बन्दुकधारीको निशानामा 'ट्रम्पसहित प्रशासनका अधिकारीहरू'

ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा ट्रम्प र विजा जियाङ

तस्बिर स्रोत, Reuters

    • Author, इमोजेन जेम्स, हेलेन सुलिभानन्द र ट्याबी विल्सन
  • पढ्ने समय: ३ मिनेट

डोनल्ड ट्रम्पसमेत सहभागी रात्रिभोजमा गोली चलाउने बन्दुकधारीको निशानामा अमेरिकी राष्ट्रपतिसहित उनको प्रशासनका अधिकारीहरू रहेको कार्यवाहक महान्यायाधिवक्ता टड ब्लान्चले बताएका छन्।

राजधानी वाशिङ्टन डीसीको एक होटेलमा शनिवार ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर जारी रहँदा सुरक्षा जाँचस्थल नजिकै गोली चलाएको आरोपमा कोल थोमस एलन नाम गरेका ३१ वर्षीय व्यक्ति पक्राउ परेका थिए।

एनबीसी न्यूजसँग कुरा गर्दै ब्लान्चले सन्दिग्ध व्यक्तिको नियत अझै अनुसन्धानकै क्रममा रहेको बताए। तर प्रारम्भिक नतिजाबाट ती व्यक्तिले ट्रम्प प्रशासनका अधिकारीहरूलाई निशाना बनाउन खोजेको देखिएको उनले बताएका छन्।

एफबीआईको अपराध महाशाखा र आतङ्कवाद कार्यदलले उक्त घटनाको अनुसन्धान गरिरहेका छन्।

कार्यक्रम चलिरहेको हलबाट सुरक्षित स्थानमा पुर्‍याइएपछि ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै भनेका थिए, "योभन्दा खतरनाक अरू कुनै पेसा होला जस्तो मलाई लाग्दैन।"

आइतवार विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसले ट्रम्प र उनको मन्त्रिपरिषद्का सदस्यहरू हत्याको प्रयासबाट नडराएको उल्लेख गरेको छ।

ह्वाइट हाउस करेस्पोन्डेन्ट्स असोसिएशनकी सभापति विजा जियाङले उक्त आक्रमण भयानक रहेको बताएकी छन्।

रात्रिभोजमा ट्रम्पसँगै बसेकी जियाङले हजारौँ पाहुनाको सुरक्षा दिएकोमा सीक्रेट सर्भिसलाई धन्यवाद दिइन्।

कोल थोमस एलन

तस्बिर स्रोत, LinkedIn

अमेरिकी समय अनुसार शनिवार साँझ ८:३५ बजे वाशिङ्टन हिल्टन होटेलमा बाहिर गोली चलेको सुनिएको थियो। गोली चलेको भन्दा तल्लो तलामा ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर चलिरहेको थियो।

उक्त रात्रिभोजमा राष्ट्रपतिसहित प्रथम महिला मेलानीया ट्रम्प, उपराष्ट्रपति जेडी भान्ससहित कैयौँ वरिष्ठ अधिकारीहरू सहभागी थिए। उनीहरू सबैलाई सुरक्षा निकायले हलबाहिर निकालेर सुरक्षित स्थानमा राखेको थियो।

ट्रम्पलाई उद्धार गरिएको निकै बेरपछि उपराष्ट्रपति भान्सलाई सीक्रेट सर्भिसका अधिकारीले तानेर दौडाउँदै गरेको भिडिओ सामाजिक सञ्जालमा फैलिइरहेको छ। मानिसहरूले उनको सुरक्षामा भएको ढिलाइबारे प्रश्न गरिरहेका छन्।

आइतवार '६० मिनेट' समाचार कार्यक्रमलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफूलाई कोठाबाट बाहिर निकाल्ने काम एजेन्टहरूलाई "सजिलोसँग हुन नदिएको" बताएका थिए।

"म के भइरहेको छ भनेर हेर्न चाहन्थेँ। के हुँदै छ भनेर हेर्न खोजिरहेको थिएँ। तर हामीले महसुस गर्‍यौँ कि त्यो निकै खराब समस्या थियो," उनले भने।

ट्रम्पका अनुसार केही समय सुरक्षाकर्मीले उनलाई सुरक्षित रहन 'भुईँमा सुत्न" भनेका थिए।

अधिकारीहरूले सन्दिग्ध आक्रमणकारीसँग गोली हानाहान भएको आफूहरूले ठानेको बताएका छन्। तर उनलाई गोली नलागेको र परीक्षणका लागि अस्पताल लगिएको बताइएको छ।

प्रहरीका अनुसार उनले दुई वटा बन्दुक र चक्कु बोकेका थिए।

एलनको परिवारका एक जना सदस्यले उनले आक्रमणबारे लेखेको सामग्री फेला पारेपछि घटनाअघि नै प्रहरीलाई खबर गरेका थिए। तर त्यसमा ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरबारे उल्लेख थिएन।

उनले लेखेको भनिएको नोटको बीबीसीले स्वतन्त्र पुष्टि गरेको छैन। ट्रम्पले त्यसलाई ती व्यक्तिको घोषणापत्र भनेका थिए।

उक्त डिनरमा बीबीसीका पनि कैयौँ पत्रकारहरू थिए। उनीहरूका अनुसार त्यहाँ के भइरहेको छ भन्नेबारे लामो समय अन्योल देखिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।