प्रधानमन्त्री बालेनको बोलीले सङ्कट बढ्ने सङ्केत, बचाउदेखि राजीनामाको मागसम्म

    • Author, शरद केसी
    • Role, संवादाता, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

पहिलो पटक प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले बोलेको कुराले उनी र उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चर्को विवादमा तानिएका छन्।

उनले आइतवारको बैठकमा गएर सांसदहरूको जबाफ दिने क्रममा नेपाल र भारतबीचको सीमा विवादबारे बोलेका कुरा विवादित बनेका हुन्।

सांसदहरूको प्रश्नको जबाफ दिने क्रममा उनले भने, "तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्ला मैले पनि प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ, भारतले नेपालको मात्रै होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। यो कुरा अस्ति भर्खर मात्रै थाहा पायौँ त्यही भएर दुवै देशले अध्ययन गरेर हामीले मिचेका छौँ, उहाँहरूले मिच्नु भएको छ के छ, त्यसलाई बसेर साथीको रूपमा समाधान गर्ने सोच राखेका छौँ।"

जबाफ दिएर प्रधानमन्त्री निस्किए, तर संसद् बैठकमा उनको अभिव्यक्तिप्रति विपक्षीले आपत्ति जनाए।

सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा उनको अभिव्यक्तिलाई लिएर चर्को बहस भएको पाइएको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिले चर्को विवाद उत्पन्न गरेपछि परराष्ट्र मन्त्रालयका प्रवक्ताले "नेपाल-भारत सीमाबारे सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा व्यक्त गर्नुभएको विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र प्रवक्ताको जवाफ" भन्दै धारणा सार्वजनिक गरेका छन्।

त्यसमा प्रधानमन्त्रीको भनाइ "मूलतः दशगजा क्षेत्र अतिक्रमण र "क्रस बोर्डर अकुपेसन" अर्थात् 'सीमा वारपारको जग्गा भोगाधिकार' सँग सम्बन्धित" रहेको उल्लेख छ।

प्रवक्ताका अनुसार "नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा "फिक्स्ड बाउन्ड्री प्रिन्सिपल" अवलम्बन गरेको कारणले "क्रस बोर्डर अकुपेसन" भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था छ।"

प्रवक्ताले भनेका छन्, "प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा राख्नुभएको 'कतिपय स्थानमा भारतको जग्गा नेपालतिर रहेको हुन सक्ने' भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ र 'क्रस बोर्डर अकुपेसन' सँग जोडिएको छ।"

बालेनको पहिलो बोली 'गलपासो'

उनको अभिव्यक्तिलाई लिएर उनको राजीनामा माग्ने, बचाउमा बोल्ने र बोली चिप्लिएको भन्दै शङ्काको लाभ दिनेहरू पनि देखिएका छन्।

पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपा नेता कमल थापाले बालेनको अभिव्यक्तिले 'सिङ्गो मुलुकलाई तरङ्गित र आश्चर्यचकित बनाइदिएको' महसुस गरेका छन्।

प्रधानमन्त्रीको भनाई अतिरञ्जित र गलत रहेको बताउँदै थापाले त्यसलाई तत्काल सच्याउन आग्रह गरेका छन्।

केही स्थानमा सीमा विवाद भए पनि नेपालले भारतको सीमा मिचेको वा अतिक्रमण नगरेको उनको भनाइ छ। "नेपाल छिमेकीको सीमा मिच्नु हुँदैन भन्ने मान्यतामा अडिग छ। यदि नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरामा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ भने त्यो कुन ठाउँ हो, प्रमाणसहित जनतालाई स्पष्ट पार्नुपर्छ; तत्काल गल्ती सच्याउनुपर्छ र ससम्मान भारतलाई भूमि फिर्ता गर्नुपर्छ," थापाले भनेका छन्।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले बोल्नुअघि दर्जन पटक सोचेर बोल्नुपर्ने मत राखेका छन्।

"संवेदनशील कूटनीतिक प्रश्नमा संयम र परिपक्वता झनै जरुरी हुन्छ," `सरकार बालेन´ को मत प्रधान कि `व्यक्ति बालेन´ को मत मुख्य भन्दै उनले सोधेका छन्, "रास्वपाको धारणा के हो ? सीमा मिचेका हौँ कि मिचाइमा परेका हामी थप विभक्त हुन लागेका हौँ?"

आक्रमण विपक्षी दल र राजीनामाको माग

नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले प्रधानमन्त्रीको अभिव्यक्तिलाई 'आत्मसमर्पणवादको पराकाष्ठा' भनेका छन्।

"सरकारले तुरुन्तै यो भनाइ सच्याउँदै संसद् र आम जनतासामु माफी माग्नुपर्छ र देशको हित अनुकूल स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ," उनको भनाइ छ।

नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुनले बैठकबाट निस्किने क्रममा पत्रकारहरूसँग प्रधानमन्त्रीले भनाइ फिर्ता लिँदै माफी माग्नु पर्ने माग गरेका छन्।

उनले प्रधानमन्त्रीको भनाइ रेकर्डबाट हटाइनु पर्ने बताउँदै भने, "भोलि (सोमवार) सम्म रेकर्डबाट हटाइएन र प्रधानमन्त्रीले क्षमा माग्नुभएन भने सबै प्रतिपक्षीहरूले सशक्त विरोध गर्नेछौँ।"

एमाले नेता विष्णु रिजालले त राजीनामा नै माग गरेका छन्। स्वयम् भारतले आजसम्म दाबी नगरेको कुरा प्रधानमन्त्रीले बोलेको भन्दै उनले लेखेका छन्, "यस्ता गैरजिम्मेवार व्यक्तिलाई एक मिनेट पनि पदमा रहने अधिकार छैन। यसका बारेमा रास्वपाले अविलम्ब सोचोस्।"

कालापानी क्षेत्रबारे पुस्तक लेखेका रतन भण्डारी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती/सार्वभौमिकता विरोधी रहेको टिप्पणी गरेका छन्। उनले प्रश्न गरेका छन्, "आफ्नो देशले अर्को देशको भूमि मिचेको छ भनेर बोल्ने व्यक्ति देशको प्रधानमन्त्री हुनसक्छ?"

शङ्काको लाभ र थप प्रस्टताको प्रतीक्षा

मानव शास्त्री सञ्जीव पोखरेलले सांसदहरूको मागको बेवास्ता गर्दै यसअघि प्रधानमन्त्री बालेनले संसद्मा नबोलेको विषयमा आफ्नो अनुमान गलत साबित भएको बताएका छन्। "बोल्न नआएको संसद्प्रति मर्यादा नभएर होइन रहेछ -बोल्ने ढङ्ग नभएर रहेछ," सीमासम्बन्धी भनाइबारे उनले लेखेका छन्, "नेपालले भारतको भूमि 'मिचेको' कुरा 'क्रस बोर्डर होल्डिङ'को कुरा हो भनिँदै छ। विज्ञहरूको रायको प्रतीक्षामा।"

नेपाल सरकारका अवकाश प्राप्त सचिव कृष्णराज बिसीले प्रधानमन्त्रीको मनसाय 'क्रस बोर्डर होल्डिङ'तर्फ रहेको आफूलाई लागेको बताएका छन्। यदि त्यो हो भने भनाइ सही रहेको उनको भनाइ छ।

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनका सल्लाहकार रहेका अरुणकुमार सुवेदीले पनि त्यसैतर्फ सङ्केत गरेका छन्।

"वासस्थान र सम्पत्तिमाथि सीमा वार पार रहेको नियन्त्रण" को विषय प्रधानमन्त्रीले सम्भवतः इतिहासमा नै पहिलो पटक उठाएको उनको भनाइ छ।

विभिन्न सञ्चार माध्यमहरूसँग कुरा गर्दै सीमाविद्हरूले आफूहरूले नेपालले भारतको भूमि मिचेको कुरा कहिल्यै नसुनेको बताएका छन्।

त्यो नयाँ र आश्चर्यको विषय भएको उनीहरूको भनाइ छ।

विपक्षी दलहरूको तयारी हेर्दा प्रधानमन्त्री र रास्वपामाथि चर्को दबाव दिने मनस्थितिमा देखिएका छन्।

प्रधानमन्त्रीले अभिव्यक्ति दिएकोबारे संसद्‌मा नबोलेका विपक्षी दलका नेताहरूले समेत पछि आपत्ति जनाएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।