इरानसँगको सम्झौताबारे 'अन्तिम धारणा' बनाउने भनिएको ट्रम्पको बैठक घोषणाविहीन

    • Author, इफा वाल्श
  • Published
  • पढ्ने समय: ३ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग युद्धविराम लम्ब्याउने ढाँचालाई लिएर "अन्तिम धारणा" बनाउन शुक्रवार आफ्ना मुख्य सहयोगीहरूसँग बैठक गरे तापनि त्यो अर्को चरणबारे स्पष्ट निष्कर्षबिनै सकिएको छ।

उनले इरानले कहिल्यै परमाणु अस्त्र वा बम राख्न नपाउने, होर्मुजको साँघुरो जलमार्गमा "दुईतर्फी रूपमै बिना अवरोध पारवहन" पुनः सञ्चालन गर्ने र जलमार्गमा रहेका सबै माइनहरू "नष्ट" गर्न तेहरान सहमत हुनुपर्ने बताएका छन्।

ह्वाइहाउसको 'सिचुएसन रुम'मा उक्त बैठक भएको थियो। त्यस कक्ष मुख्य सङ्कटहरूसँग जुझ्न प्रयोग गरिन्छ।

इरानले यसअघि आफ्नो परमाणु कार्यक्रमबारे वार्ता नभइरहेको बताएको थियो। उसले त्यो पूर्णत: नागरिक उद्देश्यका लागि भइरहेको बताउँदै आएको छ।

यसअघि बिहीवार अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एकखाले ढाँचामा सहमति जनाएको बीबीसीलाई बताएका थिए। तर त्यसमा ट्रम्प र इरानको नेतृत्वको स्वीकृति आउने काम बाँकी रहेको उनीहरूको भनाइ थियो।

सो सम्झौताले युद्धविरामलाई ६० दिनको लागि लम्ब्याउने र इरानको परमाणु कार्यक्रमको भविष्यका बारेमा वार्ता सुरु गर्ने बताइएको छ।

"राष्ट्रपति ट्रम्पले अमेरिकाको हितमा हुने र आफ्नो रेड लाइनसँग मिल्ने सम्झौता मात्र गर्नेछन्। इरानले कहिल्यै परमाणु अस्त्र राख्न पाउँदैन," ह्वाइहाउसका एक अधिकारीले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएस न्यूजलाई भने।

ट्रम्पले के भनिरहेका छन्?

एप्रिल ८ मा अमेरिका र इरानबीच प्रारम्भिक युद्धविराम लागु भएयता ट्रम्पले बारम्बार दुई पक्ष सम्झौताको नजिक रहेको र वार्ता अगाडि बढिरहेको बताउँदै आएका छन्। तर अहिलेसम्म त्यसको ठोस परिणाम आएको छैन।

पछिल्ला दिनमा इरान र अमेरिका दुवैले एकअर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन्।

शुक्रबारको सबेरै सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै ट्रम्पले आफू होर्मुज जलमार्गमा अमेरिकी नौसेनाको नाकाबन्दी हटाउन तयार रहेको बताएका छन्।

त्यसले उक्त साँघुरो जलमार्गमा फसेका जहाजहरूको 'घर फर्कने' प्रक्रिया सुरु गर्न सघाउने उनले लेखेका छन्।

उनले इरानले अमेरिकालाई आफ्नो प्रशोधित युरेनियम हटाउन र नष्ट गर्न अनुमति दिनुपर्ने समेत बताइरहेका छन्।

"अर्को सूचना नभएसम्मका लागि कुनै पनि पैसा लेनदेन हुनेछैन," उनले भने, "अन्य त्यसभन्दा निकै कम महत्त्वका कुरामा सहमति भएको छ।"

ह्वाइटहाउसका एक अधिकारीले पछि बीबीसीलाई 'सिचुएसन रुम'मा भएको बैठक सम्पन्न भएको पुष्टि गरे तापनि त्यसबारे थप विवरण भने दिएनन्।

'सत्य र झूटको मिश्रण' : इरान

जानकार स्रोतहरूलाई उद्धृत गर्दै इरानको फार्स समाचार संस्थाले ट्रम्पको पछिल्लो टिप्पणी "सत्य र झूटको मिश्रण" भएको बताएको छ।

जसको समाचारमा समझदारी पत्रमा परमाणु सामग्री नष्ट गर्ने कुनै व्यवस्था नगरिएको जनाइएको छ।

यसैबीच इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले त्यहाँको सरकारी टिभीसँग बोल्ने क्रममा त्यो "युद्ध अन्त्य गर्नेतर्फ केन्द्रित रहेको र परमाणु मुद्दामा कुनै वार्ता नभएको" जनाएका छन्।

अमेरिकाले लामो समयदेखि इरानलाई अत्यधिक प्रशोधित युरेनियमको उत्पादन बन्द गर्न र मौजुदा भण्डार नष्ट गर्न माग गर्दै आएको छ। ती सिद्धान्ततः परमाणु अस्त्र बनाउन प्रयोग हुन सक्छन्।

इरानले आफ्नो परमाणु कार्यक्रम पूर्णतः शान्तिपूर्ण रहेको बताउँदै परमाणु अस्त्र विकास गर्न खोजिरहेको कुरा अस्वीकार गर्दै आएको छ।

यसैबीच अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले अमेरिकाले इरानमा युद्ध "पुनः सुरु" गर्न सक्ने सम्भावना अघि सारेका छन्।

सिङ्गापुरमा भएको सुरक्षासम्बन्धी शिखर सम्मेलनमा बोल्दै उनले भने: "हामी राम्रोसँग र प्रचुर मात्रामा हतियारहरूको सन्तुलन राख्ने भएकाले हाम्रा भण्डारहरू त्यहाँ र विश्वभर दुवैका लागि तम्तयार छन्,"त्यसो भन्दै उनले थपे: "त्यसैले हामी निकै राम्रो अवस्थामा छौँ।"

फेब्रुअरी २८ मा अमेरिका र इजरेलले इरानमा आक्रमण सुरु गरेका थिए। इरानले इजरेल र खाडीस्थित रहेका अमेरिकाका साझेदार देशमा आक्रमण गरेर त्यसको प्रतिक्रिया जनायो।

तेहरानले प्रभावकारी रूपमा होर्मुज स्ट्रेट बन्द गर्दा विश्वव्यापी तेलको मूल्य बढेको छ।

सामान्य अवस्थामा विश्वको लगभग २० प्रतिशत ऊर्जाको आपूर्तिका लागि उक्त स्ट्रेटमार्फत् ढुवानी हुने गर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।