तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकामा तीन वर्षमा पहिलो पटक ब्याजदर बढ्यो, यसको अर्थ अमेरिकीका लागि के?
- Author, माइकल रेस
- Role, व्यापार संवाददाता, वाशिङ्टन डीसी
- Published
- पढ्ने समय: ३ मिनेट
अमेरिकाको ब्याजदर तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक बढाइएको छ र बढ्दो मूल्यवृद्धिलाई नियन्त्रण गर्ने प्रयासस्वरूप यो अझै बढ्न सक्छ।
फेडेरल रिजर्भले सर्वसम्मत निर्णय गर्दै ब्याजदर ३.५-३.७५ प्रतिशतबाट बढाएर ३.७५-४ प्रतिशत पुर्याएको हो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ब्याजदर घटाउनुपर्ने माग गर्दै कडा विरोध गरे पनि यो निर्णय भएको हो।
फेडेरल रिजर्भका अध्यक्ष केभिन वार्शले यो कदम चाल्नुको कारण "महँगी धेरै उच्च छ र लामो समयदेखि उच्च रहँदै आएको छ" भन्दै यो गम्भीर र जिम्मेवारीपूर्ण निर्णय" भएको बताए।
घोषणापछि ट्रम्पले वार्शप्रति समर्थन व्यक्त गरे, तर ब्याजदरसम्बन्धी निर्णयमा मतदान गर्ने फेडको बोर्ड, जसले दरको निर्णय गर्यो उसलाई "बिरोधी" भने।
उच्च ब्याजदरका कारण ऋण, घर किन्न लिइने मोर्गेज तथा क्रेडिट कार्डका लागि पैसा उधारो लिन चाहने मानिसहरूलाई बढी खर्च पर्छ। तर यसले बचतमा प्राप्त हुने प्रतिफल भने राम्रो हुन सक्छ।
बुधवारको निर्णयपछि आयोजित पत्रकार सम्मेलनमा वार्शले फेडको नेतृत्वमा "आशावादी दृष्टिकोण" भए पनि महँगी अझै समस्याका रूपमा रहेको बताए।
धेरैजसो केन्द्रीय बैङ्कहरूजस्तै फेडको पनि महँगीलाई दुई प्रतिशत वा त्योभन्दा कममा राख्ने लक्ष्य छ। वार्शले अमेरिकामा महँगी "पाँच वर्षभन्दा बढी समयदेखि" उक्त लक्ष्यभन्दा माथि रहेको बताए।
यसले अमेरिकी मतदाताहरूका लागि जीवनयापनको खर्च धान्न सक्ने क्षमतालाई प्रमुख चिन्तामध्ये एक बनाउन मद्दत गरेको छ। अमेरिकाले इरानसँग सुरु गरेको अमेरिका-इजरेल युद्धपछि थोक तेलको मूल्य अत्यधिक बढ्दा इन्धनको मूल्य पनि तीव्र रूपमा बढेको छ। यसका कारण धेरै प्रकारका सामान तथा सेवाको लागतसमेत बढेको छ।
उपभोक्तालाई पर्ने असर
फेडले "तेलको मूल्य होस् वा किराना पसलमा पाइने खाद्य सामग्रीको मूल्य, कुनै पनि व्यक्तिगत वस्तुको मूल्यलाई प्रत्यक्ष रूपमा प्रभावित गर्न सक्दैन", वार्शले भने। तर केन्द्रीय बैङ्कले मूल्यवृद्धि सम्पूर्ण अर्थतन्त्रमा फैलिन नदिन काम गर्न सक्छ।
उनले रोजगारी बजार र समग्र अर्थतन्त्र बलियो भएकाले फेडले मूल्य स्थिर राख्ने आफ्नो लक्ष्यमा ध्यान केन्द्रित गरिरहेको बताए। साथै महँगी कम हुँदा आर्थिक रूपमा कमजोर अवस्थामा रहेका मानिसहरूले सबैभन्दा धेरै लाभ पाउने पनि उनले बताए।
महँगी उच्च हुँदा केन्द्रीय बैङ्कहरूले सामान्यतया ब्याजदर बढाउने गर्छन्। यसको उद्देश्य मानिसहरूलाई कम खर्च गर्न र बढी बचत गर्न प्रोत्साहित गर्नु हो, जसबाट मूल्य बढ्ने गति कम हुने अपेक्षा गरिन्छ।
तर यो एक प्रकारको सन्तुलन कायम गर्ने प्रक्रिया हो किनभने उच्च ब्याजदरले व्यवसायहरूलाई नयाँ लगानी गर्न ढिलाइ गर्न पनि प्रेरित गर्न सक्छ र यसले आर्थिक वृद्धिमा नकारात्मक असर पार्न सक्छ।
जब वार्शको नियुक्ति अनुमोदन भएको थियो डेमोक्रेटिक सांसदहरूले वार्श ट्रम्पको सक पपेट अर्थात् आफ्नो निर्णयभन्दा अरूको निर्देशनअनुसार चल्ने व्यक्ति हुने बताएका थिए। धेरैजसो फेडसम्बन्धी विश्लेषकहरूले पनि ट्रम्पले लगातार ब्याजदर घटाउन गरेको मागलाई वार्शले कार्यान्वयन गर्ने अपेक्षा गरेका थिए। ट्रम्पले यसअघि वार्शका पूर्ववर्ती जेरोम पावलले ब्याजदर नघटाएको भन्दै उनको कडा आलोचना गरेका थिए।
बुधवार ब्याजदर बढाउने निर्णयले ट्रम्पलाई के सन्देश दियो भनेर सोध्दा वार्श मुस्कुराउँदै हाँसे र भने: "राष्ट्रपतिसँग भएको छलफलका बारेमा मसँग तपाईँका लागि केही भन्नु छैन।"
पछि ट्रम्पले पत्रकारहरूसँग भने "म केभिनमाथि भर गरिरहेको छु तर तपाईँलाई थाहा छ उहाँसँग निकै कडा बोर्ड छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।