तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बालेन शाहलाई 'बुझ्ने' प्रयासमा भारत, मोदीसँग 'केमिस्ट्री' मिल्ला?
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ७ मिनेट
प्रधानमन्त्री बालेन्द्र शाह औपचारिक भ्रमणमा दिल्ली जान लाग्दा कूटनीतिक मामिलाका जानकारहरूले भारतमा उनीबारे धेरै कौतुहलता रहेको र उनको भ्रमणलाई सावधानीपूर्वक हेरिइएको बताएका छन्।
र्यापरबाट राजधानी काठमाण्डूको मेयर हुँदै युवाहरूको विद्रोहपछि भएको चुनावमार्फत् सत्ता यात्रा सुरु गरेका प्रधानमन्त्री बालेन्द्र शाहलाई देशभित्र र देशबाहिरका कतिपय विज्ञहरूले गैरपरम्परागत राजनीतिज्ञ मान्ने गरेको पाइन्छ।
त्यही भएर आगामी साता दिल्ली पुगेर नेपालसँगको दुईपक्षीय सम्बन्धमा सर्वाधिक महत्त्व राख्ने भारतको उच्च राजनीतिक नेतृत्वसँग उनले पहिलो पटक गर्न लागेको प्रत्यक्ष संवादलाई चासोपूर्वक हेरिएको छ।
उनी आइतवार दिल्ली जाने भनिए पनि यो समाचार तयार पारुन्जेल औपचारिक घोषणा भने भइसकेको छैन।
एक जना भारतीय विज्ञले नेपाल र भारत दुवैतर्फ बलियो सरकार रहेको भन्दै दुई नेताबीचको 'केमेस्ट्री' मिलेको खण्डमा दुईपक्षीय सम्बन्धले नयाँ दिशा लिन सक्ने बताए।
तर सीमा विवाद लगायत थाँती रहेका कतिपय विषयहरूको निरूपण गर्न लामो समय लाग्न सक्ने भन्दै एक जना विश्लेषकले दुवै नेताहरूले व्यावहारिक सहकार्यको बाटो रोज्ने टिप्पणी गरेका छन्।
हालैका वर्षहरूमा काठमाण्डू र दिल्लीबीचको सम्बन्धले धेरै उतारचढावहरू बेहोरेको छ र पछिल्लो आम चुनावबाट सत्ता राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्णायक हैसियतमा आएसँगै उक्त दलका कतिपय नेताहरूले नेपालमा 'भारत विरोधी राष्ट्रवादको युग' सकिएको धारणा राख्ने गरेको पाइन्छ।
व्यावहारिक सहकार्यको खोजी गर्ने प्रयास
गएको चैतमा सत्ता सम्हालेका प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपालको धारणा विश्व मञ्चमा राख्न न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिता जनाएका थिए।
सत्ता सम्हाले लगत्तै भारतले दिएको निम्तो स्वीकार गरेका भनिएका उनले अहिले आएर नयाँ दिल्लीलाई आफ्नो दुईपक्षीय विदेश भ्रमणको पहिलो गन्तव्यका रूपमा रोज्न लागेका छन्। प्रधानमन्त्री शाह करिब २५ घण्टा लामो विदेश भ्रमणमा आइतवार भारत जाँदै छन्।
नयाँ दिल्लीस्थित अब्जरभर रिसर्च फाउन्डेशनका उपाध्यक्ष हर्ष भी पन्त यो भ्रमणलाई नेपाल भारत सम्बन्धको एउटा महत्त्वपूर्ण विन्दु मान्छन्।
"बालेन्द्र शाहले नेपालको नयाँ पुस्ताको नेताको प्रतिनिधित्व गर्छन् र बलियो म्यान्डेटसहित निर्वाचित भएका छन्। र उनले राष्ट्रिय सार्वभौमसत्ता र आर्थिक विकासको मामिलामा ठोस र मापन गर्न सकिने परिणाममुखी नतिजाहरू चाहेको सङ्केत गरेका छन्। त्यही भएर यो नेपाल भारत सम्बन्धका लागि नयाँ अवसर प्रदान गर्ने एउटा बिन्दु बन्न सक्छ।"
"यो चुनौती पनि हो। किनभने भारतले एउटा नयाँ प्रकारको नेतृत्वसँग सम्बन्ध कायम गर्न सिक्नुपर्ने हुन्छ। मलाई लाग्छ यो भ्रमणलाई नेपाल र नयाँ दिल्ली दुवैतर्फ सावधानीपूर्वक हेरिने छ।"
राजनीतिक व्यक्तित्वको रूपमा सम्भवतः नेपालका प्रधानमन्त्रीबारे भारतमा सीमित बुझाइ रहे पनि उनी र परम्परागत कूटनीतिक शैलीभन्दा पृथक् प्रस्तुति दिइरहेका बालेन शाहलाई 'जान्ने र बुझ्ने' प्रयासमा भारतीय नीति निर्माताहरू पनि छन्।
अब्जरभर रिसर्च फाउन्डेशनका उपाध्यक्ष पन्त भन्छन्, "वालेन्द्र शाह लेनदेन तथा रणनीतिक स्वायत्तता प्रदर्शन गर्न ईच्छुक एक जना नेपाली राष्ट्रवादीका रूपमा हेरिन्छन्। त्यही भएर दुवै पक्षले सम्बन्धलाई अघि बढाउन व्यावहारिक सहकार्यको खोजी गर्न सक्छन्।"
"तर नेपालको सार्वभौमसत्तामा सम्झौता नगरी उनको सरकारले राष्ट्रवादी राजनीतिक म्यान्डेटलाई भारतसँगको फलदायी सम्बन्ध निर्माणमा परिणत गर्न सक्छ कि सक्दैन भन्ने चुनौती छ। किनभने यी विषयहरू लामो समयसम्म रहने छन्। मलाई लाग्छ यहाँ अवसर छ। तर नेपाली राजनीतिका नयाँ पात्र भएकाले सम्भवतः भारतले अहिलेसम्म शाहलाई बुझिसकेको छैन कि भन्ने धारणा पनि छ।"
संशय, रहस्य र विश्वास
नेपाल भारत सम्बन्धका जानकार भारतीय सेनाका अवकाशप्राप्त मेजर जेनरल अशोक मेहता वालेन्द्र शाहबारे भारतमा धेरै कम जानकारी रहेको बताउँछन्।
विगतमा शाहले सार्वजनिक गरेका कतिपय दृष्टिकोणका कारण संशय रहेको बताउँदै उनले भने, "भारतमा उनी धेरै परिचित व्यक्तित्व होइनन्। यो भ्रमण भारतमा उनको राजनीतिक र विदेश नीतिको पदार्पण हुने छ। उनको पृष्ठभूमि हेर्दा र उनले नेपालको संसद्मा सीमा विवादबारे चर्चा गर्दा ब्रिटेनसँग पनि कुरा गर्नेसहितका धारणा राखे। मेयरका रूपमा उनले ग्रेटर नेपालको चर्चा गरे। अन्य विदेशी मुलुकजस्तै भारतको पनि चर्को आलोचना गरेका थिए।"
"त्यही भएर भारतमा उनीप्रति एक किसिमको अविश्वास पनि छ। उनलाई लिएर केही रहस्यको पाटो पनि छ। र उनलाई जान्ने इच्छाको पक्ष पनि छ।"
गएको फागुनमा सम्पन्न आमचुनावमा झन्डै दुईतिहाइ सीटमा जित हासिल गरेको रास्वपाका सभापति रवि लामिछाने र नेता वालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेर बधाई दिएका थिए।
सत्ता सम्हालेलगत्तै प्रोटकलको कारण देखाउँदै कूटनीतिक भेटघाटहरू सीमित तुल्याएका प्रधानमन्त्री शाहले समय नदिएकै कारण विगतमा भारतीय विदेश सचिवको काठमाण्डू भ्रमणसमेत रद्द भएका विवरण आएका थिए।
तर रास्वपाका सभापति लामिछाने हुँदै परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेले दिल्लीको भ्रमण गरिसक्दा प्रधानमन्त्री बालेनले आफ्नो नीतिमा केही समीक्षा गरेका छन्।
दुई साता अघि काठमाण्डू आएका भारतीय विदेश सचिव विक्रम मिस्रीसँग आफ्नो दिल्ली भ्रमणसहितको विषयमा उनले छलफल गरेका थिए।
नेपाली अधिकारीहरूले गएको अगस्टमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भारतले उपलब्ध गराएको सहयोगको प्रशंसा गर्दै आएका छन् र यो भ्रमणबाट पुनर्निर्माणका लागि भारतीय सहयोगको अपेक्षा गरिएको जनाएका छन्।
नयाँ केमिस्ट्री निर्माण होला?
नेपालका लागि पूर्व भारतीय राजदूत मंजीव सिंह पुरी दुई प्रधानमन्त्रीबीच पहिलो पटक हुन लागेको प्रत्यक्ष भेटवार्ता सर्वाधिक महत्त्वको हुने ठान्छन्।
उनले बीबीसीसँग टेलिफोनमा भने, "राष्ट्रिय हितहरू सर्वोपरि भए पनि व्यक्तिगत सम्बन्ध र केमिस्ट्रीले पनि उत्तिकै महत्त्व राख्छ। भारत सदैव नेपालको दह्रो समर्थक रहँदै आएको छ र आवश्यक परेको समयमा अझ ठूलो सहयोगी बनेर उभिएको छ।"
छिमेकीहरूबीचको सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गरेका उनले भने, "नेतृत्व तहमा आपसी सम्मान हुनु र एकअर्कालाई राम्ररी बुझ्नु विशेष रूपमा महत्त्वपूर्ण हुन्छ। राम्रो सम्बन्ध हुँदा विषय जतिसुकै जटिल भए पनि त्यसलाई सम्बोधन गर्न सकिन्छ। नेपालमा एउटा परिवर्तन भयो र त्यहाँ नयाँ नेतृत्व आएको छ। भारतलाई महत्त्व दिएर उनीहरू अघि आएका छन् र भारतले पनि त्यस्तै महत्त्व दिएको छ। नयाँ केमिस्ट्री निर्माण हुन्छ र त्यसका लागि हामीले प्रयास गरिरहेका छौँ।"
नेपालमा एकदमै युवा प्रधानमन्त्रीले सत्ताको नेतृत्व गरेको भन्दै भारतमा सकारात्मक दृष्टिकोण रहेको बताएका पूर्वराजदूत मंजीव सिंह पुरीले बालेन शाहबारे थप जान्नुपर्ने अवस्थामा आफूहरू रहेको बताए।
"मलाई लाग्छ उनलाई हाम्रो बारेमा धेरै कुरा थाहा छ। उनले भारतमा अध्ययन गरेका हुन्। उनी भारतमा बसेका पनि छन् र उनले हामीलाई राम्रोसँग बुझेका छन्। उनको दिदीको विवाह पनि यहीँ भएको छ। मलाई लाग्छ उनले यहाँ राजनीतिक समझदारी यहाँ प्रस्तुत गर्नुपर्ने छ।"
नेपाल मामिलाका जानकार अवकाशप्राप्त मेजर जनरल अशोक मेहता पनि शीर्ष तहमा विश्वास कायम गर्नु अपरिहार्य रहेको बताउँछन्।
उनले भने, "दुई देशका प्रधानमन्त्रीबीच उमेरको फराकिलो अन्तर छ। उक्त दुरीलाई राजनीतिक केमिस्ट्रीको हिसाबले पूर्ति गर्न अप्ठेरो हुन सक्छ। दुवै जनाले हामी एकअर्कालाई विश्वास गर्न सक्छौँ भनेर सुनिश्चित गर्न चाहनेछन्।"
नयाँ सरकारको विदेश नीति
नेपालले भन्ने गरेको सन्तुलित विदेश नीति र काठमाण्डूको बेइजिङ र वाशिङ्टनसँगको सम्बन्धलाई लिएर भारतको चासो हुने अवकाशप्राप्त मेजर जनरल मेहताले बताए।
"नेपालको भारतसँगको निर्भरता चीनसँगको निर्भरताको तुलनामा १० गुणाभन्दा बढी छ। त्यही भएर सन्तुलित सम्बन्ध र भूगोल अनि निर्भरताको विषयलाई समीक्षा गरिनुपर्छ।"
"भारत सरकारले सोझै त्यस्तो भन्ने छैन। तर श्रीलङ्का सरकारबाट जे प्राप्त भयो नेपालबाट पनि त्यस्तै प्राप्त गर्न सकियोस् भन्ने अपेक्षा उसको हुने छ। प्रधानमन्त्री वालेन्द्र शाहले दिल्लीमा रहँदा भारत सरकारलाई विश्वस्त तुल्याउने कुनै अभिव्यक्ति दिऊन् भन्ने उसले चाहेको देखिन्छ।"
तर चीनसँगको नेपालको सम्बन्ध पारदर्शी ढङ्गले अघि बढ्दा भारतलाई खासै आपत्ति नहुने अब्जरभर फाउन्डेशनका पन्त ठान्छन्।
"चीनले प्रस्तुत गरेका अवसरलाई भारतका सरोकारसँग सन्तुलन मिलाएर अघि बढ्दा नयाँ दिल्लीलाई खासै आपत्ति हुने छैन्," उनले भने।
अवकाशप्राप्त जनरल मेहताले नेपाल भारत सम्बन्धमा अहिले अमेरिका थप समस्या बनेको भन्दै थपे, "हाल भारत र अमेरिकाको सम्बन्ध कैयौँ दशक यताकै न्यून विन्दुमा छ। विगतमा नेपालसँगको सम्बन्ध अमेरिकाको लागि इन्डिया प्याकेजकै एउटा हिस्सा जस्तो हुन्थ्यो तर अहिले त्यस्तो अवस्था छैन। यो अर्को अप्ठेरो पक्ष हो।"
अब्जरभर फाउन्डेशनका पन्त नेपाल कुनै एक देशसँग मात्रै अत्याधिक निर्भर भएको हेर्न भारतले नचाहने बताउँछन्।
"अमेरिकाका कतिपय प्रशासनहरूले यो क्षेत्रमा काम गर्दा भारतसँग काम गर्न चाहन्छन्। कतिपयले काम गर्न चाहँदैनन्। नयाँ दिल्ली र वासिङ्टनबीच तनावहरू पनि देखिन्छ। तर मलाई लाग्छ दुवैले स्थिर, आर्थिक रूपमा समृद्ध र विविधतायुक्त सम्बन्ध कायम राखिरहेको नेपाल देख्न चाहन्छन्। अमेरिका कहिलेकाहीँ समान धारणा राख्ने साझेदार रहन्छ भने कहिले रहँदैन। तर भारत त्यसलाई स्वीकार गरेर अघि बढ्न सक्छ।"
यसअघि केपी ओली नेतृत्वको सरकार रहँदा नेपाल भारत सम्बन्धमा चिसोपन देखिएका थिए। त्यसबेला कैयौँ भारतीय विश्लेषकहरूले ओलीको सरकारले चीनतर्फ झुकाव देखाएको आरोप लगाउने गरेको भएपनि ओली र उनको दलले त्यसलाई खण्डन गर्दै आएका थिए।
पन्तजस्ता कतिपय विज्ञहरूले नेपालमा नयाँ राजनीतिक शक्ति सत्तामा आएसँगै विगतमा जस्तो भारत निरन्तर विवादमा तानिने अवस्था अन्त्य हुने अपेक्षा गरिरहेका छन्।
उनले भने, "दुवैतर्फ शक्तिशाली नेताहरूले सरकारको नेतृत्व गरिरहेका छन्। दुई नेताबीचको सोच मिल्यो भने दुवै देशमा देखिएको राजनीतिक स्थिरताका कारण अबका केही वर्षमा धेरै विषयहरूमा उपलब्धि हुन सक्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।