डब्ल्यूएचओद्वारा इबोलालाई 'विश्व स्वास्थ्य सङ्कट' घोषणा

तस्बिर स्रोत, Reuters
- Author, याङ तिआन
- Published
- पढ्ने समय: २ मिनेट
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी इटुरी प्रान्तमा इबोला प्रकोप फैलिएपछि त्यसबाट संसारभरि चासो सिर्जना भएको भन्दै "विश्व स्वास्थ्य सङ्कट" घोषणा गरेको छ।
अहिलेसम्म २४६ जना सन्दिग्ध सङ्क्रमित देखिएका र ८० जनाको ज्यान गएको भन्दै डब्ल्यूएचओले प्रकोपले महामारी सङ्कटको मापदण्ड चाहिँ पूरा नगरेको जनाएको छ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानम गेहब्रेयससले "सङ्क्रमित व्यक्तिहरूको वास्तविक सङ्ख्या र प्रकोप फैलिएको भूभागबारे व्यापक अनिश्चितता रहेको" बताएका छन्।
इबोलाको अहिलेको स्ट्रेन बुन्डीबुग्यो नामक भाइरसबाट निम्तिएको भन्दै डब्ल्यूएचओ त्यसको औषधि वा खोप नरहेको उल्लेख गरेको छ।
उसका अनुसार प्रयोगशालाबाट प्रमाणित भएका अहिले आठ जना सङ्क्रमित छन् भने इटुरी प्रान्तको राजधानी बुनिया, सुनखानी रहेका मोङ्ग्वालु र र्वाम्पारा नगरसहितका क्षेत्रमा अरू सन्दिग्ध बिरामी तथा मृत्युका घटना पाइएका छन्।
छिमेकी देशमा पनि पुष्टि

तस्बिर स्रोत, Reuters
उक्त भाइरस प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाहिर फैलिइसकेको उल्लेख गर्दै डब्ल्यूएचओले छिमेकी देश युगान्डामा दुई जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।
बिहीवार मृत्यु भएका एक ५९ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि गरिएको युगान्डाका अधिकारीहरूले बताएका छन्।
मानिसहरूको आउजाउ तथा व्यापार-व्यवसायका कारण प्रजातान्त्रिक गणतन्त्र कङ्गोका छिमेकी देशहरू थप सङ्क्रमण फैलिने उच्च जोखिमा रहेका ठानिएको छ।
सङ्क्रमणको निगरानी एवं पहिचान तथा सङ्क्रमण नियन्त्रणका मापदण्ड कार्यान्वयनको निम्ति आपत्कालीन केन्द्रहरू स्थापना गर्न डब्ल्यूएचओले प्रजातान्त्रिक गणतन्त्र कङ्गो र युगान्डालाई सुझाव दिएको छ।
सङ्क्रमण पुष्टि गरिएक सीमावर्ती क्षेत्रमा सरकारहरूले निगरानी तथा रिपोर्टिङ बढाउनुपर्नेमा डब्ल्यूएचओले जोड दिएको छ।
प्रभावित क्षेत्रबाहेकका देशहरूले सीमानाका बन्द गर्ने अथवा यात्रा र व्यापारमा प्रतिबन्ध लगाउन नहुने भन्दै डब्ल्यूएचओले "त्यस्ता मापदण्ड त्रासका कारण अपनाइने गरिन्छ र तिनको कुनै वैज्ञानिक आधार हुँदैन" भनेर उल्लेख गरेको छ।
इबोला के हो?

तस्बिर स्रोत, Reuters
इबोला जङ्गली जनावरमा रहेका भाइरसबाट मानिसमा सर्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको भनाइ छ। त्यसपछि यो मानिसबाट मानिसमा सर्ने गर्छ।
यसको प्रारम्भिक लक्षणमा ज्वरो आउने, कमजोर अनुभव हुने, मांसपेशी दुख्ने र घाँटी खराब हुन्छ।
यी सुरुआतका लक्षणहरू मात्र हुन्, त्यसपछि बान्ता हुने, झाडापखाला लाग्ने र कसैकसैलाई आन्तरिक र बाहिरी रक्तश्राव पनि हुन्छ।
यो भाइरस सङ्क्रमण भएपछि मानिसमा रोगको लक्षण देखा पर्न लाग्ने समय दुईदेखि २१ दिनसम्म हुन्छ।
इबोला कसरी सर्छ?
इबोला सङ्क्रमण भएका वा इबोलाका कारण ज्यान गुमाएका व्यक्तिका रगत वा जीउबाट निस्कने तरल पदार्थ (रगत, दिसा वा बान्ता) सँग प्रत्यक्ष सम्पर्क हुँदा यो रोग सर्ने गर्छ।
इबोलाका बिरामीहरूको जीउबाट निस्कने तरल पदार्थको सम्पर्कमा पुगेका वस्तुहरूबाट पनि यो सर्छ।
इबोलाको सङ्क्रमण पुष्टि भएका वा आशङ्का गरिएका व्यक्तिको उपचारमा संलग्न भएका स्वास्थ्यकर्मीमा बारम्बार यो समस्या देखा पर्दै आएको छ।
प्रारम्भिक चरणको सङ्क्रमणका क्रममा परम्परागत सामुदायिक अन्तिम संस्कार महामारी फैलने अर्को माध्यम हो। किनभने समुदायका अधिकांश व्यक्तिले मृतकका शरीरलाई छुने, पखाल्ने र चुम्बन गर्ने गर्छन्।
इबोलाबाट ज्यान गुमाएका व्यक्तिको शव अत्यन्तै सङ्क्रामक हुन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















