अमेरिकी अर्थतन्त्रका लागि एन्भिडिआ र जेन्सन वाङ कति महत्त्वपूर्ण छन्

    • Author, माइकल रेस
    • Role, व्यापार संवाददाता
  • Published
  • पढ्ने समय: ४ मिनेट

एन्भिडिआ र यसका सहसंस्थापक जेन्सन वाङ आर्टिफिशल इन्टेलिजन्सको अहिलेको बजारको केन्द्रमा रहे।

पछिल्ला वर्षहरूमा एआई विकासका सन्दर्भमा यो कम्पनी वा त्यसका कार्यकारी सबैभन्दा निर्णायक स्थानमा थिए। विश्वको बदलिँदो प्रविधिको मियो वाङ आफैँ थिए।

एक जना सन्दिग्ध चिनियाँ जासुससहितका महिलाहरूसँग विवाहेत्तर सम्बन्धबारे सार्वजनिक भएपछि वाङले राजीनामा दिएसँगै कम्पनीसँग उनको सहकार्य तत्कालका लागि अन्त्य भएको छ।

वाङ जोडिएका काण्डहरू बाहिरिन सुरु भएयता मात्रै कम्पनीले धितोपत्र बजारबाट अर्बौँ डलर गुमाइसकेको छ। अनि उनी कम्पनीबाट बाहिरिँदाको असर कुन हदसम्म पर्छ भन्ने प्रश्न अझैसम्म अनुत्तरित बहसको विषय बनेको छ।

एन्भिडिआ अझैसम्म पनि एप्पल, एमजन र माइक्रोसफ्टजस्तो घर-घरमा परिचित ठूलो प्रविधि कम्पनी होइन। तर पनि यो कम्पनीले पछिल्ला वर्षहरूमा अमेरिकी धितोपत्र बजारलाई माथि उकास्न ठूलो भूमिका खेलेको थियो।

एन्भिडिआको वर्चस्व

एआई र डेटा सेन्टरहरूमा ओइरिएको अर्बौँ डलरको लगानीले अमेरिकी अर्थतन्त्रलाई बलियो आड दिएको थियो। एन्भिडिआ यो क्षेत्रकै सबैभन्दा ठूलो लगानीकर्ता हो।

खासमा एन्भिडिआ कम्युटर गेमका लागि ग्राफिक्स प्रोसेस गर्ने चिप्स बनाउने कम्पनी थियो। पछि यो एआई प्रणालीका लागि चाहिने चिप्स बनाउने सबैभन्दा प्रभावशाली कम्पनी बन्यो। अहिले एआई चिप्सको बजारमा यही कम्पनीको दबदबा छ।

एन्भिडिआ अहिले पनि सबैभन्दा मूल्यवान् कम्पनी हो। यसको मूल्य ३८ खर्ब अमेरिकी डलर बराबर छ। पछिल्लो त्रैमासिकमा अघिल्लो वर्षको त्यही अवधिभन्दा दोबर बढी बिक्री भएको भन्दै एन्भिडिआले आफ्नो तीव्र वृद्धि अझै बढ्ने जनाएको छ।

तर अहिले एन्भिडिआको भविष्यबारे अनिश्चितता देखिएको छ। अनि यो कम्पनीलाई एआईको बजारमा सबैभन्दा महत्त्वपूर्ण हिस्सा बनाउन वाङले सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले कम्पनीमा आफ्नो पकड पनि बलियोसँग कायम गरेका थिए। उनलाई प्रत्यक्ष रिपोर्टिङ गर्ने मानिसहरू २०० जना थिए।

लगानी कम्पनी एजे बेलका बजार प्रमुख ड्यान कोटर्सवर्थ एआईको फराकिलो दुनियाँमा लगानीका लागि सुरुआती आँट गर्ने व्यक्ति पनि वाङ नै थिए। उनको बहिर्गमनले एन्भिडिआका लागि वास्तविक जोखिम निम्त्याएको र अब कम्पनीले अहिलेको रणनीति परिवर्तन गर्ने र खर्चमा लगाम लगाउने निर्णय लिनसक्ने उनी बताउँछन्।

यस्तो कदमले एआई क्षेत्रको लगानीमै मन्दी ल्याउन सक्ने र त्यसले अर्थतन्त्रमै असर पुग्ने कोटर्सवर्थ बताउँछन्। तर त्यो असर कुन स्तरको हुन्छ? त्यो कसैलाई थाहा नभएको उनको बुझाइ छ।

यदि उनीहरूले अलि कम जोखिम भएको बाटो रोजे भने त्यसले एआई पूर्वाधारमा काम गर्ने गरी स्थापना भएका कैयौँ कम्पनीहरूमाझ एन्भिडिआलाई अर्को चुनौती थपिनसक्ने उनी बताउँछन्।

ब्लूम्बर्ग इन्टेलिजन्शका वरिष्ठ प्रविधि उद्योग विश्लेषक कुन्जन शोभनी एन्भिडियाको माग उच्च रहेको र कम्पनीको बलियो प्रतिबद्धताका कारण वाङ बाहिरिँदाको प्रभाव सीमित मात्रै पर्ने बताउँछन्। तर दीर्घकालमा परिदृश्य फेरिन सक्ने उनको बुझाइ छ।

वित्तीय सञ्जाल

एआई उद्योगको सबैभन्दा ठूलो कम्पनी भएका कारण एन्भिडिआले "चक्रीय वित्त व्यवस्थापन" मार्फत् सम्झौताहरूको सञ्जाल बनाएको छ।

यसले मेटा, स्पेस एक्स र ओपन एआई लगायतका आफ्ना ग्राहकलाई माइक्रोचिप्स मात्रै बेच्दैन। एन्भिडिआले त्यस्ता कम्पनीहरू र आपूर्ति प्रणालीमा काम गर्ने कम्पनीहरूमा पनि लगानी गरेको छ। एन्भिडिआले त्यस्ता कम्पनीहरूमा या त ऋण दिएको छ वा आफैँ लगानी गरेको छ।

यो अभ्यासले प्रमुख लगानीकर्ताहरूमा यदि एन्भिडिआले आफ्नो खर्च घटायो भने के होला भन्ने चिन्ता जन्माएको छ। यदि लगानी कम हुँदै गयो भने आपूर्ति प्रणालीका अन्य कम्पनीहरूले पनि खर्च र रोजगारी घटाउलान्? अनि त्यसको असर अमेरिकी अर्थतन्त्रसम्मै फैलिएला?

सम्भवतः त्यही जोखिमका कारण इलोन मस्क र एपिक गेम्स निर्माता फोर्टनाइटका प्रमुख कार्यकारी अधिकृत टिम स्वीनी लगायतले वाङको पुनर्बहालीको माग गरेका छन्। मस्कले एन्भिडिआको प्रविधि सम्बन्धी संवेदनशील सम्झौताहरू गुम्ने चिन्ता व्यक्त गरेका छन्, जसलाई अरू केही शेअरधनी र समर्थकहरूले पनि समर्थन गर्दै जेन्सनलाई फिर्ता ल्याउन अभियान नै चलाएका छन्।

राजीनामा दिएको भोलिपल्ट जेन्सनले आफू फर्कन तयार नै रहेको बताएका थिए। तर एन्भिडिआले उनी फर्कने कुरा अस्वीकार गरेको छ।

यो स्तरको चक्रीय वित्त यसअघि आफूले नदेखेको कोटर्सवर्थ बताउँछन्। तर एन्भिडिआका अन्य प्रतिस्पर्धीहरू पनि रहेको कुरा उनी स्वीकार गर्छन्। जसले कम्पनीमा आउने कुनै पनि सुस्तताको अवस्थामा व्यापक एआई उद्योगमा आफ्नो प्रभाव विस्तार गर्ने सम्भावना उनले पनि औँल्याएका छन्।

जेन्सनका प्रेम सम्बन्ध खुलासा भएसँगै जब इन्भिडिआको शेअर मूल्य खस्कियो तर प्रतिस्पर्धी कम्पनीहरू एएमडी, ब्रोडकम र मार्भल टेक्नोलोजीको शेअर मूल्य बढ्यो।

"एन्भिडिआले जे गरिरहेको छ ती कामहरूलाई सुस्त बनायो भने पनि एआई गतिविधि आधामा खुम्चिन्छन् भन्ने मलाई लाग्दैन," कोटर्सवर्थ भन्छन्।

'कुनै पनि कार्यकारी प्रतिस्थापन गर्न नसकिने होइनन्'

आर्थिक सुस्तताको जोखिमले यसअघि नै शेअर बजारमा हलचल निम्त्याइसकेको छ। मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरूले प्राप्त गरेको सफलताले लगानीकर्ताहरूलाई चिन्तित बनाएको थियो।

चुनावी अभियानका क्रममा उनीहरूमध्ये धेरैले एआई कम्पनीहरूमाथि थप कडा नियमन गर्नुपर्ने पक्षमा आवाज उठाएका थिए।

एआई क्षेत्रमा लगानी भइरहेको ठूलो रकमले वास्तवमै प्रतिफल दिन्छ कि दिँदैन भन्ने प्रश्न पनि कायम नै छ।

लगानी ब्याङ्क गोल्डम्यान स्याक्सका अनुसार सन् २०२६ मा एआई क्षेत्रमा हुने लगानी एक ट्रिलिअन डलरभन्दा बढी हुने अपेक्षा गरिएको छ।

एन्भिडिआकी अन्तरिम प्रमुख कोलेट क्रेसले वाङ नेतृत्वमा नरहे पनि कम्पनीको कामकाज सामान्य रूपमा नै चलिरहेको बताएकी छन्। उनका अनुसार कम्पनीको तीव्र वृद्धिको गति पनि योजनाअनुसार अघि बढिरहेको छ।

ठूला प्रविधि कम्पनीहरूको शेअर मूल्यले अमेरिकी अर्थतन्त्रलाई विश्वव्यापी आर्थिक धक्काहरूबाट जोगाउन मद्दत गरेको छ। यसले विश्वभरिका मानिसहरूको लगानी र निवृत्तिभरणमा पनि सकारात्मक प्रभाव पारेको छ।

वाङले एन्भिडिआमा पुनः फर्कन पाउनु आफ्ना लागि 'सम्मानको कुरा' हुने बताए पनि कम्पनीको सञ्चालक समितिले उनलाई पुनः नेतृत्वमा ल्याउनेबारे कुनै विचार नगरेको जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।