पानी र हिउँ पर्ने पूर्वानुमानमाझ काट्ने बेला भएको धान कसरी जोगाउने?

अन्न भण्डारको रुपमा परिचित भोजपुरको पौवादुङमा गाउँपालिका–३ प्याक्लामा गरिएको धानखेतीमा पहेंलपुर भएर पाकेको धानबाली
तस्बिरको क्याप्शन, अन्न भण्डारको रूपमा परिचित भोजपुरको पौवादुङमा गाउँपालिका–३ प्याक्लामा गरिएको धानखेतीमा पहेँलपुर भएर पाकेको धानबाली
Published
पढ्ने समय: ४ मिनेट

धान भित्र्याउने मध्य मौसममा भारी वर्षा हुने अनुमान गरिएका बेला कृषि अनुसन्धान परिषद्‌ नार्कले किसानहरूलाई मङ्गलवार भित्र धान काटिसक्न वा पानी रोकिएपछि मात्रै धान काट्न अनुरोध गरेको छ।

धान काटेर एक घाम सुकाउन वा फिँजाएर राख्न सकिने अवस्थामा मात्रै किसानहरूलाई धान काट्न नार्कले किसानहरूलाई सुझाएको हो।

यो वर्ष एल निन्यो मौसमी प्रणालीका कारण पानी थोरै पर्दा धान बालीमा असर गर्ने ठानिए पनि गत वर्षको तुलनामा धान उत्पादनको परिमाण केही मात्राले बढ्ने ठानिएको अधिकारीहरूले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागले आउँदो बुधवारदेखि चार दिनसम्म नेपालमा धेरैतिर वर्षा गराउने प्रणाली बङ्गालको खाडीमा विकसित भइरहेको भन्दै मौसमविद्हरूले सचेत गराएका छन्।

मौसमविद्हरूले हालसम्मको मूल्याङ्कनमा केही ठाउँमा भारीदेखि अति भारी सम्मको वर्षा र हिमालमा उच्च हिमपात हुने देखिएको बताएका छन्।

विभागका अनुसार नेपालमा बुधवार पूर्वी भेगमा हल्का पानी पर्न थाल्ने र बिहीवारदेखि शनिवारसम्म वर्षाको धेरै सम्भावना रहेको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशतिर आंशिकजस्तो प्रभाव पर्ने देखिएको विभागले जनाएको हो।

किसानले कुन अवस्थामा धान काट्ने?

उदयपुर भएर बग्ने त्रियुगा नदी आसपासको फाँटमा पाक्दै गरेको धानबाली
तस्बिरको क्याप्शन, उदयपुर भएर बग्ने त्रियुगा नदी आसपासको फाँटमा पाक्दै गरेको धानबाली

नेपाल कृषि अनुसन्धान परिषद्‍ नार्कले बिहीवारदेखि धान नकाट्न सबै किसानहरूलाई अनुरोध गरेको छ।

मङ्गलवार (भोलि) सम्म धान काटिसक्न र त्योबेलासम्म धान काट्न नसकिए पानी रोकिएपछि मात्रै काट्न उसले अनुरोध गरेको हो।

" भोलि(मङ्गलवार)सम्म धान भित्र्याउन सकिन्छ भने भित्र्याउने। तर भोलिसम्म भित्र्याउन सकिँदैन भने पानी पर्न रोकिएपछि मात्रै काट्न हामीले अनुरोध गरेका छौँ," नार्कका कार्यकारी निर्देशक श्रीमत श्रेष्ठले भने।

"मङ्गलवार काटेको धान एक घाम वा दुई घाममा सुकाउँदा हुन्छ। अहिले धेरैजसो धान काट्ने अवस्थामा पुगिसकेको छ तैपनि धानको अवस्था हेरेर काट्नुपर्छ।"

तर त्यसरी मङ्गलवारभित्र धान काट्नको लागि पनि हातैले काट्नुभन्दा कम्बाइन हार्भेस्टर वा रिपरजस्ता मेसिनको प्रयोग गरेर काट्न नार्कले सुझाएको छ।

"काटिसकेको धानलाई राम्ररी सुकाएर मात्र थन्क्याउनुपर्छ त्यो भएन भने फेरि ढुसी लाग्ने र बिग्रिने सम्भावना हुन्छ," श्रेष्ठले भने।

कृषि मन्त्रालयका पूर्व सचिव हरि दाहाल पनि अहिलेको अवस्थामा धान नकाट्न उपयुक्त हुने र काटेको अवस्थामा पानी पर्ने अवधिमा फिँजाएर राख्न किसानलाई सुझाएका छन्।

"स्थानीय अवस्था हेरेर किसानहरूले निर्णय लिनुपर्छ। मौसमको जानकारी लिने अनिमात्रै धान काट्ने वा नकाट्ने हेर्नुपर्छ। पाकेको धान छ र सुरक्षित राख्ने अवस्था छैन भने नकाट्दा नै राम्रो हुन्छ," उनले भने।

"काटिसकेको धानलाई त अब एक दुई दिनमा सुकाउनुपर्‍यो। काटेको धान खेतमै राख्दा त बिग्रिने नै हुन्छ। त्यसैले हावा नै पर्न‍े ठाउँमा फिँजाएर राख्दा पनि केही दिन त बिग्रिँदैन। काटिसकेको धान गुम्सिन दिन हुँदैन।"

जुम्लाको तातोपानी गाउँपालिका-३,लाछु जिउलोस्थित खेतमा मार्सीधान भित्र्याउन व्यस्त किसान
तस्बिरको क्याप्शन, जुम्लाको तातोपानी गाउँपालिका-३,लाछु जिउलोस्थित खेतमा मार्सीधान भित्र्याउन व्यस्त किसान

यो वर्ष एल निन्यो (मौसमी प्रणाली)को सम्भावना रहेको जानेर नै कृषि मन्त्रालयले धान रोप्नु अघि नै त्यही अनुसार तयारी गरेको नार्कले जनाएको छ।

यस वर्ष विश्व मौसम सङ्गठन (डब्ल्यूएमओ)ले अगस्टदेखि अक्टोबरसम्म 'एल निन्यो' भनिने मौसम प्रणाली अझ बलियो बन्ने र त्यसले उच्च तापक्रमका साथै वर्षाको प्रवृत्तिमा परिवर्तन ल्याउने भनेर प्रक्षेपण गरेको थियो।

"एल निन्योको सम्भावना भएको हुनाले हामीले समयमै धान रोप्ने र त्यसको लागि पनि कम पानी लाग्ने धान लगाउनुपर्‍यो भनेर सुरु देखिनै प्रचारप्रसार गरेका थियौँ। तर एल निन्योको असर त्यतिधेरै परेको पाइएन," कार्यकारी निर्देशक श्रेष्ठले भने।

"त्यसैले पानीको कारणले धान उत्पादनमा कमी आउने देखिएको छैन।"

गत वर्ष प्रति हेक्टर ३.७ मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष प्रति हेक्टर ३.८ वा ३.९ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको कार्यकारी निर्देशक श्रेष्ठले भने।

"यसपालि हामीले केही उन्नत जातको धानको पनि अभिवृद्धि भएको छ। त्यसैले धान केही वृद्धि हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौँ," उनले भने।

२०८१ सालमा पनि नेपालको धानबाली उत्पादकत्व प्रतिहेक्टर ३.८ मेट्रिक टन थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।