'अब कुनै कुराले मेरो छोरा फर्काउँदैन' : १० मिनेटको बमबारीले लेबननमा तहसनहस भएको जीवन

इजरेली हमालमा ध्वस्त भवनको भग्नावशेषमा उभिएका मोहम्मद
    • Author, नवल अल-मगाफी
    • Role, वरिष्ठ अन्तर्राष्ट्रिय अनुसन्धान संवाददाता, लेबनन
  • पढ्ने समय: ३ मिनेट

बेरुतको दक्षिणी क्षेत्रमा अवस्थित हे अल सेलोम नगर मुस्किलले चिन्न सकिने अवस्थामा छ। कुनै बेला निकै चहलपहल हुने घना बस्तीमा अहिले भत्किएका भवनका अवशेष, बाङ्गिएका धातु र खुला तार देख्न पाइन्छ।

भवनका तहगत भग्नावशेषमा देखिने भर्‍याङले कतै पुर्‍याउँदैनन्। त्यहाँ पहिला दैनिक सुनिने जीवन्त आवाजलाई अहिले मौनताले विस्थापित गरेको छ।

हिज्बुल्लाहको बलियो पकड रहेको बेरुतको दक्षिणी भेगका अन्य भागहरूमा इरान युद्ध सुरु भएदेखि बारम्बार इजरेली आक्रमण हुँदा पनि ८ एप्रिलको दिउँसोसम्म उक्त नगर शान्त नै रहेको स्थानीय बासिन्दाहरू बताउँछन्।

युद्ध आरम्भ भएपछि इजरेलले बेरुतको दक्षिणी इलाकाका बासिन्दाहरूलाई बारम्बार ठाउँ खाली गर्ने आदेश दिएको थियो।

त्यहाँ पटकटक हवाई आक्रमण पनि भयो।

त्यो आक्रमण जसले भवनसँगै जीवन पनि हरण गर्‍यो

बेरुतमा इजरेली आक्रमणमा भत्किएको भवनको अवशेष

हे अल सेलोमका बासिन्दाले बताएअनुसार थोरै मानिसहरूले मात्र उक्त नगर छोडे। किनभने धेरैका निम्ति जाने ठाउँ थिएन। उक्त क्षेत्र तुलनात्मक रूपमा शान्त पनि रहेको उनीहरूको भनाइ छ।

एउटा बुधवार मोहम्मदका छोरा अब्बास सुतिरहेका थिए। त्यही उनीहरूको आवासीय भवनमा बेला इजरेली हवाई आक्रमण भयो।

"मेरोभन्दा माथिका तीन तल्ला भत्किएर मेरो कोठामा खसे," मोहम्मद भन्छन्। "सबै कुरा... उसमाथि थुप्रियो।"

इजरेलका अनुसार स्थानीय समयानुसार १४:१५ बजे घातक कारबाही सुरु भएको थियो र १० मिनेटभित्र झन्डै १०० वटा स्थानमा आक्रमण गरिएको थियो।

त्यति छोटो समयभित्र ठूलो विनाश भयो।

इजरेलले हिज्बुल्लाह कमान्ड सेन्टर र सैन्य स्थलहरूलाई निसाना बनाएको दाबी गरेको छ। तर हताहत हुनेमा धेरै सर्वसाधारण लेबननी नागरिकहरू छन्।

लेबननी अधिकारीहरूका अनुसार त्यस दिन मृत्यु हुनेको सङ्ख्या ३६१ पुग्यो भने १,००० जनाभन्दा बढी घाइते भए।

'यो मैले गुमाएको दोस्रो घर हो'

लेबननमा इजरेली हमलामा ध्वस्त अज जहरा मस्जिदको भग्नावशेष
तस्बिरको क्याप्शन, अज जहरा मस्जिदमा भएको आक्रमणमा दुई दिदी बहिनीको मृत्यु भयो

आक्रमण भएको केही सातापछि बीबीसीको टोली त्यस दिन के भएको थियो भनेर घटनाहरू केलाउन केही क्षेत्रमा पुग्यो।

हामीले मोहम्मदलाई उनको अपार्टमेन्टको भग्नावशेषमा भेट्यौँ।

"यो मैले गुमाएको दोस्रो घर हो," उनी भन्छन्, " (सन् २०२४ मा भएको) यसअघिको युद्धमा मैले एउटा घर गुमाएको थिएँ। यस पटकको युद्धमा मैले अर्को पनि गुमाएँ।"

उनी भावुक हुँदै भन्छन्, "घर मात्रै गुमेको र मेरो छोरो बाँचेको भए हुन्थ्यो नि! यी इँटाहरू फेरि बनाउन सकिन्छ तर कुनै कुराले मेरो छोरो फर्काउँदैन।"

इजरेलले हिज्बुल्लाहलाई लक्षित कारबाही गरिएको दाबी गरेको छ। तर उनी उक्त घटनामा मारिनेहरू सबै जना इजरेलले आक्रमण गरेका भवनका निवासीहरू भएको बताउँछन्।

"यदि मलाई हिज्बुल्लाहका कुनै व्यक्ति यहाँ बस्छन् भन्ने एक प्रतिशतसम्म पनि लागेको भए म यहाँ बस्ने नै थिइनँ," उनी भन्छन्, "म छोराको जीवन कहिल्यै जोखिममा पार्दिनथेँ।"

"म ४५ वर्षको भइसकेकाले आफूलाई पर्ने जोखिमबारे चिन्ता नगर्न सक्थेँ। तर आफ्नो सम्पूर्ण जीवन बाँकी भएको जवान व्यक्तिलाई म त्यस्तो भवनमा बस्नै दिन्नथेँ।"

आफ्नो छोराको मृत्युपछि मोहम्मदले स्थानीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा हिज्बुल्लाहप्रति सहानुभूति व्यक्त गर्दै लेबननको रक्षा गर्न आग्रह गरेका थिए।

इजरेलले निरन्तर आक्रमण गरेका क्षेत्रहरूमा हामीले कुरा गरेका धेरै मानिसहरूले त्यही भावनालाई प्रतिध्वनित गरेका छन्।

ज्यास्मिन डायर र जेक टाचीबाट थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।