तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिका र इरान सम्झौताको 'निकै नजिक' पुगेको बताएका अमेरिकी उपराष्ट्रपतिले के-के भने?
- Author, ड्यानिअल बुश, उपराष्ट्रपतिसँगै यात्रा गर्दै र म्याक्स माट्जा
- Published
- पढ्ने समय: ३ मिनेट
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युद्धबारे सम्झौता हुनुअघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको बताएका छन्।
राष्ट्रपति डोनल्ड ट्रम्प के सम्झौतामा हस्ताक्षर गर्ने अवस्था नजिक छन् भन्ने बीबीसीको प्रश्नमा भान्सले दुवै पक्षले सम्झौतालाई "कहिले वा यदि" अन्तिम रूप दिने भन्न निकै हतार हुने बताए।
त्यस्तो सम्झौताले युद्धविरामलाई ६० दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यका बारेमा वार्ता सुरु गर्ने बताइएको छ।
यसअघि बिहीवार अमेरिकी अधिकारीहरूले बीबीसीलाई बताए अनुसार दुई देशले सम्झौताको एक खाले ढाँचामा सहमति जनाएका छन्।
तर त्यसमा ट्रम्प र इरानको नेतृत्वको स्वीकृति आइसकेको छैन।
इरानको अर्ध-सरकारी तस्निम समाचार संस्थाले उक्त सम्झौतालाई अन्तिम स्वरूप नदिइएको वा पुष्टि नभएको भनेर समाचार प्रकाशित गरेको छ।
भान्सले थप के भने?
बिहीवार साँझ बोल्ने क्रममा भान्सले चाहिँ वार्ताकारहरू "केही बुँदाका भाषामा तलमाथि गरिरहेको" जसमा "प्रशोधनको प्रश्न" समावेश रहेको बताए।
"हामी अझै त्यहाँ पुगेका छैनौँ। तर हामी निकै नजिक छौँ र हामी त्यसमा काम गरिरहने छौँ," उनले पत्रकारहरूलाई भने।
अमेरिकाले लामो समयदेखि इरानलाई अत्यधिक प्रशोधित युरेनियमको उत्पादन बन्द गर्न र मौजुदा भण्डार नष्ट गर्न माग गर्दै आएको छ। ती सिद्धान्ततः परमाणु अस्त्र बनाउन प्रयोग हुन सक्छन्।
वाशिङ्गटन डीसीमा पत्रकारहरूसँग कुरा गर्ने क्रममा भान्सले आशावादी भाव दर्साए। उनले इरानीहरू "असल मनसायका साथ" वार्ता गरिरहेको अमेरिकाको विश्वास रहेको उल्लेख गरे।
एप्रिल ८ मा अमेरिका र इरानबीच प्रारम्भिक युद्धविराम लागु भएयता ट्रम्पले बारम्बार दुई पक्ष सम्झौताको नजिक रहेको र वार्ता अगाडि बढिरहेको बताउँदै आएका छन्।
तर अहिलेसम्म त्यसको ठोस परिणाम आएको छैन।
ट्रम्पमाथि दबाव
राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्न बढ्दो दबावको सामना गरिरहेका छन्। त्यस्तो दबाव उनलाई अमेरिकाका खाडी साझेदार देशहरूबाट पनि छ।
त्यसको विरोधमा डेमोक्र्याटहरू छन् र लम्बिरहेको द्वन्द्वबारेमा चिन्ता व्यक्त गर्ने कङ्ग्रेसका केही रिपब्लिकन सांसद्हरू पनि देखिन्छन्।
सम्भावित सम्झौताको बारेमा बिहीवार आएका विरोधाभासपूर्ण खबरहरूले पनि वार्ता कति तरल अवस्थामा छ भन्ने देखाउँछ।
दुवै देशले एकअर्काको दावी विपरीत हुनेगरी अभिव्यक्ति दिएका छन्।
उनीहरूबाट प्रस्तावित सम्झौताका निकै कम विषयवस्तुहरू बाहिर ल्याइएका छन्। त्यसले साँच्चिकै शत्रुता अन्त्य गर्ने दिशामा उनीहरू साँच्चिकै कति नजिक छन् भन्ने प्रश्न पुन: उठाएको छ।
युद्धमै फर्कने 'दोस्रो विकल्प'
ट्रम्प र अन्य अधिकारीहरूले लडाइँमा फर्कने "दोस्रो विकल्प" अझै टेबलमै रहेको भन्ने चेतावनी समेत दिँदै आएका छन्।
यसैबीच युद्धविरामको अवधि बढाइँदा अमेरिका र इरानी टोलीलाई यस विषयमा रहेका कैयौँ जटिल र प्राविधिक मुद्दाहरू बारेमा छलफल गर्ने अवसर दिने छ।
त्यसमा खासगरी इरानको परमाणु कार्यक्रम र अत्यधिक समृद्ध युरेनियमको बाँकी रहेको भण्डारको विषय छ।
ट्रम्पले अमेरिकाले त्यो लिने वा इरानसँग मिलेर त्यसलाई कतै वा तेस्रो स्थानमा 'डाइल्युट' पार्न सकिने सुझाउँदै आएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।