दक्षिणी लेबननमा ठूलो आक्रमण गर्ने इजरेलको तयारी, इलाका खाली गर्न आदेश

तस्बिर स्रोत, AFP
- Author, सामन्त ग्र्यानविल
- Role, बेरुत
- Author, डेभिड ग्रिटन
- Published
- पढ्ने समय: २ मिनेट
इजरेली सेनाले दक्षिणी लेबननको ठूलो भूभाग खाली गर्न आदेश जारी गरेको छ।
हिज्बुल्लाहविरुद्ध नयाँ हमला गर्नुअघि ती क्षेत्रहरूलाई उसले "लडाइँ इलाका" घोषणा गरेको छ।
इजरेली डीफेन्स फोर्सेस् (आईडीएफ) ले त्यहाँका बासिन्दाहरूलाई सीमाबाट करिब ४० किलोमिटर (२५ माइल) टाढा जहरानी नदीभन्दा उत्तरतिर जान भनेको छ।
हिज्बुल्लाहमाथि बारम्बार युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आईडीएफले "कठोर बल" प्रयोग गर्ने चेतावनी दिएको छ।
विगत २४ घण्टामा ९ पटक चेतावनी

तस्बिर स्रोत, AFP
एप्रिल १७ तारिखमा युद्धविराम लागु भए यताको यो नै सबैभन्दा ठूलो आकारमा भूभाग खालि गर्न दिइएको आदेश हो, जसले लेबननको करिब १४ प्रतिशत भाग ओगटेको छ।
इजरेलले यसअघि बुधवार दक्षिणी सहर टायरमा आक्रमण गरेको थियो।
इजरेलले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउने हिज्बुल्लाहले आफ्ना लडाकुहरूको इजरेली सेनासँग झडप भएको जनाएको छ।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले दक्षिणी लेबननको केही भूभाग नियन्त्रणमा लिएर बसेको फौज र उत्तरी इजरेलका बासिन्दाहरूमाथि हिज्बुल्लाहले ड्रोन आक्रमण गरेपछि आफ्नो स्थल फौजी कारबाही विस्तार गर्ने घोषणा गरेका थिए।
त्यस लगत्तै इजरेलले बुधवार आक्रमण गरेको थियो।
आईडीएफले भूभाग खाली गर्न विगत २४ घण्टामा ९ पटक चेतावनी जारी गरिसकेको छ।
त्यसले इजरेल-लेबनन सीमामा ठूलो तनाव उत्पन्न हुने र व्यापक स्तरमा सामूहिक विस्थापनको नयाँ शृङ्खला सुरु हुने चिन्ता बढाइ दिएको छ।
दक्षिणी लेबननको सबैभन्दा ठूलो सहर मध्येको टायरमा बुधवार दिइएको आदेश लगत्तै तीव्र रूपमा हवाई आक्रमण भएको थियो।
'मानिसहरू त्रस्त छन्'
इजरेली सेनाले सहरमा आक्रमण गरेपछि त्यहाँका बासिन्दाहरूले घरको बालकोनीबाट त्रासका साथ हेरे र दृश्य आफ्नो फोनमा कैद गरेका थिए।
गत महिना युद्धविराम सुरु हुनुभन्दा केही मिनेटअघि भएको हवाई आक्रमण भयो, जसमा ५२ वर्षीय रिडाको घर छेउकै समुद्री तट नजिकै रहेको एउटा क्याफे ध्वस्त भयो।
उनले यसअघि आफूले टायर कहिल्यै नछोड्ने बीबीसीलाई बताएका थिए।
अहिले उनमा फरक भावना जागेको छ।
"म समुद्री किनारको बन्दरगाहमा गएँ र त्यहाँ धेरै मानिसहरू छन्," रिडाले बुधवार फोनमा अवस्था वर्णन गरे, "मानिसहरूले आफ्ना सामानहरू प्याक गरेका छन्। सबै त्रस्त छन्।"
उनीसँगको कुराकानी पछि जारी गरिएको जहरानी नदीभन्दा दक्षिणतर्फको क्षेत्र खाली गर्ने आदेशमा करिब ३०० नगर र गाउँहरू पर्छन्।

तस्बिर स्रोत, Reuters
दक्षिणी लेबननका अन्य भागहरूबाट पहिले नै विस्थापित भएका सहित धेरै मानिसहरूको निम्ति अब जाने गन्तव्यको ठेगान छैन।
लेबननी मिडियाले दक्षिण र पूर्वी बेका उपत्यकामा इजरेली आक्रमणहरू भएको उल्लेख गरेका थिए जसमा चार जना मारिएका थिए।
पछिल्लो बम बारीभन्दा अघि २४ घण्टाको अवधि विनाशकारी बनेको थियो। जसमा करिब १५० भन्दा बढी इजरेली हवाई आक्रमणले दक्षिणी लेबनन र बेका उपत्यकाका करिब ५० सहर र गाउँहरू क्षतिग्रस्त बनाएको थियो।
लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलवार कम्तीमा ३१ जनाको मृत्यु भएको थियो। तीमध्ये १५ जना टायर सहरको पूर्वमा रहेको बुर्ज अल–शामालीमा मारिएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















