तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकाद्वारा चीन र भारतसहित कैयौँ देशमाथि नयाँ भन्सार शुल्क घोषणा
- Author, माइकल रेस, जोनाथन जोसेफ्स र ओस्मन्ड चिआ
- Role, व्यापार संवाददाताहरू
- Published
- पढ्ने समय: ४ मिनेट
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापारनीति कार्यान्वयन गर्ने क्रममा कैयौँ देशहरूमाथि ताजा भन्सार शुल्कहरू घोषणा गरेका छन्।
ती नयाँ करहरू अमेरिकामा गरिने आयातको सन्दर्भमा लागु गरिएको हो। नयाँ घोषणाबाट युरोपेली सङ्घ (ईयू), चीन, जापान, दक्षिण कोरिया र ताइवानसहित अन्य १२ क्षेत्र प्रभावित हुने छन्।
सर्वोच्च अदालतले विगतमा ट्रम्पले घोषणा गरेको 'लिबरेशन डे ट्यारिफ' अवैध रहेको ठहर गरेपछि गत मार्चमा ह्वाइट हाउसले अरू देशका व्यापारिक अभ्यासहरूबारे जाँच थालेको थियो।
चीनलाई सर्वाधिक ४० प्रतिशतसम्म भन्सार शुल्क लगाइएको छ। भियतनामलाई ३५ प्रतिशतसम्म र अन्य देशलाई २० देखि २५ प्रतिशतसम्म शुल्क लगाइएको छ।
अमेरिकी ट्रेड रेप्रिजेन्टटिभ (यूएसटीआर) ले प्रस्तावित शुल्क घोषणा गर्ने क्रममा ती देश र स्थानका व्यापारसम्बन्धी अभ्यासले अमेरिकी व्यापारलाई पारेको प्रभावबारे विस्तृत प्रतिवेदन तयार पारेको थियो।
यी नयाँ शुल्कहरू अर्को वर्षसम्म कार्यान्वयनमा नआउने अपेक्षा गरिएको छ। लागु हुनुअघि नयाँ शुल्कबारे सार्वजनिक छलफल र सम्भवतः सुनुवाइ पनि हुने छ।
अमेरिका के भन्छ
आयात गरिने सामानमा लगाइने करलाई 'ट्यारिफ' भन्ने गरिन्छ। यस्तो कर वस्तुको मूल्यको निश्चित प्रतिशतका आधारमा निर्धारण गरिन्छ र विदेशबाट सामान आयात गर्ने आयातकर्ताहरूले यस्तो कर सरकारलाई तिर्नुपर्छ।
यद्यपि ट्रम्पले स्वीकार गरेका केही ट्यारिफ सीमाका कारण केही दरहरू व्यावहारिक रूपमा घट्ने छन्। साथै विभिन्न देशलाई फरकफरक अतिरिक्त शुल्क पनि लगाइने छ।
अहिले प्रस्तावित शुल्कले चीन, युरोपेली सङ्घ, सिङ्गापुर, स्विट्जरल्यान्ड, इन्डोनेशिया, मलेशिया, क्याम्बोडिया, थाईल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बाङ्ग्लादेश, जापान र भारतबाट आउने सामानलाई असर पार्ने छन्।
यूएसटीआरका जेमिसन ग्रिअरका अनुसार नयाँ ट्यारिफहरूले "अमेरिकी कामदारहरूका लागि प्रतिस्पर्धाको आधार समान बनाउने र वैश्विक अर्थतन्त्रलाई थप दिगो र नयाँ बाटोतर्फ डोर्याउने छन्"।
उनले अमेरिकाका धेरै व्यापारिक साझेदारहरूले "दशकौँदेखि" उत्पादन क्षेत्रमा निश्चित रणनीति अवलम्बन गर्दै आएका अनि त्यसले "उत्पादनशील उद्योगलाई प्रवर्धन गर्ने र ज्याला तथा श्रमसम्बन्धी लागतलाई दबाउने" गरेको बताए।
उनले ती देशहरूले "व्यापार सन्तुलनलाई आफ्नै पक्षमा ढाल्ने र अमेरिकाको उत्पादन आधारलाई कमजोर बनाउने बजार बिगार्ने अन्य अभ्यासहरू"समेत प्रयोग गरेका आरोप लगाए।
अर्थविद्हरूले नयाँ भन्सार शुल्कले मुद्रास्फीति बढाउने र व्यापारको लागत बढ्दा उपभोक्ताहरूले महँगी खेप्नुपर्ने बताएका छन्।
वैश्विक व्यापारमा पनि यसको असर देखिने उनीहरूको भनाइ छ।
आफ्नो दोस्रो कार्यकालमा अमेरिकाको उत्पादनक्षेत्रलाई प्रोत्साहन गर्ने र रोजगारी सिर्जना गर्ने भन्दै ट्रम्पले भन्सार शुल्क लगाउने चेतावनी दिएका थिए।
अन्य देशको प्रतिक्रिया कस्तो
मध्यावधि चुनावमा आफ्नो दल पराजित भए पनि ट्रम्पले आफ्नो व्यापारनीतिको उक्त आधारभूत अडानलाई निरन्तरता दिएका छन्।
एउटा छुट्टै अनुसन्धानअन्तर्गत संयुक्त राज्य अमेरिकाले "घातक व्यापार अभ्यास' कायम रहेको भन्दै ब्रजिलमाथि १० प्रतिशत भन्सार शुल्क लगाएको छ।
उक्त घोषणाप्रति ब्रजिलले आक्रोश व्यक्त गरेको छ। उसले उक्त घोषणाको उद्देश्य डिजिटल व्यापारसम्बन्धी ब्रजिलको नीति फेर्न दबाव दिनु रहेको दाबी गरेको छ।
चिनी र निर्माण गरिएका विमान अमेरिकामा बिक्री गर्दा उक्त दक्षिण अमेरिकी देशले भन्सार शुल्क तिर्नुपर्ने हुन्छ।
"ब्रजिल यस्तो धम्की सामु झुक्दैन," राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाको कार्यालयले भनेको छ।
यूरोपियन कमिशनले नयाँ शुल्कलाई अस्वीकार गर्दै त्यो ल्याइनुको कारण छानबिन गर्ने भनेको छ। उसले यसअघि सहमति भएको १५ प्रतिशतकै सीमाभित्र ट्यारिफहरू रहने कुरा औँल्यायो।
जापान सरकारले अमेरिकी ट्यारिफ लगाउने निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसलाई "दुःखद" भनेको छ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले नयाँ ट्यारिफ "राजनीतिक चलखेल" को रूप भएको बताएका छन्। चीनले आफ्नो आन्तरिक खपतभन्दा बढी उत्पादन गर्छ भन्दै अमेरिकाले गरेको दाबीलाई उनले "मिथ्या" सङ्ज्ञा दिए।
अहिलेको घोषणाले व्यापार विवाद र एआई प्रतिस्पर्धाका कारण आमुन्नेसामुन्ने रहेका विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको तनाव अझ बढाउने सम्भावना छ।
दुई देशले एकअर्कालाई भन्सार शुल्कको साटो त्यस्तै खालको शुल्क लगाउने नीति लिए पनि हाल त्यसलाई स्थगित गरेका छन्।
गत साता राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच वार्ता भएको थियो। तर ज्यानुअरी १० मा अन्त्य हुन लागेको "व्यापार युद्धविराम" अब के हुन्छ भनेर चाहिँ उनीहरू मौन बसे।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।