अमेरिका-इरान वार्ताका प्रमुख पाँच जटिल मुद्दा

तस्बिर स्रोत, Reuters
- Author, पोल एडम्स
- Role, कूटनीतिक संवाददाता
- पढ्ने समय: ५ मिनेट
वार्तास्थल तयार छ, सुरक्षा गार्डहरू तैनाथ गरिएका छन् र वार्ता हुने ठाउँनजिकैको सडक पेटीमा नयाँ रङ्ग लगाइएको छ।
इस्लामावादले परिणाम प्रतीक्षा गरिरहेको छ। अमेरिका र इरानबीचको महत्त्वपूर्ण वार्ताको आयोजना गरिरहेको पाकिस्तानका अधिकारीहरू आशावादी सुनिएका छन्।
उनीहरू अरू कसैलाई नभई दुवै पक्षले आफूलाई विश्वास गरेको भन्दै गर्व पनि गरिरहेका छन्।
अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका उपराष्ट्रपति जेडी भान्स पनि उत्साहित सुनिन्छन्।
"यदि इरानीहरू असल नियतका साथ वार्ता गर्न तयार छन् भने हामी पनि खुलेको हात फैलाउन इच्छुक छौँ," उनले अमेरिकाबाट इस्लामाबाद प्रस्थान गर्नुअघि भनेका थिए।
तर त्यसमा चेतावनी पनि मिसिएको थियो।
"यदि उनीहरूले हामीहरूलाई झुक्क्याउन चाहे भने उनीहरूले वार्ताटोलीले त्यसलाई ग्रहण नगर्ने कुरा थाहा पाउनेछन्।"
भान्स पाकिस्तान पुग्दा वार्ता प्रक्रियाका लागि चुनौतीका पहाडहरू उनको सामुन्ने रहेको देखिएको छ।
१. लेबनन
लेबननमा आधारित इरानको प्रमुख साझेदार हिज्बुल्लाहमाथि इजरेलले जारी राखेको आक्रमणले वार्ता सुरु हुनुअगावै त्यसलाई जोखिममा पार्न सक्ने देखिन्छ।
"यस्ता कदमको निरन्तरताले वार्तालाई अर्थहीन बनाइदिन्छ," इरानका राष्ट्रपति मसुद पेजेस्कियानले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
"हाम्रो औँलाहरू अझै पनि टिग्ररमै छन्। इरानले आफ्ना लेबननी दिदीबहिनी र दाजुभाइलाई कहिल्यै पनि एक्लो छाड्नेछैन।"
इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हिज्बुल्लाहसँग 'युद्धविराम नभएको' बताएका छन्। यद्यपति बेरुतको दक्षिण भेगको बाहिरी इलाकाका बासिन्दाहरूलाई उक्त ठाउँ खाली गर्न बारम्बार चेतावनी दिए पनि इजरेलले त्यहाँ कुनै कारबाही गरेको छैन।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लेबननमा इजरेली गतिविधि अब अलि सीमित हुने टिप्पणी गरेका छन्। अनि अमेरिकी विदेश मन्त्रालयले इजरेल र लेबननबीच वाशिङ्टनमा आगामी साता वार्ता हुने जनाएको छ।
तर राष्ट्रपति ट्रम्पले भनेजस्तै लेबनानमा इजरेली गतिविधि 'अलिअलि' मात्रै रहन्छ वा त्यसले इरानलाई सन्तुष्ट पार्न सक्छ कि सक्दैन त्यो हेर्न बाँकी छ।
२. स्ट्रेट अफ होर्मुज

तस्बिर स्रोत, Reuters
वार्ता सुरु हुनुअघि नै त्यसलाई अवरुद्ध पार्न सक्ने सम्भावना भएको अर्को विषय हो—अत्यन्त महत्त्वपूर्ण तेल ढुवानी मार्ग, स्ट्रेट अफ होर्मुज।
आफ्नो प्रतिबद्धताविपरीत इरानले अत्यन्तै थोरै पानीजहाजहरूलाई उक्त मार्ग प्रयोग गर्न दिएको टिप्पणी राष्ट्रपति ट्रम्पले गरेका छन्।
"हामीले यस्तो सहमति गरेका होइनौँ," उनले ट्रूथ सोशलको एउटा पोस्टमा इरानले अपमानजनक व्यवहार देखाएको आरोप लगाएका छन्।
थोरै मात्रै पानी जहाजहरूले उक्त स्ट्रेट पार गरेका छन्। सयौँ पानीजहाजहरू र २० हजार जति पानीजहाजका कामदार त्यहाँ फसेको ठानिएको छ।
उक्त महत्त्वपूर्ण जलमार्गलाई अवरुद्ध बनाएर इरानले त्यसलाई आफ्नो देशको सार्वभौम जलक्षेत्र बनाउन दृढ रहेको सङ्केत दिएको छ। कसले त्यो जलमार्ग पार गर्न पाउँछ र कसले पाउँदैन भन्ने नयाँ नियम लगाउने कुरा उसले गरिरहेको छ।
बिहीवारमात्रै उसले नयाँ पारवहन मार्ग निर्माण गरेको घोषणा गरेको थियो। त्यसले जानाजान शिपिङ कम्पनीहरूमा केही भय उत्पन्न गराएको छ। इरानले 'प्रमुख ट्राफिक क्षेत्रमा रहेका विभिन्न खालका पानीजहाजलक्षित धरापहरू छल्नका लागि' त्यो आवश्यक रहेको तर्क गरेको छ।
हालै उक्त मार्ग पार गरेका कतिपय पानीजहाजले २० लाख डलरसम्म शुल्क तिरेका खबर आएका छन्। राष्ट्रपति ट्रम्पले इरानलाई ट्याङ्करहरूबाट त्यसरी शुल्क नलिन चेतावनी दिएका छन्।
३. परमाणु

तस्बिर स्रोत, Reuters
सबैभन्दा लामो समयदेखि कायम रहेको र निश्चय पनि सबैभन्दा ठूलो विवादित विषय इरानको परमाणु क्षमतासँग जोडिएको छ।
'अपरेशन एपिक फ्युअरी'को घोषणा गर्दा राष्ट्रपति ट्रम्पले आफूले इरानलाई 'कहिल्यै पनि परमाणु अस्त्र हासिल गर्न नदिन' पनि त्यो कारबाही गरेको बताएका थिए।
इरान आफूले कहिल्यै पनि परमाणु बम बनाउन नखोजेको बताउँछ, जसलाई अधिकांश पश्चिमा देशहरू आशङ्कापूर्ण नजरले हेर्ने गर्छन्। तर तेहरानले परमाणु अप्रसार सन्धिको हस्ताक्षरकर्ता भएका नाताले गैरसैनिक प्रयोगका लागि युरेनिअम प्रशोधन गर्ने अधिकार आफूसँग रहेको तर्क उसले गर्ने गरेको छ।
ट्रम्पले 'वार्ताका लागि कामचलाउ आधार' भनेको इरानको १० बुँदे प्रस्तावमा युरेनिअम प्रशोधनको आफ्नो अधिकारलाई अन्तर्राष्ट्रिय मान्यता दिन माग गरिएको थियो।
ट्रम्पको आफ्नो १५ बुँदे प्रस्तावमा चाहिँ 'इरानी भूमिबाट सबै युरेनिअम प्रशोधन अन्त्य गर्नुपर्ने' माग गरिएका विवरणहरू आएका छन्। यसबारे सोधिएको प्रश्नमा अमेरिकी रक्षामन्त्री पीट हेग्सेथले इरानसँग कहिल्यै पनि परमाणु अस्त्र नुहने वा त्यो प्राप्त गर्ने दिशामा अघि बढ्ने सामर्थ्य नहुने' बताएका थिए।
उक्त विवादित विषयसँग विस्तारमा जुझ्ने भनिएको सन् २०१५ मा तयार पारिएको 'जोइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्शन' वर्षौँको अन्तर्राष्ट्रिय वार्ताको परिणाम थियो।
के दुवै पक्ष नयाँ सम्झौताबारे छलफल गर्न तयार छन्?
४. इरानका क्षेत्रीय साझेदार

तस्बिर स्रोत, EPA
इरानका क्षेत्रीय साझेदार र छद्म सङ्गठनहरू अर्का चुनौती हुन्। लेबनानमा हिज्बुल्लाह, यमनमा हूथी, गाजामा हमास र इराकमा कैयौँ मिलिशियाहरूले तेहरानलाई क्षेत्रीय रूपमा प्रभाव देखाउन सहयोग गरेका छन्। लामो समयदेखि इजरेल र संयुक्त राज्य अमेरिकासँग विवाद रहे पनि इरानले आफ्नो देशको सीमाबाहिर रहेका ती शक्ति प्रयोग गरेर प्रतिरक्षा अभ्यास अघि बढाउने गरेको पाइन्छ।
तर सन् २०२३ को अक्टोबरमा सुरु भएको गाजा युद्धयता यी समूहहरूले निरन्तर आक्रमणको सामना गरिरहेका छन्। त्यसको एउटा अंश रहेको सिरियाका पूर्वतानाशाह बसर अल असदको सत्ता इतिहास बनिसकेको छ।
तर इजरेलले अझै पनि 'एक्सिस अफ ईभल'बाट आफ्नो अस्तित्वलाई जोखिम रहेको भन्दै त्यसलाई पूर्ण रूपमा निर्मूल पार्नुपर्ने धारणा राख्ने गरेको पाइन्छ।
यतिबेला इरानभित्रै आर्थिक सङ्कट चुलिएको छ। यस्तोमा आफ्नो सरकारले विदेशी 'प्रोक्सी'हरूमा खर्च गर्ने रकम कम गरी देशका नागरिकहरूको जीवन सहज बनाउन ध्यान दिनुपर्ने चाहना धेरै इरानीहरूले राख्न सक्छन्।
तर तेहरानले आफ्ना साझेदारहरूलाई त्यसै छाड्ने सम्भावना खासै देखिदैँन।
५. प्रतिबन्धमा खुकुलोपन
दशकौँदेखि अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गरिरहेको इरानले त्यसको ठूलो मूल्य चुकाउनुपरेको छ। उसले अमेरिका र सबै खालका अन्तर्राष्ट्रिय प्रतिबन्धहरू खुला गर्ने विषय सहमतिको हिस्सा हुनुपर्ने माग गरेको छ।
शुक्रवार इरानी संसद्का सभामुख मोहम्मद बाकर कलिबाफले वार्ता सुरु हुनुअघि १२० अर्ब डलरबराबरको रोक्का गरिएको सम्पत्ति फुकुवा गरिनुपर्ने बताएका थिए।
त्यो विगतमा सहमति गरिएको युद्धविरामअघि चालिने दुईवटा कदममध्ये एक भएको उनको भनाइ थियो। लेबननमा युद्धविराम हुनुपर्ने विषय अर्को मुद्दा रहेको इरानी पक्षको भनाइ छ।
तर एप्रिल ७ मा युद्धविराम घोषणा गर्दा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफको कार्यालयले जारी गरेको विज्ञप्तिमा रोक्का सम्पत्ति फुकुवा गर्नेबारे केही पनि उल्लेख गरिएको छैन। कालिबाफले कुन विषय चर्चा गरेका हुन्, त्यो पनि स्पष्ट छैन।
ट्रम्प प्रशासनले वार्ता सुरु गर्न मात्रै त्यत्रो ठूलो छुट दिने सम्भावना अत्यन्तै न्यून रहेको ठानिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
























