भारतीय राजनीतिमा साङ्लोको नामले ल्याइदिएको हलचल : नेपालको जेन जी आन्दोलनभन्दा कति भिन्न

    • Author, जोया मतीन
    • Reporting from, दिल्ली
  • Published
  • पढ्ने समय: ६ मिनेट

भारतीय राजनीतिमा एउटा अस्वाभाविक प्रतीक देखा परेको छ। एउटा साङ्लो।

यो भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (बीजेपी) को 'कमल' वा विपक्षी कांग्रेसको 'हत्केला' भन्दा निकै भिन्न छ। अटेरी, घृणित र नमासिने जीव मानिने यो जीव अन्लाइन माध्यममा सक्रिय भारतीय युवाहरूमाझ अस्वाभाविक तर सान्दर्भिक राजनीतिक प्रतीक बन्न पुगेको छ।

गत साता भारतका प्रधानन्यायाधीश सूर्यकान्तले गरेको एउटा विवादास्पद टिप्पणीपछि यो कीरो अचानक चर्चामा आयो। एउटा सुनुवाइका क्रममा उनले पत्रकारिता र अभियानतिर बरालिन थालेका बेरोजगार युवाहरूलाई साङ्ला र परजीवीहरूसँग तुलना गरेको बताइएको छ।

पछि उनले आफ्नो भनाइ समग्र भारतीय युवाहरूप्रति नभई "नक्कली डिग्री" भएका व्यक्तिहरूप्रति लक्षित रहेको स्पष्टीकरण दिए।

तर त्यतिन्जेलसम्म उनको टिप्पणी अन्लाइन माध्यममा फैलिसकेको थियो। उनको टिप्पणीबाट आक्रोश, चुट्किला र 'कक्रोच जनता पार्टी' (सीजेपी) नामसहित एउटा ठट्यौलो राजनीतिक आन्दोलनको जन्म भयो।

कक्रोच जनता पार्टी कुनै औपचारिक राजनीतिक दल होइन, बरु व्यङ्ग्यात्मक अन्लाइन समूह हो। यसको सदस्यता पाउने योग्यतामा बेरोजगार हुनु, अल्छी हुनु, निरन्तर अन्लाइन माध्यममा झुन्डिनु र "व्यावसायिक रूपमै गुनासो गर्न सक्ने क्षमता" तोकिएको छ।

बस्टन यूनिभर्सिटीमा अध्ययनरत राजनीतिक सञ्चार रणनीतिकार अभिजित दीपकेले यो समूह स्थापना गरेका हुन्। उनी ठट्टैमा कक्रोच जनता पार्टीको जन्म भएको बताउँछन्।

अमेरिका जानुअघि उनले भ्रष्टाचारविरोधी आन्दोलनबाट उदाएको र सामाजिक सञ्जालमा बलियो उपस्थिति भएको राजनीतिक सङ्गठन आम आदमी पार्टीसँग मिलेर काम गरेका थिए।

"मलाई हामी सबै एकजुट हुनुपर्छ, सम्भवतः एउटा प्ल्याटफर्म सुरु गर्नुपर्छ जस्तो लाग्यो ," उनले बीबीसी मराठीसँग भने।

केही दिनमै गुगल फर्ममार्फत् दशौँ हजार जनाले सीजेपीको सदस्य बन्न आवेदन गरे, एकबद्धता व्यक्त गर्न #MainBhiCockroach (म पनि साङ्लो) भनेर छुट्टै ह्याशट्याग सुरु भयो र विपक्षी दलका नेताहरूले पनि यो अभियानलाई समर्थन गरे। यो 'आन्दोलन' इन्टरनेटको संसारबाट वास्तविक संसारमा पनि फैलियो। युवाहरू सफाइ अभियान र विरोधप्रदर्शनहरूमा साङ्लाको भेषमा देखा परे। धेरैले उक्त प्रतीकलाई नाटकीय पारामा व्यवहारमै स्वीकार गरेको देखियो।

इन्स्टाग्राममा शुक्रवार अपराह्णसम्म सीजेपीलाई दुई करोडभन्दा बढी खाताले फलो गरेका छन्। उक्त सङ्ख्या सदस्यताका आधारमा विश्वकै सबैभन्दा ठूलो राजनीतिक दल भनिने भाजपाको आधिकारिक खाता फलो गर्नेहरूको भन्दा बढी हो।

'एक्स'मा सीजेपीको खाता भारतबाट अहिले नदेख्ने बनाइएको छ।

तर यसको गति निरन्तर बढिरहेकै छ।

समर्थकहरूका लागि यो अभियान "निकै नियन्त्रित र विमतिप्रति शत्रुवत्" मानिएको राजनीतिक संस्कृतिमा "स्वच्छ हावा" जस्तो बनेको छ। महुआ मोइत्रा र कीर्ति आजादजस्ता विपक्षी नेता र वरिष्ठ वकिल प्रशान्त भूषणले पनि यो अभियानप्रति आफ्नो समर्थन व्यक्त गरेका छन्।

यद्यपि आलोचकहरू भने यसलाई विपक्षसँग सम्बन्धित "अन्लाइन राजनीतिक नाट्यमञ्च" ठान्छन्। उनीहरू दीपके र आम आदमी पार्टीको पुरानो सम्बन्धतिर औँला तेर्स्याउँदै यसलाई स्वतःस्फूर्त विद्रोहभन्दा पनि "योजनाबद्ध डिजिटल राजनीति" ठान्छन्।

विभिन्न प्रतिक्रिया आउनु स्वाभाविक नै हो। त्यसबाहेक यो आन्दोलनले धेरै भारतीय युवाहरूमा पुस्तौँदेखि उत्पन्न हतोत्साहलाई सङ्केत गरेको छ। अन्लाइन माध्यममा निरन्तर राजनीतिबारे चर्चा परिचर्चा देखे पनि उनीहरू आफ्नो वास्तविक प्रतिनिधित्वको अनुभव कतै नगरेको बताउँछन्।

भारत विश्वमा सर्वाधिक सङ्ख्यामा युवा भएको देशमध्ये पर्छ। कुल १.४ अर्ब जनसङ्ख्याको आधा भाग ३० वर्षमुनिका मानिसले ओगट्छन्। तर राजनीतिमा युवाहरूको औपचारिक सहभागिता सीमित छ।

हालै गरिएको एउटा सर्वेक्षणमा २९% भारतीय युवाहरू राजनीतिमा कुनै पनि रूपमा सहभागी नभएको देखिन्छ।कुनै राजनीतिक दलको सदस्य बनेका युवाहरूको सङ्ख्या ११% छ।

"मानिसहरू निराश छन् किनभने उनीहरू आफ्नो कुरा नसुनिएको र आफ्नो प्रतिनिधित्व नभएको महसुस गर्छन्," दीपकेले भने।

दक्षिण एशियाका श्रीलङ्का, बाङ्ग्लादेश र नेपालमा विगतका वर्षहरूमा युवाहरूको नेतृत्वमा भएका आन्दोलनले त्यहाँका सरकार ढालिए। ती आन्दोलनहरू प्रायजसो भ्रष्टाचार, बेरोजगारी, मूल्यवृद्धि र अनिश्चित भविष्यका कारण उत्पन्न आक्रोशबाट प्रेरित थिए।

भारतमा अहिलेसम्म त्यस्तो अवस्था उत्पन्न भइसकेको छैन। तर विद्यमान समस्याहरू के हुन् भन्ने थाहा छ।

भारत तीव्र गतिमा विकसित हुँदै गरेको अर्थतन्त्र हो। तर यहाँ रोजगारी, असमानता वा जीवनयापनका लागि बढ्दो खर्चसँग सम्बन्धित चिन्ताहरू घटेका छैनन्।

तन्नेरी बन्दै गरेका धेरै भारतीय नागरिकहरूका लागि शिक्षाले अब स्थिरता सुनिश्चित गर्दैन। अनि उनीहरू आफ्नो उन्नति हुन सक्ने सम्भावना झन् कमजोर देख्न थालेका छन्।

नेपाल वा श्रीलङ्कामा भएको परिवर्तनसँग तुलना गर्न अस्वीकार गर्दै दीपके भारतको अवस्था भिन्न रहेको बताउँछन्। तर युवाहरूमा व्याप्त निराशा वास्तविक रहेको र त्यो अहिले विभाजित र अन्लाइन मञ्चबाट व्यक्त भएको उनको तर्क छ।

"जेन जीले परम्परागत राजनीतिक दलहरू छोडिसकेको छ। त्यो पुस्ता आफूले बुझ्ने भाषामा आफ्नै राजनीतिक मोर्चा बनाउन चाहन्छ," उनले भने।

सीजेपीको वेबसाइटले यही विचार झल्काउँछ। यो विचारलाई कुनै घोषणापत्रले भन्दा बढी इन्टरनेट संस्कृतिले आकार दिए जस्तो देखिन्छ।

आफू "अल्छी र बेरोजगारहरूको आवाज" भएको भन्दै सीजेपीले आफूलाई "शून्य प्रायोजक" र "एउटा जिद्दी समूह"का रूपमा प्रस्तुत गरेको छ। उसले "सबै ठिक छ भन्ने नाटक गरेर थाकेका" मानिसहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ।

यसमा नक्कली फारम राखिएको छ। त्यसमा जानीजानी प्रयोग गरिएका अपूर्णता र 'दृश्यात्मक भाषा'ले सीजेपी एउटा संस्थाभन्दा पनि व्यङ्ग्य हो भन्ने देखाउँछन्।

तर यो ठट्टाभित्र पनि स्पष्ट राजनीतिक मागहरू लुकेका छन् - उत्तरदायित्व, सञ्चारमाध्यममा सुधार, निर्वाचनमा पारदर्शिता र महिलाहरूको विस्तारित प्रतिनिधित्व। यी कुराहरू नकारात्मक समाचार वा सामाजिक सञ्जालका पोस्ट खोज्ने बानी, बेरोजगारी र मानिसहरूमा राजनीतिप्रतिको वितृष्णाबारे गरिने आत्मव्यङ्ग्यात्मक ठट्टाहरूसँग मिसिएका छन्।

व्यङ्ग्य र गम्भीरताबीच विद्यमान शैली नै यसको आकर्षण हो। किनभने जागिर, असमानता, भ्रष्टाचार र राजनीतिप्रतिको अरुचिजस्ता कारणले त्यस्तो वितृष्णा र त्यस्ता ठट्टाहरू उत्पन्न हुन्छन्।

धेरैले यो अभियानको प्रतीक छनोटलाई पनि अर्थपूर्ण मानेका छन्। साङ्लो नायकजस्तो छैन र प्रेरणादायक पनि हुँदैन। तर यो सहनशील, अनुकूलनशील र प्रतिकूल परिस्थितिमा पनि कम अपेक्षासहित बाँच्न सक्ने जीव हो।

हास्य र राजनीतिबीचको यस्तो मिश्रण नयाँ भने होइन।

इटलीमा हास्य कलाकार बेप्प ग्रिलोले संस्थापनविरुद्धको ठट्टालाई 'फाइभ स्टार मूभमन्ट'मा रूपान्तरण गरे। युक्रेनमा भोलोदिमिर जेलेन्स्की टेलिभिजनमा काल्पनिक राष्ट्रपतिको भूमिका निर्वाह गर्दागर्दै वास्तविक राष्ट्रपति बने। अमेरिकामा डोनल्ड ट्रम्पको शासनकालमा राजनीतिक वास्तविकता नै व्यङ्ग्यजस्तो देखिन थालेपछि कतै यो विधा अधोगतितिर जान थालेको हो कि भनेर चर्चा पनि हुन थालेको छ।

‍भारतमा देखा परेको यो अभियान भने अहिले अधिक अन्लाइन स्वरूपको छ। मीममा आधारित र कीरामा केन्द्रित यो आन्दोलनलाई ह्याशट्याग, थकान र व्यङ्ग्यात्मक निराशाले फैलाएका छन्।

झट्ट हेर्दा यो असामान्य लाग्छ। तर भारतीय राजनीतिमा यो नितान्त नौलो विषय भने होइन।

यहाँका राजनीतिक नेताहरूले लामो समयदेखि देखावटी प्रभावलाई अँगाल्दै आएका छन् -- हिमालयका गुफामा ध्यान गरेको देखिने सामग्रीदेखि सांसदहरूलाई बसमा राखेर वा होटेलमा राखेर दल परिवर्तन गराउनेसम्म।

अन्लाइन अभियानहरू सावधानीपूर्वक तयार पारिएका भाइरल भिडिओ र प्रभावशाली नारामा निर्भर हुन्छन्।

यो पृष्ठभूमि बुझेपछि साङ्लोको चित्र र व्यवहार देखाउँदै आरम्भ गरिएको यो राजनीतिक आन्दोलन अस्वाभाविक भए पनि युक्तिसङ्गत देखिन्छ।

यो कुरा बुझ्दा यो अभियान किन यति चाँडै फैलियो भन्ने कुरा पनि स्पष्ट हुन्छ। युवा भारतीयहरूले अर्को राजनीतिक दल चाहेको हुनाले नभई धेरैले आफ्नो निराशा व्यक्त गर्ने भाषा खोजिरहेकाले।

"मलाई सीजेपी केवल थालनी हो जस्तो लाग्छ," दीपकेले भने। "युवाहरू वर्तमान राजनीतिक प्रणालीप्रति दिक्क छन्। अब अझ धेरै युवाकेन्द्रित सङ्गठनहरू अगाडि आउने छन्।"

यद्यपि अरू त्यसो हुनेमा शङ्का व्यक्त गर्छन्। उनीहरूका अनुसार यो अभियानको प्रभाव यसको उदय भए जस्तै गरी तीव्र गतिमा घट्ने सम्भावना छ।

जे भए पनि सीजेपीले भारतीय राजनीतिमा असामान्य काम गरिसकेको छ। यसले केही समयका लागि केही युवाहरूलाई आफू देखिएको महसुस गराएको छ।

पहिलापहिला युवाको राजनीतिक आक्रोश घोषणापत्र बनेर विस्फोटन हुन्थ्यो। तर अहिले कहिलेकाहीँ त्यस्तो आक्रोशबाट कीरालाई प्रतीक बनाएर मीम पार्टी जन्मिन्छ।

बीबीसी मराठीका आशय येग्डेको सहयोगमा

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।