तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोल्टे परेको पिसा टावर किन ढल्दैन?
- Author, डेजी स्टीफन्स
- Role, बीबीसी विश्व सेवा
- Published
- पढ्ने समय: ५ मिनेट
'लीनिङ टावर अफ पिसा' अर्थात् कोल्टे परेको पिसा टावर इटलीको प्रसिद्ध पर्यटकीय स्थल हो।
तर यो मात्रै एकातिर ढल्किएको चर्चित संरचना होइन। द नेदरल्यान्ड्सको डान्सिङ हाउसदेखि चीनको टाइगर हिल पगोडासम्म मानिसहरूलाई अचम्मित पार्ने संरचना विश्वभरि छन्।
तर ती किन कोल्टो परेका हुन् तपाइँलाई थाहा छ? अनि त्यसरी कोल्टो परेका संरचनाहरू किन ढलिहाल्दैनन्?
किन केही भवनहरू ढल्किन्छन्?
द नेदरल्यान्ड्सको डेल्फ्ट विश्वविद्यालयकी प्राध्यापक म्यान्डी कोर्फ संरचनाहरू एकापट्टि कोल्टे पर्नुको पनि कारणहरू रहेको बताउँछिन्।
कतिपय अवस्थामा द नेदरल्यान्ड्सको प्रसिद्ध डान्सिङ हाउसजस्तो त्यसको जगका कारण भवनहरू ढल्किएका हुन्छन्।
"आर्म्सटर्डामको मध्य सहरमा अधिकांश घरहरू काठको जगमाथि बनाइएका छन्," कोर्फ भन्छिन्।
उनका अनुसार पर्खालभन्दा मुनिपट्टि एक जोडी काठका खम्बाहरू जगका काठसँग जोडिएका हुन्छन्।
तिनीहरू जमिनमुनि १२ मिटरसम्म गाडिएका हुन्छन् तर जमिनको माटो नरम, घुलनशील वा बलौटे हुन्छ।
"काठको जग राम्रो रहेसम्म ती घरहरू केही हुँदैनन्," उनी भन्छिन्।
तर काठ सड्न सुरु नभए पनि तौलको असन्तुलनका कारण चर्किन थालेर समयक्रमसँगै घरहरू एकातिर ढल्किन थाल्ने उनी बताउँछिन्।
पिसाको अवस्था
भवन बनेको स्थानको माटोको अवस्थाका कारण पनि भवनहरू एकातिर कोल्टिन सक्छन्। इटलीको पिसा टावरका हकमा पनि भएको त्यही हो।
पिसा टावरको निगरानी गर्ने टोलीका सदस्य समेत रहेका पिसा विश्वविद्यालयका प्राध्यापक नुजियान्ते स्क्वेग्लिया यो टावर बने लगत्तैबाट कोल्टिएको बताउँछन्।
"माटोको अधिक नरमपनाका कारण यो बन्दा खेरिबाटै ढल्किन थालेको हो। यो तीनदेखि चार मिटरसम्म भासिएको थियो," स्क्वेग्लियाले बीबीसीको रेडिओ कार्यक्रम विट्नेस हिस्ट्रीसँग भने।
माटोमा मानिसहरूले निम्त्याउने परिवर्तनका कारण पनि भवनहरू कोल्टे पर्न सक्छन्। ड्लेफ्टको ओल्ड चर्च यसैको एक उदाहरण हो।
"यसबारे धेरै कुरा त थाहा भएको छैन तर यो ढल्कनुको कारण पिसा टावरको जस्तो चाहिँ होइन," कोर्फ भन्छिन्।
"यो नहरपट्टि कोल्टिएको छ किनभने त्यतापट्टिको माटो नहरका लागि खनियो।"
भूमिगत जलसतहमा आउने परिवर्तनले पनि भवनहरू ढल्कने सम्भावना रहन्छ। अनि कतिपय अवस्थामा त्यसको डिजाइनका कारण पनि भवन कोल्टे पर्नसक्ने कोर्फ बताउँछिन्।
"आर्म्सटर्डमका धेरै घरअरू अगाडिपट्टि ढल्किएका छन्। किनभने पहिलेपहिले व्यापारिक भवनहरू त्यसरी नै बनाइन्थ्यो," उनी भन्छिन्।
"तिनीहरू प्राय: गोदाम र सहज ढुवानीका लागि नहरको छेउमा बनाइन्थे। अनि तिनीहरू अगाडि ढल्काएरै बनाइन्थे। त्यसकारण तिनीहरू अगाडि कोल्टिएको समस्या भएर होइन। तर तिनीहरू दायाँबायाँ ढल्किए भने त्यो चाहिँ स्वाभाविक होइन।"
ढल्काइको समाधान
त्यसो भए ढल्किएका संरचनाहरू यति धेरै हुँदाहुँदै पनि हामी किन धेरै चिन्ता गरिरहेका छैनौँ?
डा. कोर्फ कोल्टिएका सबै भवन संरचनागत रूपमा असुरक्षित नहुने बताउँछिन्।
"संरचनागत रूपमा अस्थिर हुन त्यो धेरै नै कोल्टिनु पर्छ," उनी भन्छिन्।
तर कतिपय अवस्थामा ढल्किएका संरचनालाई सीधा बनाइनुपर्छ। पिसा टावरलाई पनि केही हदसम्म ठड्याउने काम भएको थियो।
२०औँ शताब्दीमा यो टावर निकै ढल्किएको र ढल्कने क्रम बढिरहेको देखिएको थियो।
"त्यसबेला अवस्था चिन्ताजनक थियो," प्राध्यापक स्क्वेग्लिया बताउँछन्।
सन् १९८९ मा इटलीको सिभिक टावर भत्किएपछि अर्को वर्ष पिसा टावरमा मानिसहरूको प्रवेश निषेध गरियो।
त्यसपछि पिसाको कोल्टिएको टावरलाई केही सीधा बनाउने र सुरक्षित बनाउने धेरै उपायहरू अघि सारिएका थिए।
"त्यहाँबाट माटो खन्ने उपाय छानियो," स्क्वेग्लिया भन्छन्।
"यो टावरलाई नछोइकन जगको उत्तरी भागबाट ३७ घनमिटर माटो निकालियो।"
त्यसको ११ वर्षपछि उक्त टावर पुन: प्रवेशका लागि खुला गरियो।
एउटा 'विशिष्ट' अवस्था
कोर्फका अनुसार भवन सबलीकरण गर्ने यो तरिका सामान्य चाहिँ होइन।
"यो पिसाका लागि विशेष थियो सामान्य अवस्थामा यस्तो गरिँदैन," उनी भन्छिन्।
यदि ढल्किएको भवनमा आर्म्सटर्डमका घरहरूजस्तो काठको जग भएको अवस्थामा जग प्रतिस्थापन गर्दा थप ढल्किने प्रक्रिया रोक्न सकिने उनी बताउँछिन्।
कारलाई जस्तै टेको लगाएर पनि ढल्किएको घर सीधा बनाउन सकिने कोर्फ बताउँछिन्। तर त्यसो गर्दा कहिलेकाहीँ राम्रो हुने भन्दा थप क्षति पनि हुन सक्छ।
"यदि त्यो धेरै नै कोल्टिएको छ भने त्यसलाई सीधा बनाउनु निकै डरलाग्दो हुन्छ किनभने त्यो ढल्किएकै अवस्थामा मिलिसकेको हुन्छ," उनले भनिन्।
"थप खराब हुन नदिन तपाइँ धेरै होसियार हुनुपर्छ।"
केही भवनहरू कोल्टिने क्रम रोक्न सकिने भए पनि यसका केही बेफाइदाहरू पनि छन्।
"उनीहरूले भवनहरूमा जस्तोसुकै उपाय पनि लगाउन सक्छन्। सबै कुरा सम्भव छ," कोर्फ भन्छिन्।
"तर त्यसका लागि धेरै खर्च हुन्छ अनि जटिल पनि छ।"
जलवायु परिवर्तनको प्रभाव
कोर्फको अनुसन्धानले द नेदरल्यान्ड्समा मात्रै ७५,००० घरहरू काठको जगमा बनेका र ती घर जोखिममा रहेको देखाएको छ।
यो समस्या अझै बढ्नसक्ने सम्भावना छ।
"जलवायु परिवर्तनसँगै र भूमिगत पानीमा परिवर्तन आउँछ। कहिलेकाहीँ यस्तो परिवर्तन तीव्र हुन्छ," कोर्फ भन्छिन्।
भूमिगत पानीको सतह सुक्दै जाँदा जमिनमुनि गाडिएका काठका खम्बामा हावा छिर्छ। जसले यसलाई क्षति पुग्ने दर तीव्र बनाउँछ। भूमिगत पानीमा हुने परिवर्तनले माटोको तहमा पनि हेरफेर ल्याउँछ। जसले विभिन्न प्रकारका जगमा बनेका घरहरूमा असर पुर्याउँछ।
तर यो प्रक्रिया निकै सुस्त हुने उनको भनाइ छ।
पिसा टावरको हकमा ११ वर्ष लगाएर यसको ढल्काइ ४० सेन्टिमिटरले कम गरिएको थियो। यो काम सन् २००१ मा सकिएको थियो। इन्जिनियरहरूले यो संरचना अबको २०० वर्षका लागि सुरक्षित रहेको बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।