तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकी र चिनियाँ मिडियाले कस्तो देखे दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शन
कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले शनिवार आफ्ना समर्थकका साथ दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनमा अधिकांश युवाहरू थिए, उनीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका थिए।
प्रदर्शनमा प्रख्यात वातावरणविद् तथा शिक्षाविद् सोनाम वाङचुक पनि सहभागी थिए। उनी छ महिना लामो जेल सजाय बिताएर गत मार्च महिनामा रिहा गरिएका थिए।
सीजेपीका संस्थापक दीपके शनिवार बिहान मात्रै अमेरिकाबाट दिल्ली ओर्लिएका हुन्।
युवापुस्ताको यो प्रदर्शनलाई विश्वका विभिन्न देशका सञ्चारमाध्यमले महत्त्व दिएको पाइएको छ।
कतिपयले 'जेन जी' आन्दोलनको रूपमा अर्थ्याएका छन्।
'भारतका युवा वाक्क-दिक्क'
अमेरिकी मिडिया सीएनएनले कक्रोच जनता पार्टी (सीजेपी) को आन्दोलनबारे लेखेको छ, "भारतका युवा अब दिक्क भइसकेका छन्। वर्षौँदेखि जाँचमा हुने गरेको अनियमितता, निरन्तरको बेरोजगारी र अवसरहरूको अभावका कारण मानिसहरूको निराशा अब अनलाइन र सडकमा खुला आक्रोशमा परिणत हुँदै छ।"
सीएनएनका अनुसार, उत्तरदायित्वको यस्तो माग उठिरहेको छ कि त्यसलाई धेरैले अब बेवास्ता गर्न सक्दैनन्।
भारतका प्रधानन्यायाधीश सूर्यकान्तको टिप्पणीका कारण कक्रोच जनता पार्टी बनेको विवरण छ। देशका बेरोजगार युवालाई उनले "कक्रोच" भनेको प्रति धेरैले असन्तुष्टि व्यक्त गरेका छन्।
तर प्रधानन्यायाधीशले पछि आफूले नक्कली डिग्री प्रयोग गरेर पेसामा प्रवेश गर्ने व्यक्तिबारे उक्त कुरा बताएको प्रस्टीकरण दिएका थिए।
फ्रान्स २४ ले "भारतको जेन जी 'कक्रोच' पार्टीका समर्थकहरूले पहिलो विरोध प्रदर्शन दिल्लीमा गरेको" उल्लेख गरेको छ।
"(सीजेपीका) समर्थकहरूले 'कक्रोचहरू आउँदै छन्, धर्मेन्द्र प्रधान जाँदै छन्' जस्ता नारा लगाएका थिए र विरोधको क्रममा एउटा पोस्टरमा भनिएको थियो कि उनीहरू त्यस्तो परीक्षाको पर्खाइमा छन् जसको प्रश्नपत्र बाहिरिँदैन।"
उक्त प्रदर्शनलाई चीनको साउथ चाइना मोर्निङ पोस्टले पनि प्राथमिकता दिएको छ।
समाचार संस्था एपीलाई उद्धृत गर्दै उनले सीजेपीले बेहोर्नुपर्ने सम्भावित चुनौतीबारे चर्चा गरिएको छ।
लेखिएको छ, "(सीजेपी को निम्ति) अर्को मुख्य चुनौती भनेको उसले त्यस विरोधको सामना कसरी गर्छ जसको सामना प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारकै दौरान विगतका विरोध आन्दोलनहरूले गर्नु परेको थियो।"
'दिल्ली पुग्यो जेन जी आन्दोलन'
खाडी देश कतारको सञ्चारमाध्यम अल जजिराले "जेन जीको विरोध प्रदर्शन भारतको राजधानीमा पुगेको" उल्लेख गरेको छ।
अल जजिराले भनेको छ, "भारतको जेन जी 'कक्रोच अभियान' ले राजधानीमा पहिलो प्रदर्शन गरेको छ र शिक्षामन्त्रीको राजीनामा माग गरेको छ। एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतको आधा जनसङ्ख्या २५ वर्षभन्दा कम उमेरको छ र उनीहरूमा लामो समयदेखि आक्रोश छ।"
"परीक्षाको प्रश्नपत्र बाहिरिनुका साथै सबैभन्दा ठूलो स्कुल बोर्ड (सीबीएसई) मा भएको अनियमितताले त्यो आक्रोश बढाइ दिएको" समाचारमा उल्लेख छ।
अल जजिरा लेख्छ, "अघिल्लो महिना भारतका प्रधानन्यायाधीशले युवाको तुलना कक्रोचसँग गरेका थिए, जसले गर्दा निकै असन्तुष्टि फैलियो। त्यसको जबाफमा अमेरिकास्थित बोस्टन विश्वविद्यालयबाट भर्खरै पढाई पूरा गरेका अभिजित दीपकेले त्यसबेला सामाजिक सञ्जाल एक्समा कल्पना गरे, 'यदि सबै कक्रोचहरू एकसाथ आए भने के होला?"
रिपोर्टका अनुसार कक्रोच जनता पार्टीको आरम्भको निम्ति त्यसले बाटो खुला गरिदियो। जुन नाम प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) को नामप्रति ठट्यौलो व्यङ्ग्य थियो।
दीपकेको उक्त हल्का ठट्टाले इन्स्टाग्राममा २ करोड २० लाखभन्दा बढी फलोअर्स बटुल्यो जुन मोदीको दल भाजपाको भन्दा दोब्बर हो।
अनलाइन पोर्टल अल अरेबियाले आन्दोलनप्रति शङ्का गर्नेहरू पनि रहेको उल्लेख गरेको छ।
"उनीहरू अनलाइनमा लोकप्रिय हुँदैमा आन्दोलनले धरातलमा पनि उत्तिकै समर्थन पाउँछ भन्ने अर्थ्याउन नमिल्ने बताउँछन्। बरु यसको तीव्र रूपमा बढेको लोकप्रियता लामो समयसम्म नटिक्ने उनीहरूको विश्वास छ," उक्त अनलाइनले लेखेको छ।
पाकिस्तान र बाङ्गलादेशका अखबारमा पनि यो विरोध प्रदर्शनले स्थान पाएको थियो।
चर्चा धेरै सहभागिता कम?
द डन अखबारले प्रदर्शनको फोटो ग्यालरी प्रकाशित गरेको छ।
उसले समाचारमा प्रमुख राज्यहरूमा हालै सम्पन्न चुनावमा पार्टीले जिते पनि कक्रोच समूहको लोकप्रियताले प्रधानमन्त्री मोदीको छविलाई असर गर्न थालेको विश्लेषकहरूको टिप्पणी प्रकाशित गरेको छ।
त्यस्तै इरान युद्धका कारण इन्धनको बढ्दो मूल्य र ग्यासको अभावका कारण पनि जनतामा असन्तुष्टि बढ्दै गएको उल्लेख गरिएको छ।
ब्रिटिश समाचारपत्र 'द सन्डे गार्डियन' "अनलाइनमा २ करोड २० लाखभन्दा बढी फलोअर्स भएको दाबी गरे पनि जन्तरमन्तरमा भएको 'कक्रोच जनता पार्टी' को पहिलो ठूलो विरोध प्रदर्शनमा करिब २ हजार मानिस मात्र सहभागी" रहेको उल्लेख गरेको छ।
"यसले डिजिटल लोकप्रियता र वास्तविक धरातलमा मानिसहरूलाई एकजुट गराउन सक्ने क्षमताबीचको भिन्नता स्पष्ट रूपमा देखाउँदछ," पत्रिकाले लेखेको छ, "कक्रोच जनता पार्टीले चार दिनमै ठूलो सङ्ख्यामा अनलाइन फ्यान फलोइङ बनाएको छ, सोसल मिडियामा भाजपालाई पछाडि पारेको छ। तर, धरातलमा विरोध प्रदर्शन अपेक्षा अनुरूप भएन।"
सीजेपीले शनिवारको आन्दोलनपछि ७ दिनभित्र शिक्षामन्त्रीले राजीनामा नदिएमा फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ।
सीजेपीका संस्थापक अभिजित दीपकेले प्रदर्शनपछि एक्समा लेखेका छन्, "आजको प्रदर्शन ट्रेलर मात्र हो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।