फिफाद्वारा नेपालको फुटबल निकाय एन्फा निलम्बित

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

विश्व फुटबल महासङ्घ फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई निलम्बन गरेको वेबसाइटमार्फत् सार्वजनिक भएको छ।

फिफा विधानको धारा १४ को उपधारा १(आई) र ३ अनुसार तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित विधानको गम्भीर उल्लङ्घन भएको ठहर गर्दै एन्फालाई तत्काल लागू हुने गरी निलम्बन गर्ने निर्णय फिफाको द ब्यूरो अफ द काउन्सिलले गरेको हो।

विगतमा पटक पटक एन्फामा समस्या देखिएपछि चेतावनी दिँदै आएको भए पनि एन्फालाई निलम्बन गरेको थिएन।

एन्फा पदाधिकारीहरूबीच आन्तरिक विवादमाझ पछिल्लो समय 'अर्लि इलेक्सन' प्रक्रियापछि एन्फा विवादले तीव्रता पाएको थियो।

जसमा नेपाली खेलकुदको प्रशासकीय निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले देशको कानुन अनुसार तहगत निर्वाचन प्रक्रियामा नगएको भन्दै एन्फालाई गत चैत्र ११ गते तीन महिनाको लागि निलम्बन गरेको थियो।

राखेपले महिना दिनपछि एन्फामाथिको निलम्बन फुकुवा गरे पनि एन्फा पदाधिकारीहरूलाई अध्यागमन विभागको कालो सूचीबाट भने हटाएको थिएन।

एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ र महासचिव किरण राई फिफा विश्वकप २०२६ को उद्घाटन खेल हेर्न मेक्सिको जान लाग्दा अध्यागमन विभागबाट फर्काइएपछि यसलाई फिफाले गम्भीर रूपमा लिएको रूपमा हेरिएको थियो।

एन्फाले राखेपको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेप भन्दै नेपाल निलम्बनमा पर्न सक्ने बताएको थियो।

राखेप र फिफाबीच विवाद समाधानबारे छलफल भएको थियो र राखेपले फिफा प्रतिनिधिलाई नेपालमै वार्ता गर्न निम्त्याएको पनि थियो।

तर विमानस्थलबाटै एन्फा अध्यक्ष र महासचिवलाई फर्काइएको विषयलाई फिफाले तेस्रो पक्षको हस्तक्षेपको रूपमा लिएको बुझिएको छ।

यही असार ६ गते एन्फाको चार वर्षे कार्यकाल समाप्त भएको थियो।

एन्फा निलम्बनमा परेपछि नेपाली फुटबलमा गम्भीर असर पर्ने देखिन्छ।

अब नेपालको राष्ट्रिय पुरुष, महिला वा उमेर समूहका टोलीले फिफा वा एएफसी अन्तर्गतका कुनै पनि प्रतियोगिताहरू खेल्न पाउने छैनन्।

यस्तै क्लबहरूले पनि एएफसी च्याम्पियन्स लीग लगायतका प्रतियोगिता खेल्न पाउने छैनन् भने रेफ्री प्रशिक्षकको अधिकार पनि रोकिन सक्ने बताइएको छ।

निलम्बनले फिफाको आर्थिक सहयोग पनि रोकिने बताइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।