सम्मानसँगै सुरक्षा र कूटनीति : भारतीय सेनाध्यक्ष सेठको काठमाण्डू भ्रमण किन अर्थपूर्ण

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थलसेनाका प्रमुख धीरज सेठ

तस्बिर स्रोत, Nepali Army

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ६ मिनेट

भारतका सेना प्रमुख धीरज सेठले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमण आइतवार काठमाण्डूबाट सुरु गर्नुले नेपालमा अभिव्यक्त भूराजनीतिक प्रतिस्पर्धाप्रति दिल्लीको विशेष अभिरुचि रहेको सङ्केत दिने विज्ञहरूले बताएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सत्ता सम्हालेयता छिमेकबाट उच्चस्तरीय भ्रमणमा आउने उनी सबैभन्दा वरिष्ठ अधिकारी हुन्। रक्षामन्त्रीको समेत हैसियतमा रहेका प्रधानमन्त्री शाहसँग उनले भेटवार्ता गर्ने तयारी रहेको बुझिएको छ।

परराष्ट्र मन्त्रालय र नेपाली सेनाले यसबारे औपचारिक जानकारी दिएका छैनन्। तर अधिकारीहरूले त्यस्तो भेटवार्ताको संयोजन गरिएको र त्यो सकारात्मक अघि बढेको बीबीसीलाई बताएका छन्।

भारतले आफ्ना सेनाध्यक्षको भ्रमणले दुई देशको गहिरो सम्बन्धलाई उजागर गरेको भन्दै यसले नेपाल र भारतका सेनाबीचको सहकार्यका नयाँ क्षेत्र पहिचान र विस्तार गर्न अवसर प्रदान गर्ने उल्लेख गरेको छ।

नेपाल र भारतका सेनाप्रमुख एक अर्काको देशका सेनाका मानार्थ जेनरल हुने परम्परा छ। मानार्थ महारथीको सम्मान लिएपछि उनले प्रधानमन्त्री बालेनसँग पनि भेटवार्ता गर्ने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।

यो भ्रमणलाई उक्त परम्परालाई निरन्तरता दिने अर्थमा मात्रै हेर्न नहुने र यसले नेपालमा विकसित पछिल्लो 'विशेष परिस्थिति'लाई भारतीय सेनाले प्राथमिकताका रूपमा राखेको अर्थमा पनि हेर्नुपर्ने विज्ञहरूले बताएका छन्।

नेपाली सेनाका अधिकारीहरू के भन्छन्

स्थल सेनाध्यक्ष सेठको औपचारिक कार्यक्रमहरू सोमबारबाट सुरु हुँदैछन्। 

तस्बिर स्रोत, Nepal Army

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भारतका सेनाप्रमुख सेठले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथीको सम्मान ग्रहण गर्ने बताए।

सेनाध्यक्ष सेठले सोमवार टुँडिखेलस्थित सैनिक मञ्चमा माल्यार्पण गरे। नेपाली सेनाले उनलाई भद्रकालीस्थित जङ्गी अड्डामा 'गार्ड अफ अनर' पनि दियो। त्यसपछि उनको नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग शिष्टाचार भेटघाट भयो।

सोमवार नै नेपाली सेनाका युद्धकार्य महानिर्देशकबाट द्विपक्षीय मामिलामा ब्रीफिङ लिनेसमेत कार्यक्रम तय भएको छ। त्यसपछि राष्ट्रपति भवन शीतलनिवासमा मानार्थ महारथीको उपाधि दिने विशेष समारोह आयोजना गरिएको छ।

मङ्गलवार भारतीय स्थल सेनाअध्यक्षले नेपाली सेनाको कमान्ड र स्टाफ कोर्सका सहभागीहरूसँग अन्तरक्रिया गर्ने र नेपाल सरकारका उच्चपदस्थ्य अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भारतीय प्रेस इन्फर्मेशन ब्यूरोले जनाएको छ।

बुधवार पोखरामा भूतपूर्व गोर्खा सैनिकहरूको कार्यक्रममा सहभागी भएर सेठ आफ्नो नेपाल भ्रमण सकेर भारत फर्किने छन्।

यसलाई "नियमित भ्रमण" सैनिक प्रवक्ता बस्नेतले थपे, "नेपाली सेना र भारतीय सेनाबीचको जुन सम्बन्ध छ, त्यसबारेमा छलफल हुने छ। सैन्य आदानप्रदान, तालिम र अभ्यासहरूकोबारे पनि छलफल हुन्छ।"

सहकार्यका नयाँ क्षेत्रको पनि चर्चा हुने

प्रधानमन्त्री वालेन्द्र शाह रक्षामन्त्री पनि हुन्। नेपाली सेनाका अधिकृतहरूको दिक्षान्त समारोहमा उनी सहभागी हुँदाको तस्बिर।

तस्बिर स्रोत, Nepal Army

तस्बिरको क्याप्शन, प्रधानमन्त्री वालेन्द्र शाहले रक्षा मन्त्रालय आफूसँगै राखेका छन्

'आर्म्ड कोर'हुँदै सेनामा प्रवेश गरेका सेठले गएको ३० जुनमा भारतीय स्थलसेनाको नेतृत्व सम्हालेका थिए।

भारतीय सेनाको दुईवटा कमान्ड र रणनीतिक सामर्थ्य विकास र अपरेशनल प्लानिङसहितका क्षेत्रमा काम गरेको अनुभव भएका सेठले नेपालबाट आफ्नो पहिलो विदेश भ्रमण थाल्नुलाई विज्ञहरूले अर्थपूर्ण रूपमा लिएका छन्।

"यो भ्रमणले भारत र नेपालबीचको गहिरो ऐतिहासिक, सांस्कृतिक तथा सैनिक सम्बन्धलाई पुनः उजागर गर्छ र दुवै देशका सेनाबीच सहकार्यका नयाँ क्षेत्रहरू पहिचान तथा विस्तार गर्ने अवसर प्रदान गर्ने छ," पीआईबीले भनेको छ।

साथै उसले भारत-नेपाल साझेदारी लोकतान्त्रिक मूल्यमान्यता र क्षेत्रीय शान्ति तथा स्थायित्व सुनिश्चित गर्ने साझा स्वार्थद्वारा परिभाषित रहेको उल्लेख गरेको छ।

परम्परागत र रणनीतिक पक्ष

गार्ड अफ अनर लिने क्रममा रातो कार्पेटमा हिँडिरहेका प्रधानसेनापति सिग्देल

तस्बिर स्रोत, Nepal Army

नेपाली सेनाका एक जना अवकाशप्राप्त उपरथी विनोज बस्न्यातले बीबीसीसँग कुरा गर्दै यो भ्रमणका दुई पक्ष रहेको बताए।

"नेपालको आन्तरिक राजनीतिमा देखिएका परिवर्तन र एक वर्षअघि जेनजीको आन्दोलन हुँदा देखा परेको रिक्तताहरू र त्यसले लिएर आउने सुरक्षा चिन्ताका कुराहरू पनि छन्।"

"विश्वव्यापी सामरिक प्रतिस्पर्धा र त्यसमा पनि अमेरिका र चीनबीचको टकरावबाट हाम्रो प्रणालीका कारण हामी अछुतो छैनौँ। हामी त्यसमा तानिएका छौँ। यो भ्रमण उहाँको पहिलो भ्रमण हो। त्यही भएर यो भ्रमण परम्परागत पनि हो। यसमा रणनीति पनि छ।"

भारतीय स्थलसेनाध्यक्षको जिम्मेवारी धीरज सेठले ३० जुनमा सम्हालेका हुन्। पद सम्हालेपछि उनले गार्ड अफ अनर लिँदाको तस्बिर।

तस्बिर स्रोत, adgpi/X

सरकार प्रमुखका रूपमा शपथग्रहण गरे लगत्तै प्रधानमन्त्री शाहलाई भारतले औपचारिक भ्रमणको निम्तो दिएको थियो। प्रधानमन्त्री शाहले विगतका सरकार प्रमुखहरूभन्दा फरक व्यवहार देखाउँदै विदेशी कूटनीतिज्ञहरूसँगका भेटघाटलाई सीमित तुल्याएका छन् र अघिल्लो सातामात्रै उनले पहिलो पटक भारत र चीनका राजदूतहरूसँग एक्ला एक्लै भेटवार्ता गरेका थिए।

यसअघि प्रोटोकलको कारण देखाउँदै प्रधानमन्त्री शाहले भेटवार्ताको समय निश्चित नगरेका कारण भारतीय विदेश सचिवको काठमाण्डू भ्रमणसमेत रोकिएको विवरणहरू आएको थियो।

अर्थपूर्ण भ्रमण

तर कैयौँ विज्ञहरू राजनीतिक वा कूटनीतिक तहमा नेपाल भारत सम्बन्धमा अप्ठेरो हुँदा समेत दुई देशका सेनाबीचको संवाद निरन्तर हुने गरेका र कतिपय त्यस्ता उच्चस्तरीय आदानप्रदानबाट अवरोध अन्त्य गर्न मद्दत पुगेको सम्झन्छन्।

भारतीय सेनाध्यक्षले केही समय पहिले भारतीय सेनाको पूर्वी कमान्डको भ्रमण गरेका थिए।

तस्बिर स्रोत, adgpi/X

नेपालले संविधान जारी गरेपछि सीमा क्षेत्रमा देखिएको अघोषित नाकाबन्दी अन्त्य गर्न पनि सैनिक कूटनीति प्रयोग गरिएको दृष्टान्त दिँदै सुरक्षा मामिलासम्बन्धी एक जना विज्ञ इन्द्र अधिकारीले अहिलेको भ्रमण नियमित भएपनि विशेष परिस्थितिको भएको उल्लेख गरिन्।

उनी भन्छिन्, "अहिले अन्तर्राष्ट्रिय शक्तिहरू, क्षेत्रीय शक्तिहरू खासमा नेपालको अवस्थाका बारेमा रनभुल्लमा परेको जस्तो अवस्था छ। कहाँबाट कसरी यिनीहरूसँग काम गर्न सकिन्छ भनेर अलमलिएको जस्तो देखिन्छ। त्यो हाम्रो कूटनीतिक व्यवहारबाट पनि देखिन्छ।"

उनले थपिन्, "सेना प्रमुख आउने भनेको अर्थपूर्ण हो। किनभने सेनाले जहाँ सुकै कुराहरू सुँघ्ने सामर्थ्य राख्छ। स्वभावैले गैर राजनीतिक हो भन्दै गर्दा पनि उसले राजनीतिक तहमा सुझावहरू दिने गर्छ। अझ भारतको हकमा सेनाले सत्तालाई आफ्नो अनूकुलमा बनाइराख्नु पर्छ भन्नेमा नागरिक सत्तालाई उसले दिलोज्यानले सहयोग पनि गर्छ। सत्तालाई पनि उसप्रति असाध्यै भरोसा छ त्यही भएर सरकारकै एउटा प्रमुख च्यानलका रूपमा यो भ्रमण भइरहेको हुनसक्छ।"

भारतीय स्थलसेनाध्यक्ष धिरज सेठ काठमाण्डू विमानस्थलमा

तस्बिर स्रोत, Nepal Photo Library

भारतीय पक्ष आफ्नो राष्ट्रिय स्वार्थमा सदैव चनाखो रहेको भन्दै नेपाल भने व्यक्तिगत र संस्थागत हित पहिल्याउन कैयौँ परिस्थितिमा पछि परेको देखिएको उनी ठान्छिन्।

नेपाली सेनाका पूर्व उपरथी बस्न्यात सरकारसँग भारतीय स्थल सेनाध्यक्षले महत्त्वपूर्ण छलफल गर्नसक्ने ठान्छन्।

उनले भने, "नेपालको राजनीतिक र सुरक्षाको परिप्रेक्ष्यमा हेर्दा के कस्तो हुनसक्छ। नेपाल भारत सम्बन्धमा सीमाबारेका सवालहरू पनि छलफल हुनुपर्छ भन्ने मलाई लाग्छ। सरकार र उहाँहरूबीच यस्तो विषयमा पनि कुरा भयो भने म राम्रो हिसाबले लिन्छु।"

गोर्खा भर्तीको सवाल

भारतीय सेनाका गोर्खा खुकुरीसहित कवाज प्रदर्शन गर्दै।

तस्बिर स्रोत, Getty Images

भारतीय सेनामा नेपाली युवाहरूको भर्ती कोभिड महामारी यता अवरुद्ध भएको परिस्थितिमा कतिपय भारतीय सञ्चारमाध्यमहरूले भ्रमणको पूर्व सन्ध्यामा अग्निपथ योजना अन्तर्गत नेपाली युवाहरूको भर्तीको विषय उठाएर खबरहरू पनि प्रकाशित गरेका छन्।

झन्डै दुई साता पहिले भारतीय अनलाइन प्रिन्टसँगको संवादमा भारतीय सेनाका पूर्व चिफ अफ डिफेन्स स्टाफ अनिल चौहानले अग्निवीर योजना लागु गरिँदा भारतीय नागरिक सरहकै व्यवहार नेपाली गोर्खाहरूलाई पनि गरिएको भन्दै नेपाली नागरिकको हकमा एउटा र भारतीयको हकमा अर्को व्यवहार गर्न नसकिने बताएका थिए।

त्यस बेला उनले 'बल नेपालको कोर्टमा रहेको' दृष्टिकोण राखेपछि भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल अशोक मेहताले भारतले नेपालसँग गोर्खा भर्तीको मुद्दा नउठाउने अर्थमा त्यसलाई बुझ्नुपर्ने उल्लेख गरेका थिए।

शनिबार द पायोनिरको अनलाईन संस्करणमा प्रकाशित एउटा लेखमा प्रकाशित जनरल मेहताको एउटा लेखमा पोखरामा अवकाशप्राप्त गोर्खाहरूको कार्यक्रममा सेठ सहभागी हुने र त्यहाँ नेपालीहरूलाई सेनामा भर्ना गर्नुपर्ने विषय उठ्नसक्ने उल्लेख गरेका छन्।

विगतमा भारतीय सेनाध्यक्षहरूले नेपालको भ्रमण गर्दा उनीहरूले अग्निपथबारे कुनै धारणा सार्वजनिक गरेका थिएनन।

नयाँ सरकार बने यता उक्त विषयमा भारतसँग कुरा नभएको केही समय पहिले परराष्ट्रमन्त्री शिशिर खनालले बीबीसीसँग एउटा अन्तरवार्तामा भनेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।