भन्सार दरमा भएको परिवर्तन जसले विदेश आवतजावत गर्दा पर्न सक्छ यस्तो असर

जोगबनी बजार

तस्बिर स्रोत, Phanindra Dahal/BBC

तस्बिरको क्याप्शन, भारतसँगको सीमावर्ती बजारमा गएर किनमेल गर्ने चलन रहिआएको छ
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

वीरगन्ज निवासी सोनाली कायस्थ भारतबाट स्थलमार्गमार्फत् घरायसी सामान ल्याउँदा भन्सारमा गरिएको कडाइले खुसी छैनन्।

यसअघिको १०० रुपैयाँसम्मको सामानलाई दिइएको छुटलाई ५०० पुर्‍याइए पनि त्यो अपुग हुने उनी ठान्छिन्।

गत चैतमा नयाँ सरकार गठन भएलगत्तै भारतबाट मालसामान ल्याउँदा लगाइने भन्सारको नियम 'कडाइका साथ' लागु गरिएको विषयले सीमा वारपार दुवैतिर चर्को प्रतिक्रिया निम्तिएको थियो।

तर त्यो नयाँ नियम थिएन।

भन्सार विभागका अधिकारीहरूका अनुसार २०६० सालदेखि नै १०० रुपैयाँभन्दा धेरै मूल्यका वस्तुमा भन्सार लाग्थ्यो।

त्यसको कार्यान्वयनले चर्को प्रतिक्रिया उब्जाएपछि यो बजेटमार्फत् सरकारले उक्त सीमालाई ५०० रुपैयाँ पुर्‍याएको छ।

योबाहेक बजेटले सुनजस्ता वस्तुको भन्सार दर पनि परिवर्तन गरिदिएको छ।

स्थलमार्गको कडाइले निम्तिएको तरङ्ग

हवाई तथा स्थलमार्गबाट विदेशबाट फर्किएका नेपाली यात्रुहरूका निम्ति महसुलमा छुट तथा अन्य व्यवस्थाबारे राजपत्रमा हालै सूचना प्रकाशित गरिएको छ।

उक्त सूचनाअनुसार स्थलमार्गबाट सिमाना ओहोरदोहोर गर्ने व्यक्तिलाई "५०० रुपैयाँ मूल्यसम्मका निजी प्रयोगको वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरेर महसुल नलिइ छाड्न सक्ने छ।"

भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौला भन्सारको नियम पहिलादेखि नै लागु गर्दै आइएको बताउँछन्।

"सरकारको नीतिअनुसार हुने हो। व्यक्तिगत उपभोगका निम्ति ल्याइएका त्यति मूल्य सम्मका सामानहरूमा भन्सार नलाग्ने भन्ने हो। अघिल्लो सीमा साठी सालदेखि नै थियो। अहिले समयक्रममा उक्त सीमा केही बढाइएको हो," बर्तौलाले भने।

यो नियमले नेपालका व्यापारीहरू खुसी छन् तर स्थानीय समुदाय अझै असन्तुष्ट रहेका पाइन्छन्।

वीरगन्जकी बासिन्दा सोनाली कायस्थ ५०० को सीमा अपुग हुने भन्दै कम्तीमा ५,००० को सीमा भए घरायसी किनमेलमा सहज हुने बताउँछिन्।

जोगबनी बजार

तस्बिर स्रोत, Phanindra Dahal/BBC

"सीमा वारि अलि महँगो हुने हुनाले हामीले सीमा पारिबाट किनमेल गर्ने गरेका हौँ," उनले बीबीसीलाई बताइन्।

खासगरी भान्साका सामग्रीहरू चिनी, तेल, लसुनजस्ता वस्तु उतापट्टि कम मोलमा पाइने उनको अनुभव छ।

महिनामा दश-पन्ध्र हजार रुपैयाँका सामान ल्याउने गरेको तर अचेल सिमानामा एकदम कडिकडाउ भएको उनले सुनाइन्।

तर स्थानीय व्यापारीहरू भने भन्सारको उक्त कडाइलाई राम्रै मान्छन्।

"घरेलु सामानहरू ल्याउँदा धेरै कडाइ भएको हामीले देखेका छैनौँ। तथापि बदनियत राखेर सामान ओसारपसार गर्नेहरूलाई नियन्त्रण गर्न यस्तो नियमन आवश्यक छ," वीरगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव शिवजी प्रसाद साह कलवारले भने।

"नेपाली बजारहरूको प्रवर्धन गर्न यस्तो नियमन चाहिन्छ। यहाँका बजारहरू खासमा महँगा होइनन् तर मानसिकता नै उता सस्तो पाइन्छ भन्ने छ," उनले भने।

नेपाली यात्रुलाई अब सुनमा कति महसुल?

अर्थमन्त्री स्वर्णिम वाग्ले बजेटसम्बन्धी छलफलमा

तस्बिर स्रोत, RSS

बजेटले सुनको भन्सार दर दोबर बढाउँदै २० प्रतिशत पुर्‍याइदिएको छ।

तर ल्याउन पाउने सुनको परिमाणको हकमा भने पुरानै नियम यथावत् राखिएको छ।

भन्सार महसुल ऐन २०८१ अनुसार काँचो सुनको हकमा पचास ग्रामसम्म २० प्रतिशत भन्सार अनि त्योभन्दा बढ्ता अर्को पचास ग्रामसम्म थप तीन प्रतिशत शुल्क लाग्छ।

गहनाको हकमा चाहिँ पुरुषले पच्चीस ग्राम अनि महिलाले पचास ग्रामसम्मको गहना ल्याउँदा कुनै महसुल लाग्दैन। सो परिमाणभन्दा थप पचास ग्रामसम्म सुनका गहनामा प्रचलित भन्सार महसुलका अतिरिक्त थप तीन प्रतिशत महसुल लाग्ने छ।

तर सामान्य गहनाको आकारमात्र दिएर बनाइएका "बाला, बेरुवा औँठी, सिक्री"जस्ता वस्तुलाई गहनाको मान्यता नदिइने ऐनमा उल्लेख छ।

राजपत्रको सूचनाअनुसार विदेशबाट फर्किएका नेपाली यात्रुहरूले आफूले प्रयोग गरेको ट्याब्लेट वा डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडिओ क्यामरा र मोबाइल फोन एक एकथान ल्याउँदा महसुल तिर्नुपर्दैन। "तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याएमा सो बापत लाग्ने महसुल पूरै छुट हुने छ।"

कति छ भन्सारको लक्ष्य?

यो वर्षको बजेटको आकार २१ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ।

त्यसमा कुल १५ खर्ब ८० अर्ब रुपैयाँको राजस्व परिचालन गर्ने सरकारको 'महत्त्वाकाङ्क्षी' भनिएको लक्ष्य रहेको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताएका छन्।

त्योमध्ये भन्सारबाट मात्रै ६ खर्ब २८ अर्ब रुपैयाँ उठाउने सरकारको लक्ष्य छ।

अघिल्लो बजेटमा भन्सारबाट ५ खर्ब ८८ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा जेठको तेस्रो सातासम्म आइपुग्दा ७६ प्रतिशत जति उठिसकेको भन्सार विभागका अधिकारीहरूले बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।