्कार्फ लगाएर प्रदर्शन गरेको स्मरण गराउँदै सदनलाई मर्यादित बनाउन प्रधानमन्त्रीलाई संसद्भित्र उपस्थित गराउन रुलिङ गरिनुपर्ने माग गरे।
प्लाकार्डसहित श्रम संस्कृति पार्टीका सांसद्हरूले गरिरहेको विरोधको विषयमा विज्ञ र विश्लेषकहरू एकमत छैनन्। संसद् सचिवालयका एक पूर्वसचिवले साङ्केतिक रूपमा विरोध जनाउने सांसदहरूको अधिकार रहेको बताए पनि अर्का सचिवले सदनलाई बहस र वैचारिक छलफलको थलो बनाइनुपर्नेमा जोड दिए।
बिहीवार नै सभामुख अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'लाई भेटेर विपक्षी दलहरूले संसद्मा उठाइरहेका विषयमा ध्यानाकर्षण गराएका थिए।
त्यस क्रममा भएको संवाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारी गराउँदै आफूले "सहजीकरण गरिरहेको" जानकारी दलहरूलाई गराएको सभामुखको सचिवालयले जनाएको छ।
यद्यपि प्रधानमन्त्री बालेन जबाफ दिन कहिले संसद्मा जान्छन् भन्ने स्पष्ट भइसकेको छैन।
सभामुखसँगको छलफलपछि पनि प्रधानमन्त्री प्रतिनिधिसभाको बैठकमा उपस्थित नभएको भन्दै बिहीवारको दोस्रो बैठकमा विपक्षी सांसदहरूले वेल घेराउ गरे।
प्लाकार्डसहित प्रदर्शन र सभामुखको चेतावनी

तस्बिर स्रोत, Nepal Photo Library
गत निर्वाचनबाट पहिलो पटक संसद्मा पुगेको नवगठित श्रम संस्कृति पार्टी र यसका नेता हर्कराज राईले सरकार नीतिहरूलाई लिएर विभिन्न प्रश्नहरू उठाउने गरेको पाइन्छ। उक्त दलका सात सांसद छन्।
बुधवारको प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद्हरूले प्लाकार्ड प्रदर्शन गर्दै नारा लगाएका थिए भने प्रधानमन्त्रीले सदनमा उपस्थित भएर जबाफ नदिने भए राजीनामा आउनुपर्ने माग गरेका थिए।
त्यसलगत्तै उनीहरूलाई सचेत गराउने क्रममा सभामुख अर्यालले सो पार्टीका अध्यक्ष र सांसदरूले "नियमित रूपमा सभाको मर्यादाविपरीत संसद्मा प्लाकार्ड देखाउने, अभद्र व्यवहार देखाउने" गरेको भन्दै सचेत गराएका थिए।
उनले उक्त दलका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन चेतावनी पनि दिए। त्यसलगत्तै उभिएर विरोध जनाएका श्रम संस्कृति पार्टीका अध्यक्ष राईलाई सदनमा आफ्नो धारणा राख्न सभामुखले अनुमति दिएका थिए।
त्यस क्रममा राईले सदनमा सांसद्हरूले उठाएका प्रश्नहरूको उत्तर दिन प्रधानमन्त्री आउनुपर्ने माग गरेका थिए। संसद्प्रति सरकार उत्तरदायी बन्नैपर्ने धारणा राख्ने क्रममा उनले संसद्मा उठेका विषयको "सात दिनभित्र मन्त्रीले जबाफ दिनुपर्ने" प्रतिनिधिसभा नियमावलीको प्रावधान कार्यान्वयन नभएकोबारे प्रश्न उठाएका थिए।
सभामुखको उक्त चेतावनीपछि पनि राई बिहीवारको बैठकमा प्लाकार्डसहित उपस्थित भए। उनले उभिएर प्लाकार्ड देखाएपछि सभामुखले उनलाई बोल्न दिए।
राईले सभामुखले सरकारका मन्त्रीहरूलाई सदनमा उपस्थित भएर जबाफ दिनुपर्ने 'रुलिङ' गर्नुपर्ने माग गरे।
"जनताप्रति सरकार जबाफदेही हुनैपर्छ। जनताहरूको प्रश्न सोधिने सदन हो, त्यो सदनमा सरकार नआउनु - यसले के जनाउँछ? ...ती प्रश्नहरूको उत्तर दिनुपर्ने उहाँहरूको कर्तव्य हो त्यो। प्रश्नहरूबाट भाग्ने जुन चलन छ, त्यसप्रति हाम्रो घोर आपत्ति छ," उनले भने।
नेपाली कांग्रेसको प्रश्न सभामुखतर्फ

तस्बिर स्रोत, RSS
बिहीवारको बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले सभामुख र सत्ताको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी दुवैप्रति प्रश्न उठाउँदै सदनमा आएर सांसदका प्रश्नको उत्तर सरकारले दिनैपर्ने माग गरेका थिए।
सभामुखले श्रम संस्कृति पार्टीको व्यवहारलाई "अमर्यादित" भनेको सन्दर्भ निकाल्दै उनले भने, "आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो। सरकारको जबाफदेहिता खोज्दै नीलो स्कार्फ घाँटीमा बाँधेर वेल घेरेको थियो। वेलमा पुगेर पलेँटी कसेर बस्ने अनि पुस्तक पढ्ने काम पनि हालको सत्तारूढ दलबाट भएको थियो।"
"त्यस बेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो। मेरो प्रश्न आफैँले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्ष दलको प्लाकार्ड कसरी अमर्यादित? (विगतको) त्यो पनि गलत थियो र अहिले पनि गलत र अमर्यादित भइरहेको छ भन्ने हाम्रो निष्कर्ष हो।"
प्रमुख प्रतिपक्षी दलका सांसद् राईले सदनको मर्यादा सभामुखले राख्नुपर्ने धारणा राख्दै मर्यादा राख्नुपर्ने दायित्व सरकारको पनि भएको बताए।
"जबसम्म रुलिङ गरेर म सँग दुईतिहाइ छ, म सदन मान्दिनँ भन्दै केही सय मिटर दूरीमा रहनुभएका प्रधानमन्त्री र सरकारलाई सदनप्रति जबाफदेही बनाउनुहुन्न, हिजो नीलो प्लाकार्ड बोकेर विरोध गर्ने र आज प्लाकार्ड प्रदर्शन गर्ने कार्य रोकिन्न।"
प्रतिनिधिसभाको बिहीवारको कार्यसूचीमा प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री सोविता गौतमले तीनवटा विधेयक पेस गर्ने कार्यक्रम रहेको भए पनि त्यसप्रति विपक्षी दलहरूले उठेर विरोध जनाएपछि बैठक केही समयलाई स्थगित गरिएको थियो।
त्यसपछि विपक्षी सांसदरूको नाराबाजी गर्न नछोडेको भए पनि उनले दोस्रो बैठक सञ्चालन गरे।
सभामुखसँग कस्तो अधिकार छ

तस्बिर स्रोत, Nepal Photo Libray
प्रतिनिधिसभाको नियमावली २०७९ ले सभामा सुव्यवस्था कायम गर्ने अभद्र व्यवहार गर्ने सांसदहरूलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था गरेको छ।
तर नियमावलीमा अभद्र व्यवहारको स्पष्ट परिभाषा गरिएको पाइँदैन। सभामुखले दिएको चेतावनी पालना नगर्ने सांसदलाई सभामुखले बैठकबाट निस्कन आदेश दिन सक्ने पनि व्यवस्था छ।
त्यसबाहेक मर्यादापालक प्रयोग गरी बाहिर निस्कन लगाउने, तीन दिनसम्म सदन वा समितिको बैठकमा भाग लिनबाट रोक लगाउनसक्ने व्यवस्था पनि गरिएको छ।
सभामुखको आसनको अवहेलना गर्ने वा सभामा जानीजानी बाधा पुर्याउने वा अभद्र व्यवहार गर्ने अनि संविधान र नियमावलीको उल्लङ्घन गर्ने सांसद्को नाम सभामुखले तोक्न सक्ने र निजलाई बढीमा १५ दिनसम्म सभा र समितिको बैठकबाट निलम्बन गर्ने अधिकार पनि उक्त नियमले दिएको छ।
संसद् सचिवालयका पूर्वसचिव सोमबहादुर थापा संसद्मा प्लाकार्ड देखाउने अभ्यास कतै पनि नरहेको उल्लेख गर्दै 'सभ्य तरिकाले प्रश्न' गरिनुपर्ने र त्यसको जबाफ सरकारले दिनुपर्ने बताउँछन्।
उनले भने, "संसद् भनेको सभ्य तरिकाले सरकारको नीति, कार्यक्रम र कार्य योजनाबारे प्रश्न गर्ने ठाउँ हो। त्यहाँ भित्रै प्लाकार्ड देखाउनु त्यत्ति राम्रो होइन। विरोधका विभिन्न शैली हुन्छन् तर संसदीय अभ्यासमा यस्तोलाई राम्रो मानिँदैन।"
संसद्मा प्रश्न गर्दा "एकले अर्कालाई सम्मान गर्नुपर्ने"मा जोड दिँदै उनले भने, "सम्मान भएन भने पनि अभद्र मानिन्छ। कतिपय शब्दहरू नै असंसदीय मानिन्छन्। कुटपिट, तोडफोडजस्ता अभद्र व्यवहारहरू हुन सक्छन्। हाम्रैमा पनि कुर्सीहरू तोडफोड भएका छन्, अर्थमन्त्रीले बजेट पेस गर्न जाँदा ब्रिफकेस नै तोडफोड भएको छ, जुन राम्रो हैन।"
उनले संसद्मा 'अनुशासन' हुनुपर्ने भन्दै त्यो नहुँदा त्यसो नभएमा संसद र जनप्रतिनिधि दुवैप्रति जनताको विश्वास नरहने उल्लेख गरे।
"यस्तो व्यवहार रोक्नलाई सभामुखले सचेत गराउनुपर्ने हो। यदि साह्रै अभद्र भयो भने दुई-तीन दिन बैठकबाट निष्काशन गर्न सक्छन्। प्लाकार्ड देखाउनेबाहेक छुट उहाँले दिनुहोला। सम्भवतः श्रम संस्कृति पार्टी पनि त्यत्ति गरम भएर नजाला।"
प्लाकार्ड प्रदर्शन 'कसरी भयो अभद्र व्यवहार?'

तस्बिर स्रोत, PMO
संसद् सेवामा झन्डै दुई दशक बिताएका संसद् सचिवालयका पूर्व सहसचिव तोयानाथ भट्टराई सभामा सुव्यवस्था कायम गर्ने अधिकार सभामुखको रहने भए पनि 'अभद्र व्यवहार' को स्पष्ट परिभाषा नियमावलीले नगरेको बताउँछन्।
"प्लाकार्ड भनेको पनि ध्यानाकर्षण होला। त्यसमा कस्तो कन्टेन्ट छ, त्यसमा जानुपर्ला। प्लाकार्ड प्रदर्शन गर्नु भनेको सञ्चारको एउटा माध्यममात्रै हो। त्यस्तो गर्नै मिल्दैन भनेर नियमावलीले भनेको छैन।"
उनले थपे, "जेलाई सार्वजनिक नैतिकता र आचरणबाहिरको कुरा हो भन्ने ठानिन्छ, त्यस्ता कुराहरूलाई अभद्र नै भन्नुपर्यो। संसद्मा बोल्नेहरूलाई सार्वजनिक कुराहरूलाई महत्त्व दिनुपर्ने हुन्छ। सार्वजनिक कुराहरू छन् भने अभद्र भन्न मिल्दैन। नियमले किटानी गरेको छैन।"
उनले कतिपय यस्तो अवस्थामा सभाभन्दा बाहिर नै सभामुख र सांसदहरूले छलफलमार्फत् निकास खोज्न सक्ने उल्लेख गर्दै आवश्यक पर्दा कार्यव्यवस्था समितिको समेत सल्लाह लिन सकिने जनाए।
कतिपय संसदीय व्यवहार अभ्यासबाट निर्देशित हुने गरेका उल्लेख गर्दै भट्टराईले थपे, "तत्कालै मन्त्रीहरू नआएको अवस्थामा बैठक स्थगित गरेर मन्त्रालयहरूमा सम्पर्क गरी आउने हुनुभयो भने पर्खने पनि गरिन्छ। जबाफ आएन भने कुरा आयो भने त्यस्ता कुराहरूमा जबाफ दिनुहोस् भनेर मन्त्रालय र मन्त्रीहरूको ध्यानाकर्षण गरेका थुप्रै उदाहरणहरू छन्।"
प्रधानमन्त्री नियुक्त भएपछि बेलाबेलामा प्रतिनिधिसभामा उपस्थित भए पनि प्रधानमन्त्री बालेन्द्र शाहले एक पटक पनि संसद् बैठकमा सम्बोधन गरेका छैनन्।
खास गरी राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरिरहेको समयमा बैठकस्थलबाट बाहिरिएको र नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको उत्तर स्वयंले नदिएको भन्दै उनको आलोचना गर्ने गरिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।






















