तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सगरमाथामा बने दुई कीर्तिमान, कामिरिता ३२औँ र लाक्पा ११औँ पल्ट चुचुरोमा
नेपाली पर्वतारोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको आरोहण गरेर यसअघि आफैँले बनाएको कीर्तिमान तोडेको अधिकारीहरूले जनाएका छन्।
पर्यटन विभागका अनुसार उनले आइतवार बिहान १०:१२ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरो टेकेका हुन्।
सन् १९९४ मा पहिलो पटक सगरमाथा चढेका उनी प्रत्येक वर्ष चुचुरोमा पुग्दै गरेका छन्। गत वर्ष ३१औँ पटक आरोहण गरेका उनी त्यसअघि २०८१ सालमा २९ र ३०औँ दुई पटक सगरमाथाको शिखर चढेका थिए।
विभागका अनुसार सगरमाथा आरोहणमा अर्को कीर्तिमान पनि बनेको छ।
महिला आरोही लाक्पा शेर्पाले पनि आइतवार ९:३० मा ११औँ पटक सगरमाथाको चुचुरो टेकेकी छन्।
महिला आरोही सगरमाथा चढेको यो नै सबैभन्दा धेरै पटक भएको पर्यटन विभागले जनाएको छ।
यसअघि उनैले सन् २०२२ मा १०औँ पटक सगरमाथा आरोहण गरेकी थिइन्।
त्यस बेला पनि उनले आफ्नो नाममा रहेको नौ पटक सगरमाथामा पुग्ने महिला आरोहीको कीर्तिमान तोडेकी हुन्।
कामिरिता : एभरेस्ट म्यान
सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मिएका शेर्पाले २२ वर्ष हुँदादेखि हिमाल चढ्न थालेका हुन्।
उनलाई त्यसको दुई वर्षपछि सन् १९९४ मा सगरमाथाको चुचुरोमा पुग्ने सफलता प्राप्त भएको हो।
सन् २०१८ को मे महिनामा २२औँ पटक सगरमाथा आरोहण गरेर आप्पा शेर्पाको कीर्तिमान भङ्ग गरेका कामिरिता शेर्पाले त्यसयता आफ्नै कीर्तिमान तोड्दै आएको पर्यटन विभागको विवरणमा देखिन्छ।
प्रत्येक पटक सगरमाथाबाट फर्किएपछि फेरि चढ्ने उनको इच्छाबारे सोध्दा उनी जीवनमा धेरै कुरा अनिश्चित हुने बताउने गरेका छन्।
'१४ पिक्स एक्सपिडिशन'ले उनको आरोहणलाई "विश्व कीर्तिमानभन्दा पनि बढी, हिमालयप्रति आजीवन समर्पणको कथा" भएको बताएको छ।
"उनको उपलब्धिले हिमालप्रति शेर्पा समुदायको समर्पण, मिहिनेत र गहिरो सम्मान भाव प्रतिबिम्बित गर्छ," उसले भनेको छ, "५५ वर्षको उमेरमा उनले एक पटक फेरि प्रमाणित गरेका छन् कि दृढता, अनुभव र लचिलोपनले निरन्तर सफलता प्राप्त गर्न सक्छन्, चाहे त्यो पृथ्वीको अग्ला शिखरहरूमा किन नहोओस्।"
कामिरिता आरोहण संसारको सबैभन्दा बलियो खम्बामध्ये एक भएको उसको भनाइ छ।
उनी 'एभरेस्ट म्यान' अर्थात् 'सगरमाथा पुरुष' भनेर परिचित छन्।
ओडारमा जन्मिएकी पर्वतकी रानी
लाक्पा शेर्पाले पछिल्लो पल्ट सन् २०२२ मा ४८ वर्षको उमेरमा १०औँ पटक सगरमाथा आरोहण गरेकी थिइन्।
उनले सगरमाथा ९औँ आरोहण सन् २०१८ मा गरेकी थिइन्।
उनले पहिलो पटक सन् २००० मा सगरमाथाको सफल आरोहण गरेकी हुन्।
त्यस बेला उनी सगरमाथाको चुचुरो पुगेर सुरक्षित फर्किने पहिलो नेपाली महिला बनिन्।
उनी तेस्रो पल्ट सन् २००३ मा भाइ र बहिनीसँगै एकसाथ सगरमाथा चढिन् जुन गिनिज बुक अफ वर्ल्ड रेकर्डमा अङ्कित हुन पुग्यो।
त्यसपछि उनले अमेरिकामा बस्ने रुमेनियामा जन्मेका आरोही जर्ज डिमारेस्कुसँग बिहे गरिन्।
उनले उनैसँग पाँच पटकसम्म सगरमाथा आरोहण गरिन्। बिहे गरेपछि उनी अमेरिका बसाइँ सरिन्। तर उनको सन् २०१५ मा सम्बन्ध विच्छेद भयो।
एकल आमा लाक्पा शेर्पा मकालु क्षेत्रको एउटा गुफामा जन्मिएकी हुन्।
उनले औपचारिक शिक्षा पाएकी छैनन् र पेट पाल्न भाँडा माझ्ने लगायतका काम गरेकी छन्।
उनी माउन्टेन क्वीन अर्थात् पर्वतकी रानी भनेर परिचित छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।