इरान युद्धअघिकै अवस्थामा कच्चा तेलको मूल्य, नेपालमा चाहिँ कहिले घट्छ?

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

विश्वबजारमा कच्चा तेलको मूल्यको मानक मानिने 'ब्रेन्ट क्रूड' सोमवारयता इरान युद्ध सुरु हुनुपुर्वको अवस्थामा पुगेता पनि नेपालमा त्यसको असर अझ एक सातापछि मात्र थाहा हुने नेपाल आयल निगमका प्रवक्ताले बीबीसीलाई बताएका छन्।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरेलले इरानमा हमला सुरु गर्नुअघि कच्चा तेलको मूल्य प्रतिब्यारल ७६ अमेरिकी डलर रहेकामा यो साता बजारमा त्यो अझ तल झरेको देखिएको छ।

तर नेपालमा आउने तेलको मूल्य कच्चा तेलको मूल्यका कारणभन्दा पनि प्रशोधित तेलको मूल्यमा निर्भर रहने भन्दै निगमका प्रवक्ता मनोजकुमार ठाकुर त्यसकै आधारमा निगमको सञ्चालक समितिले जुलाई १ तारिकबाट लागु हुने गरी नयाँ मूल्य सूची तोक्ने बताउँछन्।

प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा भारतीय आयल निगम (आईओसी)ले पठाउने मूल्यसूचीका आधारमा नेपालमा "स्वचालित विधि"बाट मूल्य निर्धारण हुने भए तापनि युद्ध सुरु भएसँगै त्यो प्रभावित छ।

"यसपटक पनि हामीले आईओसीबाट प्राप्त हुने मूल्यलाई आधार मानेर सञ्चालक समितिबाट हुने निर्णयका आधारमा नयाँ मूल्य लागु गर्छौँ," ठाकुर भन्छन्।

"विगतमा पनि हामीले डीजलमा प्रतिलिटर ९० रुपैयाँ भाउ बढेर आउँदा पनि बढाएनौँ। तर यतिखेर मूल्य घटेर आउँदा त्यसको लाभ नेपाली उपभोक्ताले पाइ नै हाल्छन्।"

इरान युद्धपछि विश्व तेल बजार प्रभावित बन्दा पछिल्ला महिनामा १५ दिनभित्रै तीन पटक समेत तेलको मूल्य बढाइएको थियो।

फेब्रुअरी २८ मा युद्ध सुरु भए लगत्तैको आयल निगमले मार्च १ मा जारी गरेको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य प्रति लिटर १५७ रुपैयाँ र डिजल तथा मट्टितेलको प्रतिलिटर १४२ रुपैयाँ थियो।

हाल पेट्रोलको भाउ प्रतिलिटर २१४.५ रुपैयाँ छ भने डिजल तथा मट्टितेल प्रतिलिटर २२५ रुपैयाँ छ। युद्ध सुरु भएपछि खाना पकाउने ग्यास प्रतिसिलिन्डर १,९०० रुपैयाँबाट २,१६० रुपैयाँ पुगेको छ।

गत साता अमेरिका र इरानबीच समझदारीपत्रमा हस्ताक्षर भएसँगै मध्यपूर्वको युद्ध रोकिएको छ। तर अन्तरिम सम्झौताका विवरणबारे दुई पक्षबीच अझै मतभेद जारी छ।

नेपालमा तेलको मूल्य निर्धारण

युद्ध सुरु हुनुअघिको अवस्थामा कच्चा तेल र प्रशोधित तेलको मूल्य "पेट्रोलको हकमा प्रतिब्यारल १० देखि १५ अमेरिकी डलर र डीजलका हकमा प्रतिब्यारल १५ देखि २५ डलरको अन्तर" हुने गरेको प्रवक्ता ठाकुर बताउँछन्।

"युद्ध सुरु भएपछि त्यसको अन्तर पेट्रोलको हकमा १२० देखि १५० डलरसम्म र डीजलको हकमा २०० देखि ३०० डलरसम्म भएको छ।"

हाल विश्वबजारमा कच्चा र प्रशोधित दुवै खाले तेलको मूल्य घट्ने क्रम जारी रहेको अवस्था छ। तर अझै बजारमा प्रशोधित तेलको मात्रा सहज भइसकेको र त्यसका लागि अझै केही समय लाग्ने बताइन्छ।

"मध्यपूर्वमै कतिपय प्रशोधन केन्द्रहरू हमलामा परेर प्रभावित बनेका छन्। त्यसले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेल अझै कच्चा तेलजसरी झरिसकेको छैन," ठाकुरको भनाइ छ।

"त्यस अवस्थामा अब हामीले महिनाको अन्तिममा प्राप्त गर्ने मूल्यका आधारमा सञ्चालक समितिको निर्णयबाट नयाँ मूल्य तोक्छौँ। त्यतिखेर मूल्य केही न केही घट्छ भन्ने हाम्रो अपेक्षा छ।"

नेपालले आईओसीबाट १५-१५ दिनमा पेट्रोल र डीजलको मूल्य प्राप्त गर्छ। हवाई इन्धन, एलपी ग्यास र मट्टितेलका लागि त्यस्तो मूल्य हरेक महिना पठाइन्छ।

करिब तीन वर्षअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थका लागि "स्वचालित बिक्री मूल्य प्रणाली" पुनः लागु गरेको थियो।

त्यसअघि विसं २०७१ सालमा लागु गरिएको स्वचालित प्रणाली डलरको भाउ उच्च भएको भन्दै केही महिना पनि टिकेको थिएन।

प्रशोधित तेलको सङ्कट कति पर जाला?

समाचार संस्था रोयटर्सले यसै साताको सुरुमा प्रकाशित गरेको एक सामग्रीमा समेत एशियामा प्रशस्त कच्चा तेल रहे तापनि प्रशोधित इन्धन अझै सहज भइनसकेको जनाएको छ।

खाडीको साँघुरो होर्मुज जलमार्ग पुन: खुल्दा जुलाईमा मात्र एशियामा थप प्रशोधित तेल पुग्ने सम्भावना रहेको उक्त सामग्रीमा बताइएको छ।

गत २८ फेब्रुअरीमा युद्ध सुरु भएदेखि विश्वको २० प्रतिशतभन्दा धेरै कच्चा तेल र प्राकृतिक ग्यास निस्कने क्षेत्र हर्मुज जलमार्गमा लामो अवरोध भएको थियो।

'रित्तो छ' कोष र सञ्चित नाफा

निगमले युद्धपछिको अवस्थामा आफूहरूलाई निकै कठिनाइ भएको जनाएको छ।

"तर हामीले तेलको सङ्कट हुन दिएनौँ। हामीले भारतबाट बढेर आएकै दरमा मूल्यवृद्धि पनि गरेनौँ," ठाकुर भन्छन्।

"तर त्यस्तो अवस्था कायम राख्नका लागि मूल्य स्थिरीकरण कोषदेखि निगमको सञ्चित मुनाफाको प्रयोग गर्‍यौँ।"

त्यसरी करिब साढे दुई महिनामा यी दुई स्रोतबाट करिब ३६ अर्ब रुपैयाँ खर्च गरिएको निगमले जनाएको छ।

उसका अनुसार त्यसमध्ये १९ अर्ब रुपैयाँ स्थिरीकरण कोष र १७ अर्ब रुपैयाँ सञ्चित मुनाफाबाट खर्च गरिएको थियो।

"कोष र मुनाफा दुवै यतिखेर सकिएको छ। आजका दिनमा पनि निगमलाई खाना पकाउने ग्यासको सिलिन्डरमा १,१७४ रुपैयाँ घाटा छ," प्रवक्ता ठाकुर भन्छन्।

"डीजल र पेट्रोलमा प्रतिलिटर करिब ५-७ रुपैयाँ नाफामा छौँ। तर त्यसले पनि ग्यासको घाटा पूर्ति हुने अवस्था भने छैन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।