साउदीमा भएको आक्रमणमा घाइते नेपालीको 'पहिचान हुँदै'

Published
पढ्ने समय: ३ मिनेट

साउदी अरबमा भएको आक्रमणमा नेपाली पनि घाइते भएको खबर आएपछि नेपाल सरकारले त्यसबारे खोजबिन गरिरहेको अधिकारीहरूले जनाएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार तीन जना नेपाली पनि घाइते भएको खबरपछि त्यसबारे पहिचान गर्ने काम भइरहेको छ।

"पब्लिक इन्भेस्टमेन्ट फन्डको कार्यालयमा आक्रमण भएको खबर आएको छ," एक अधिकारीले भने, "हामीले पत्ता लगाउने प्रयास गरिरहेका छौँ। घाइतेको उपचार भइरहेको अस्पतालमा पत्ता लगाएर रियादस्थित नेपाली अधिकारीहरूलाई अस्पताल गएर घाइतेको पहिचान गर्न मन्त्रालयबाट भनिएको छ।"

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएका खबरहरूमा ८० तल्ले भवनमा आक्रमण भएको उल्लेख छ।

नेपाली अधिकारीहरू किन बोल्दैनन्?

बीबीसीले परराष्ट्र मन्त्रालयका प्रवक्ता, साउदी अरबस्थित नेपाली राजदूतावास तथा युवा, श्रम तथा रोजगारमन्त्री, उक्त मन्त्रालयका प्रवक्ता र सहायक प्रवक्तासँग सम्पर्क गर्ने प्रयास गरेको थियो।

तर केही अधिकारीहरूले औपचारिक रूपमा बोल्न अस्वीकार गरे भने केहीसँग सम्पर्क हुन सकेन।

"साउदी अरबको सरकारले औपचारिक रूपमा नेपाललाई जानकारी दिएको छैन, हाम्रा अधिकारीहरू आफै सम्भावित अस्पताल गएर पत्ता लगाउँदै हुनुहुन्छ" एक सरकारी अधिकारीले भने, "हाम्रो तर्फबाट साउदी अरब सरकारसँग जानकारी मागिएको छ, अहिलेसम्म अन्योल नै छ। यस्तोमा कसरी के बोल्ने?"

वैदेशिक रोजगार विभागका महानिर्देशक नवराज ढकालले आफ्नो कार्यालयमा कतैबाट घटनाबारे जानकारी नआएको बताए।

यमनमा वैधानिकताको समर्थन गर्ने गठबन्धन फौजका प्रवक्ता मेजर जनरल तुर्की अल मलिकीले वित्तीय केन्द्रका टावरहरूमध्ये एउटालाई लक्षित गरी कायरतापूर्ण आतङ्कवादी हमला भएको उल्लेख गरेका छन्।

उनले एक्समा गरेको पहिलो पोस्टमा "सम्बन्धित निकायहरूले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको" उल्लेख छ।

त्यसमा उनले आक्रमणकारीबारे खुलाएका छैनन्।

दोस्रो पोस्टमा उनले "किङ्ग अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टका टावरहरूमध्ये एउटालाई लक्षित गरिएको आतङ्कवादी हमलामा ड्रोनको प्रयोग गरिएको" जनाएका छन्।

"हुथी आतङ्कवादी समूहद्वारा सर्वसाधारण नागरिक र नागरिक संरचनाहरूलाई जानाजान निशाना बनाइएको कार्यको कडा जवाफ दिइने छ," उनले चेतावनी दिएका छन्।

उनले घाइतेहरूबारे केही खुलाएका छैनन्।

बढ्दो आक्रमणबीच सुरक्षा चिन्ता

स्रोतहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले तीन जना नेपाली, दुई जना साउदी, दुई जना भारतीय, र चार जना इजिप्टेली नागरिकहरू रहेको उल्लेख गरेका छन्।

पछिल्ला दिनहरूमा इरानको समर्थनमा यमनबाट सञ्चालित हुथी लडाकु र साउदी अरबबीच तनाव बढ्दै गएको देखिएको छ।

यमनमा अन्तर्राष्ट्रिय रूपमा वैधता प्राप्त सरकारलाई स्थापित गर्ने गठबन्धन फौजको नेतृत्व साउदी अरबले गरिरहेको छ।

हुथी विद्रोहीहरूले साउदी राजधानी रियाद तथा लाल सागरको तटीय क्षेत्रका ऊर्जा केन्द्रहरूमा ड्रोन र बलिस्टिक क्षेप्यास्त्र आक्रमण गर्दै आएका छन्।

इरान र हुथी विद्रोहीहरूले बेला बखत गर्ने आक्रमणका कारण नेपाली कामदारको सुरक्षालाई लिएर चिन्ता बढ्दो छ।

तर खाडीका देशहरूमा देखिएको त्यस्तो चिन्ताबीच पनि श्रम स्वीकृति लिने क्रम नरोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक नवराज ढकालले बताए।

साउदी लगायतका देशहरूमा आक्रमणका घटनापछि घरबाटै काम गर्ने, बाहिर ननिस्किने र अप्ठेरो परेमा खबर गर्ने लगायतका सूचना नेपाली दूतावास र सरकारले जारी गर्ने गरेको छ।

तर सम्बन्धित देशका कार्यरत नेपालीहरूले बाहिर देखिएको जस्तो असुरक्षा र चिन्ता नभएको बताउने गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।