नेपालमा रेबिज खोपको अभाव, अस्पतालहरू कसरी गर्जो टार्दै छन्

तस्बिर स्रोत, EPA/Shutterstock
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ३ मिनेट
पछिल्ला कैयौँ दिनदेखि रेबिजविरुद्धको खोप अभाव भइरहेका विवरणमाझ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ताले त्यसको भण्डारण "पूरै रित्तिसकेको अवस्था नरहेको" दाबी गरेका छन्।
तर अधिकारीहरूले पछिल्लो मौजादको विवरण भने खुलाएका छैनन्।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले गत साता बुधवार प्रतिनिधिसभामा सांसद्हरूका प्रश्नको जबाफ दिने क्रममा तत्कालीन अवस्थाको विवरण दिएकी थिइन्। त्यसबेला उनले देशभर १४ हजार ४७४ भाइल रेबिज खोप मौज्दात रहेको उल्लेख गरेकी थिइन्।
मङ्गलवार बीबीसीसँग कुरा गर्दै मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारी भण्डारणमा "केही मात्रामा खोपहरू रहेको र ती प्रयोग भइरहेको" बताए।
"खोप खरिदका बोलपत्र आह्वानका क्रममा अघिल्ला दुई पटक आवेदन नपरेपछि तेस्रोपटक प्रक्रिया अघि बढेको छ। यो अन्तिम चरणमा पुगेको छ र त्यसपछि सम्भवत: चाँडै आउँछ," सहप्रवक्ता अधिकारीले भने।
नेपालमा रेबिज
काठमाण्डूको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पछिल्ला दुई वर्षमा रेबिजका कारण २६ जनाको ज्यान गएको बताएको छ।
नेपालमा वार्षिक करिब १०० जनासम्मले रेबिजका कारण ज्यान गुमाउने गरेको सरकारी विवरण छ। सबै रेबिजका घटना जानकारीमा नआएको पनि हुन सक्ने बताइन्छ।
नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिज रोग उन्मूलन गर्ने लक्ष्य राखेको छ।
सङ्क्रमित कुकुर वा अन्य जनावरले टोकिसक्दा समेत समयमै खोप लगाएर बच्न सकिने रोग भए तापनि त्यसरी मानिसहरूको मृत्यु हुने अवस्थालाई चिकित्सकहरू "निकै दुर्भाग्यपूर्ण" बताउँछन्।
नेपालमा रेबिजविरुद्धको खोपको अधिकतम हिस्सा भारतमा खरिद गरेर ल्याउने गरिएको बताइन्छ।
डब्ल्यूएचओलाई गुहार, अस्पतालहरूमा पैँचो
रेबिज रोगको कुनै उपचार नभए तापनि सङ्क्रमित कुकुर तथा जनावरले मानिसलाई टोक्दा लाग्ने यस रोगलाई खोपका माध्यमबाट रोकथाम गर्न सकिने चिकित्सकहरू बताउँछन्।
बुधवार प्रतिनिधिसभामा बोल्ने क्रममा स्वास्थ्यमन्त्री मेहताले तत्कालको अभाव पूर्ति हुने गरी भने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)मार्फत् झन्डै ४,५०० भाइल रेबिज खोप सहायताका रूपमा प्राप्त हुने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएकी थिइन्।

तस्बिर स्रोत, RSS
उनले भविष्यमा खोपको यस्तो अभाव हुन नदिनका लागि "बहुवर्षीय खरिद प्रक्रिया"को योजना रहेको बताउँदै हाललाई सङ्घीय सरकारले अघि बढाएको आपुर्तिसँगै केही दिनमा उपलब्धता सहज हुने दाबी गरेकी थिइन्।
सहप्रवक्ता अधिकारीको भनाइ छ : "हाल विश्वबजारमा मूल्य बढेका कारणले विदेशबाट हामीले तोकेकै दररेटमा खोप ल्याउन व्यवसायीहरूले नसकेका कारणले सम्भवत: त्योभन्दा निकै बढेर आवेदन दिनुभएकाले खोप समयमै नआएको हो।"
तर आकस्मिक अवस्था टार्नका लागि अस्पतालहरूले सोझै खरिद गर्न सक्ने गरी बजेट व्यवस्थापन गरिएको डा अधिकारी बताउँछन्।
"उच्च लागत र ठूलो मात्राको खरिदका लागि सार्वजनिक खरिद ऐनअन्तर्गत व्यवस्था गर्नुपर्ने भएकाले समस्या भएको हो," उनी थप्छन्। "अभाव हुँदा आसपासका अस्पतालले पैँचो लिएर व्यवस्थापन गर्ने व्यवस्था पनि छ।"
विगतमा १४ मात्रासम्म लगाउनुपर्ने उक्त खोप त्यसपछि पाँच मात्राको बनाइएको र अहिले भने तीन मात्रा मात्र लगाउँदा पर्याप्त हुने मानिन्छ।
चिन्ता
टेकु अस्पतालका रूपमा परिचित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नेपालकै मुख्य सरुवा रोगसम्बन्धी स्वास्थ्यसंस्था हो।
उक्त अस्पतालका प्रमुख डा अनुप बास्तोला आफूहरूकहाँ दैनिकजसो औसत ६०० देखि ७०० मानिसहरू रेबिजको खोप लगाउन आउने बताउँछन्। कुनै महिनामा २० हजार पटक खोप लगाइने अवस्था रहेको उनी बताउँछन्।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
नेपालमा ९९ प्रतिशत रेबिजका घटना परपालुवा जनावर कुकुरको टोकाइका कारण हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन्।
अन्य घटना स्याल र फ्याउरोजस्ता जनावरको टोकाइका कारण भएको पाइएको छ।
"जब रेबिजको लक्षण लिएर बिरामीहरू आउँछन्, तब उनीहरूको मृत्यु हुने सम्भावना उच्च हुन्छ। धेरै घटनामा मानिसहरूले हेलचेक्र्याइँ गर्दा मृत्यु भइरहेको हुन्छ," डा बास्तोला भन्छन्।
चिकित्सकहरू कुकुरले टोकेमा सकेसम्म चाँडो सफा पानीले कैयौँ मिनेटसम्म घाउ धुनुपर्ने सुझाव दिन्छन्।
रेबिज भाइरसले केन्द्रीय स्नायु प्रणालीमा सङ्क्रमण गर्छ। त्यसैले मानिसमा "एकपटक सङ्क्रमण भइसकेपछि" रेबिजका बिरामीलाई बचाउन असम्भवप्राय: हुने चिकित्सकहरूको भनाइ छ।
रेबिज भाइरस शरीरमा प्रवेश गरेपछि फैलिने र लक्षण देखाउने अवधि सामान्यत: छ महिनासम्मको हुने भन्दै त्यसका लागि "जस्तोसुकै कुकुरले टोक्दा पनि, जतिसक्दो छिटो" खोप लिन डा बास्तोला सुझाउँछन्।
त्यसो गर्दा "इन्क्युबेशन" कालमै भाइरस नष्ट हुने र रेबिज लाग्ने सम्भावना न्यून हुन्छ।
"यसै साता टेकु अस्पतालमा मृत्यु हुने एक ४८ वर्षीय पुरुषलाई तीन महिनाअघि भारतमा वयस्क कुकुर र त्यसपछि नेपालमा छाउरोले टोकेको विगत सुनियो। यहाँको कुकुर जीवितै रहेको हुँदा भारतमै भएको टोकाइबाट रेबिज सरेको हुन सक्छ," लक्षण देखिएपछि अनेकौँ उपचारका प्रयास गर्दा पनि ती बिरामीको ज्यान जोगाउन नसकिएको डा बास्तोला बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















